मंसिर २८, काठमाडौं । नेपाल सरकारले रुसमा उत्पादित कोभिड–१९ विरुद्धको खोप प्रयोग र सहयोग प्राप्त गर्ने सन्दर्भमा आवश्यक कागजात उपलब्ध गराउन पत्राचार गरेको छ ।
विश्वभर कोभिड–१९ को सङ्क्रमणको नयाँ भेरियन्ट फैलिरहेकै बेला सरकारले हालै रुसको खोप निर्माता सरकारी कम्पनीलाई खोपसम्बन्धी आवश्यक कागजातसहित विस्तृत जानकारी पठाउन अनुरोध गर्दै पत्राचार गरेको हो । रुसी प्रत्यक्ष लगानी कोषका कार्यकारी अधिकृत किरिल डिमिष्ट्रिएभलाई केही समयअघि नै त्यस सम्बन्धमा पत्रचार गरिएको सचिव डा रोशन पोखरेलले राससलाई जानकारी दिनुभयो ।
पत्रमा भनिएको छ, ”कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने सहायताका लागि धन्यवाद ज्ञापन गर्न चाहन्छौं, नेपाल सरकारले विभिन्न कम्पनीद्वारा उत्पादित खोप लिने नीति लिएको छ । यो खोप विश्व स्थास्थ्य सङ्गठनको मापदण्ड अनुरुप हुनुपर्नेछ ।”