पौष ३०, झापा । दमक नगरपालिका-२ हुम्से(दुम्से सामुदायिक जंगलबाट अवैध लागूऔषध गाँजा १२ किलो र चरेस ६ ग्राम २ सय ६० मिलिग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ईलाम माईसेबुङ गाउँपालिका-२ बस्ने ३२ वर्षीय दिपेन्द्र राई र सोही ठाउँ बस्ने १९ वर्षीय नुवसन मुखिया रहेका छन् । प्रहरी चौकी बागखोरबाट खटिएको प्रहरीलाई देख्नासाथ मे.३ प ५६६२ नम्बरको मोटरसाइकलमा सवार उनीहरु भागेपछि तत्काल नियन्त्रणमा लिएर जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला अदालत झापाबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसैगरी झापा, दमक नगरपालिका-३ बेलडाँगी शिबिर बस्ने २३ वर्षीय राजन तामाङलाई ९ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।