• २०८३ भाद्र १५ गते सोमवार

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १६ मिनेट

भदौ १५, काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि हालसम्म ३१५ जना विदेशी नागरिक तथा पर्यटकको उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । सोमबार साँझसम्मको विवरणअनुसार ५ जना विदेशी नागरिक सम्पर्कमा आएका छन् भने ५८३ जना अझै सम्पर्कविहीन छन् । उद्धार गरिएकामध्ये सबैभन्दा धेरै भारतीय नागरिक रहेका छन् । जसअनुसार भारतका १८७ जना, चीनका १०८ जना, जर्मनी र माल्टाका ४-४ जना, इटाली, रुस, टर्की, अमेरिकाका २-२ जना तथा बुल्गेरिया, ओमान, पोर्चुगल र स्वीजरल्याण्डका एक एक जनाको उद्धार गरिएको बोर्डले जनाएको छ । त्यस्तै सम्पर्कमा आएका ५ जनामध्ये स्पेनका ३, अमेरिकाका १ र बेल्जियमका १ जना रहेका छन् । भदौ १० गते रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लामा भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि विदेशी नागरिक तथा पर्यटकको खोजी, उद्धार र सहयोगका लागि नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सुरक्षा निकाय तथा स्थानीय प्रशासनले समन्वयमा काम गरिरहेका छन् । यसैबीच, धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा नदीले सडक कटान गरी सडकको केही भाग बगाएपछि काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध रहेको बोर्डले जनाएको छ । पर्यटन बोर्डले बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखाबाहेक देशका अन्य क्षेत्रमा पर्यटकीय गतिविधि तथा सडक सञ्जाल सञ्चालनमा रहेको जनाएको छ । प्रभावित क्षेत्रमा यात्रा गर्नुअघि सडक तथा मौसमको पछिल्लो अवस्था बुझ्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न पर्यटकलाई आग्रह गरिएको छ । आपत्कालीन सहयोगका लागि नेपाल पर्यटन बोर्डको निःशुल्क नम्बर १२३४, सरकारी आपत्कालीन नम्बर ११४४ र पर्यटक प्रहरीको ९८५१२८९४४५ मा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ ।

२- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबान प्रभावित नागरिकको राहत र उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पहिलो चरणमा १ करोड रुपैयाँ सहयोग गरेको छ । संघका अध्यक्ष डा. हेमराज शर्मासहितको टोलीले सोमबार परराष्ट्र मन्त्रालयमा पुगेर परराष्ट्रमन्त्री शिशिर खनाललाई उक्त रकम हस्तान्तरण गरेको हो । एनआरएनएले बाढीपीडितका लागि कुल ५ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । संघले रसुवा र नुवाकोटमा पुगेर स्थानीय निकाय तथा सम्बन्धित संस्थासँग समन्वय गरी राहत सामग्री वितरणसमेत गरिसकेको जनाएको छ । परराष्ट्रमन्त्री खनालले राहत, पुनःस्थापना र पुनर्निर्माणका सबै चरणमा सरकार र एनआरएनएबीच सहकार्य हुने बताएका छन् । संघले विपद्पछिको पुनर्निर्माणका लागि विदेशमा रहेका नेपालीको सीप, अनुभव र विशेषज्ञता परिचालन गर्न तयार रहेको जनाएको छ ।

