मंसिर २१, सुनसरी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले समाप्त पारेर केपी शर्मा ओलीले नारायणी नदीमा तिलाञ्जली दिएको बताउनुभएको छ । सुनसरीको इटहरी उपमहानगरपालिकामा आज पार्टीको १ नम्बर प्रदेशस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले ओलीवादले एमाले समाप्त भइसकेकाले पार्टीभित्र रहेका नेता कार्यकर्ताको कन्तबिजोग हुने दिन छिट्टै आउने बताउनुभयो ।

अहिले एमालेभित्र रहेका नेता कार्यकर्तालाई समस्या भइरहेको भन्दै उहाँले एमाले नछोडे उनीहरुको समस्या झन् बढ्दै जाने बताउनुभयो ।एमालेको राष्ट्रिय भेलालाई कुम्भ मेलाको संज्ञा दिँदै अध्यक्ष नेपालले एमालेको हविगतका कारण पार्टीको झण्डा बोक्ने कार्यकर्तासमेत नहुने ठोकुवा गर्नुभयो । चितवनमा गैँडालाई थमाइएको पार्टीको झण्डा छिट्टै अब बाँदरले बोक्ने दिनसमेत आउने उहाँको भनाइ थियो ।
ओलीको एमालेभन्दा आफ्नो पार्टी देशभर सदृढ बन्दै गएको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईसहितका पार्टीका सयौँ नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।