३- इङ्लिस क्लब लिभरपुलले फ्रान्सेली क्लब पीएसजीका युवा फरवार्ड ब्राडली बारकोलालाई औपचारिक रुपमा भित्र्याएको घोषणा गरेको छ । २३ वर्षीय बारकोलाले लिभरपुलसँग पाँच वर्षको सम्झौता गरेका छन् । फ्रान्स राष्ट्रिय टोलीका खेलाडी बारकोला लिभरपुलको मुख्य लक्ष्य रहेका थिए । लिभरपुलले करिब साढे ११ करोड युरोमा सहमति गरेको बताइएको छ । यसअघि पीएसजीले बारकोलाका लागि करिब १७ करोड युरो माग गरेको थियो । गत सिजन पीएसजीले फ्रान्सेली लिग र युरोपेली च्याम्पियन्स लिगको उपाधि जित्दा बारकोलाको महत्वपूर्ण भूमिका रहेको थियो । पेरिसमा उनको वर्तमान सम्झौता अझै दुई वर्ष बाँकी रहे पनि उनी लिभरपुल जाने इच्छा व्यक्त गर्दै आएका थिए । लिभरपुल पुगेमा बारकोला क्लबको इतिहासमा दोस्रो महँगा खेलाडी बनेका छन् । यसअघि लिभरपुलले गत बर्ष न्युक्यासल युनाइटेडबाट स्ट्राइकर अलेक्जान्डर इसाकलाई करिब साढे १४ करोड युरोमा अनुबन्ध गरेको थियो । यस वर्षको विश्वकपमा फ्रान्सका लागि आठ खेल खेल्दै बारकोलाले तीन गोल गरेका थिए । पीएसजीमा अग्रपंक्तिमा तीव्र प्रतिस्पर्धा रहेकाले उनी नियमित खेल समय पाउने उद्देश्यले नयाँ क्लबमा जान इच्छुक रहेका छन् । लिभरपुलले लामो समयका प्रमुख खेलाडी मोहम्मद सलाहले क्लब छाडेपछि अग्रपंक्तिको दुवै विन्ग्स बलियो बनाउने योजनालाई प्राथमिकतामा राखेको थियो । सलाहले यसै महिना निःशुल्क खेलाडीका रूपमा टर्कीको ट्राब्जोनस्पोरसँग आबद्ध भएका थिए । बारकोला लिभरपुल आएमा क्लबका अर्का फरवार्ड कोडी गाक्पोको भविष्यमा समेत असर पर्न सक्ने देखिएको छ । गाक्पोप्रति टोटनहम र म्यानचेस्टर सिटीले पनि चासो देखाइरहेका छन् ।

४- उद्योगमन्त्री गौरीकुमारी यादवले विपद् र चाडपर्वको मौका छोपेर मनलाग्दी मूल्य बढाउने, कालोबजारी गर्ने तथा उपभोक्ता ठगी गर्ने व्यवसायीमाथि कडा कारबाही गर्न निर्देशन दिएकी छन् । सोमबार मन्त्रालयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीसँगको छलफलमा मन्त्री यादवले ठूला गोदाममा समेत पुगेर प्रभावकारी बजार अनुगमन गर्न निर्देशन दिएकी हुन् । मन्त्रालयले बजार अनुगमनका लागि पहिलोपटक १६ वटा टोली गठन गरेको छ । ती टोलीले दैनिक बजार अनुगमन गरी प्रतिवेदन बुझाउनेछन् । दोषी जोसुकै भए पनि कुनै दबाब वा पहुँचका आधारमा उन्मुक्ति नदिन मन्त्री यादवले निर्देशन दिएकी छन् । विभागले ती टोलीमार्फत बजार मूल्य, वस्तुको उपलब्धता, गुणस्तर तथा उपभोक्ता अधिकारको अवस्थाबारे निरन्तर निगरानी गर्ने जनाएको छ ।

५- राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । भेटका क्रममा लामिछानेले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा भइरहेका उद्धार र राहतका गतिविधिबारे राष्ट्रपतिलाई जानकारी गराएका छन् । लामिछानेले आजै प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी सरकारले बाढी प्रभावित क्षेत्रमा गरिरहेको कामबारे जानकारी लिएका थिए । प्रधानमन्त्रीसँगको भेटपछि उनले सोही विषयमा राष्ट्रपतिलाई जानकारी गराएका हुन् ।

६- नेपाली कांग्रेसका सभापति गगन थापाले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । सोमबार बाढीले पुर्‍याएको क्षति र पीडितहरूको अवस्था प्रत्यक्ष रूपमा बुझ्न उनी सोमबार त्यहाँ पुगेका हुन् । सभापति थापाले नुवाकोटको देविघाट, गौरीबेसी, तारुकाघाटको दर्शन टारलगायत भैरुमकोट माबिमा बनाइएको होल्डिङ सेन्टरको समेत अनुगमन गरेका छन् । सो क्रममा उनले बाढीबाट प्रभावित भएकाहरुको गुनासो र समस्या समेत सुनेका थिए । यसअघि सभापति थापाले धादिङको गल्छीस्थित पुल पारी कोल्पुटार लगायतका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए । अनुगमनका क्रममा थापाले बाढीले पुर्‍याएको भौतिक क्षति, खेतीयोग्य जमिनको अवस्था र विस्थापित भएका परिवारहरूको समस्याबारे जानकारी लिएको काँग्रेस नेता जगदिश्वर नरसिंह केसी जानकारी दिए ।

७- पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको पाखापानीदेखि लमहीसम्म सडक क्षेत्रभित्रका रूख अवैध रूपमा कटानी गरी सरकारी सम्पत्तिमा हिनामिना गरेको आरोपमा ९ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ । अनुसन्धानका क्रममा उक्त क्षेत्रमा २ हजार ७२४ वटा रूख कटानी गरी ४० हजार ५५५ घनफिट काठ निकालिएको र त्यसबाट ८१ लाख ३७ हजार ९०० रुपैयाँ सरकारी नोक्सानी भएको पुष्टि भएको अख्तियारले जनाएको छ । आरोपपत्र दायर गरिएकामा सडक डिभिजन कार्यालय दाङका प्रमुख राम पुकार जयसवाल, तत्कालीन डिभिजन वन कार्यालय दाङका वन अधिकृत राजु क्षेत्री, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, वडा नम्बर १ का अध्यक्ष गेमे खड्का, वडा नम्बर ४ का अध्यक्ष वीरबहादुर चौधरी तथा स्थानीय अभिमान चौधरी, नन्दु गिरी, झविन्द्रप्रसाद भण्डारी र केशरबहादुर चौधरी रहेका छन् । अख्तियारले मुख्य प्रतिवादीहरूबाट बिगो असुल गरी भ्रष्टाचार निवारण ऐनबमोजिम कैद तथा जरिवानाको मागदाबी गरेको छ । अन्य प्रतिवादीलाई मुख्य कसुरदारको मतियारका रूपमा सजायको माग गरिएको छ ।

८- भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ । जिल्लाको कालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति पुनः सुचारु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यसैगरी गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत धुन्चे, भार्खु तथा गोसाइँकुण्ड क्षेत्रमा समेत विद्युत् सेवा सञ्चालनमा आएको छ । बाढीबाट विद्युत् संरचनामा क्षति पुगेपछि प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका बीच प्राधिकरणका प्राविधिक टोलीले मर्मत तथा पुनःस्थापनाको कामलाई तीव्रता दिएका थिए । प्राविधिक टोलीको निरन्तर प्रयासपछि प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएसँगै स्थानीय बासिन्दाको दैनिक जनजीवनसमेत क्रमशः सामान्य बन्दै गएको छ । प्राधिकरणले बाँकी प्रभावित क्षेत्रमा समेत विद्युत् सेवा यथाशीघ्र नियमित गर्न आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरी काम जारी राखेको जनाएको छ ।

९- रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण आफन्त फेला नपरी हराइरहेका नेपाली तथा विदेशी नागरिकका परिवारलाई नेपाल प्रहरीले डिएनए परीक्षणका लागि सम्पर्क गर्न आग्रह गरेको छ । प्रहरीका अनुसार बाढीपछि फेला परेका शव वा शरीरका अंगको डिएनए परीक्षणमार्फत पहिचान गर्न बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जना नजिकको रक्तसम्बन्धीको ताजा रगतको नमुना आवश्यक पर्नेछ । नमुना दिन चाहने परिवारले पासपोर्ट आकारका दुई प्रति फोटोसहित नेपाल प्रहरी अस्पताल महाराजगञ्जस्थित रोग परीक्षण प्रयोगशाला वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्ने प्रहरीले जनाएको छ । विदेशमा रहेका आफन्तका हकमा बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले सम्बन्धित मुलुकमै डिएनए परीक्षण गराई त्यसको विद्युतीय प्रतिलिपि तुलना प्रयोजनका लागि नेपाल प्रहरीको आधिकारिक इमेल nacodis@nepalpolice.gov.np मा पठाउन सक्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ । बाढीपछि पहिचान हुन नसकेका शव तथा शरीरका अंगको वैज्ञानिक विधिबाट पहिचान गर्न डिएनए परीक्षण गरिने भएकाले सम्बन्धित परिवारलाई आवश्यक प्रक्रिया पूरा गर्न प्रहरीले आग्रह गरेको छ ।

१०- नेप्सेमा आज पनि गिरावट आएको छ । आज सोमबार नेप्से ४३.८९ अंकले घटेर २५१३.४२ विन्दुमा पुगेर रोकिएको छ । आज ३४७ कम्पनिका ९३ लाख २२ हजार १८५ कित्ता शेयर ३ अर्ब ६४ करोड ८६ लाख ९ हजार ८७८ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी उपकर लघुवित्तको शेयर १३.१६ प्रतिशतले बढेको छ भने घोराही सिमेन्टको शेयर ७.५७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी मेलुङ खोला जलविद्युतको शेयर १४.९८ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी शिभम सिमेन्टको २६ करोड ३८ लाख बराबरको कारोबार भएको छ भने सर्वोत्तम पेन्ट्सको १५ करोड ९१ लाख बराबरको कारोबार भएको छ ।

११- प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको ​भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । ​भेटका क्रममा प्रभावित नागरिकहरूको उद्धार र राहतका साथै क्षति पुगेका संरचनाको पुन:स्थापनाका विषयमा छलफल भएको थियो । ​प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच र पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराएका थिए ।

१२- भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँदिल्लीस्थित नेपाली राजदूतावासको भ्रमण गरी नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । भ्रमणका क्रममा सिंहले भारत सरकार र जनताका तर्फबाट शोक पुस्तिकामा हस्ताक्षर गर्दै बाढीमा ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । उनले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै नेपालप्रति भारतको ऐक्यबद्धता दोहोर्‍याएका छन् । सिंहले विपत्तिको यस घडीमा भारत नेपालसँग काँधमा काँध मिलाएर उभिएको बताउँदै खोजी, उद्धार तथा पुनःस्थापनाका प्रयासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

१३- नेपाली कांग्रेसले छिटोभन्दा छिटो संसदको बैठक आह्वान गर्न सभामुखसँग छलफल गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले विपद्का बेला भइरहेका सरकारी तथा गैरसरकारी कामकारबाहीबारे आम जनतालाई स्पष्ट जानकारी दिन सदन तत्काल सञ्चालन हुनुपर्ने निर्णय गर्दै सभामुखसँग छलफल गर्ने निर्णय गरिएको प्रमुख सचेतक बासना थापाले जानकारी दिएकी छन् । उनले भनिन्-‘ अब सदन छिटोभन्दा छिटो चल्नुपर्छ, सदन चल्यो भने सांसदहरुमार्फत आम जनता कुरा संसदमा आउने हुनाले सदन खोल्नुपर्ने निर्णय गरेको छ । पार्टीका सांसदहरुलाई प्रभावित क्षेत्रमा गएर भिडभाड नगर्न निर्देशन दिएका छौं । आफ्ना जिल्लाका जनता सम्पर्कमा नरहेका संसादहरु प्रभावित क्षेत्रमा जादा कमसेकम साथमा लिएर जान निर्देशन दिएका छौं ।’ त्यस्तै बैठकले राहत कार्यमा सहयोग पुर्‍याउन पार्टीका सबै सांसदहरूले आफ्नो आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिइन् । प्रमुख सचेतक थापाले स्थानीय तहलाई राहत वितरणमा सहभागी गराउनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताएकी छन् । त्यस्तै कांग्रेस सचेतक निश्कल राईले वास्तविक पीडित र आवश्यक परेका मानिसहरूले राहत पाउन नसकेको र राहत सामग्री एकै ठाउँमा थुप्रिने तर वितरण प्रणाली प्रभावकारी हुन नसकेको बताए । उनले सरकारको एकद्वार प्रणालीमा स्थानीय तहसँग पर्याप्त समन्वय नभएको पाइएको बताएका छन् ।

१४- गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित चौँरीखर्कपारि ठूलो पहिरो खसेपछि केही समय बूढीगण्डकीको सहयक नदी स्यारखोला थुनिएको छ । सोमबार बिहान करिब १० बजे पहिरो खसेपछि पहिरो स्यार खोलाको छेउसम्म आइपुगेको स्थानीयले जानकारी दिएका छन् । पहिरो ठूलो भए पनि अहिले नदीमा ताल बनेको अवस्था नरहेको र नदी ठाडो भएकाले पानी साविककै रूपमा बगिरहेको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाले बूढीगण्डकी नदी साविककै गतिमा बगिरहेको जानकारी दिएको छ । पहिरोका कारण जोखिम हुन सक्ने भन्दै धादिङ–गोरखा हुँदै बग्ने बूढीगण्डकी नदी आसपासका बासिन्दालाई नदी किनारमा नजान र उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

१५- गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको भदौ १४ गते आइतबारसम्मको चलचित्र गौथली, मास्टर्नी, हली र लज्जावतीको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो । जसअनुसार गौथलीले बक्स अफिसमा शानदार कमाई जारी राखेको छ । साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म २५ करोड ६८ लाख ६२ हजार कमाई गरेको छ । त्यस्तै यस फिल्मले ९ लाख ३१ हजार ६२७ टिकट बिक्री गरेको छ । त्यस्तै भदौ ५ गतेदेखि प्रदर्शनमा आएको प्रियंका कार्कीको चलचित्र मास्टर्नीले ३९ लाख ५२ हजार कमाइ गरेको छ । यस चलचित्रले ११ हजार ९९६ टिकट बिक्री गरेको छ । त्यस्तै त्यस्तै साउन २२ गतेबाट प्रदर्शनमा आएको चलचित्र हलीले २३ लाख ११ हजार कमाई गरेको छ भने यस अवधिमा चलचित्र हलीले ८ हजार ४६३ टिकट विक्री गरेको छ । त्यसैगरी साउन २९ गतेदेखि रिलिज भएको चलचित्र लज्जावतीले ७ लाख ७५ हजार कमाई गरेको छ भने २७३५ टिकट बिक्रि भएको छ ।

१६- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र गरिएको खोजीमा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली फर्किएको छ । सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका भएपछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित खोजी गरिएको थियो । उद्धार टोलीले सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेर ड्रोनसमेत उडाई खोजी गरेको थियो । तर, खोजीका क्रममा सुरुङभित्र मानवीय उपस्थिति फेला नपरेको जनाइएको छ । सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएपछि नेपाली सेनाको टोलीले खोजी कार्य सम्पन्न गरी रसुवाको धुन्चे फर्किएको छ ।

१७- नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपमा विजयी शुरुवात गरेको छ । सोमबार सम्पन्न बहराइनविरुद्धको खेल ७ विकेटले जितेर नेपालले प्रतियोगितामा विजयी शुरुवात गरेको हो । बहराइनले नेपाललाई दिएको ८८ रनको लक्ष्य पछाएको नेपालले २१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि अर्जुन कुमालले अविजित ३६ रन बनाएका थिए भने रोहित पौडेलले अविजित १९ रन बनाए । त्यस्तै आसिफ सेखले १८, देव खनालले १० रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बहराइनले ३६.२ ओभरमा अल आउट हुदै ८७ रन मात्र बनाएको थियो । बहराइनका लागि फियाज अहमदले १५ रन बनाए भने मुहमद वासिमले १३ र अलि दाउदले १० रन बनाएका थिए । त्यसैगरी नेपालका बलर सन्दीप लामिछानेले ५ विकेट लिए भने ललित राजबंशीले ३ विकेट लिएका थिए । त्यस्तै करण केसीले २ दुई विकेट लिएका थिए । नेपालले अब अर्को खेल सेप्टेम्बर ३ मा मलेसियासँग, तेस्रो खेल सेप्टेम्बर ६ मा साउदी अरेबियासँग, चौथो खेल सेप्टेम्बर ८ मा हङकङ चाइनासँग खेल्ने छ । यस प्रतियोगिताको विजेताले २०२७ को एसिया कपमा स्थान बनाउनेछ ।

१८- भोटेकोशी बाढीपछि सम्पर्कविहीन हुनेको संख्या ४ हजार नाघेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण अहिलेसम्म ४ हजार २४७ जना सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना, रसुवाका ८६५, मकवानपुरका ६५ र नुवाकोटका १५५८ जना रहेका छन् । त्यस्तै, नेपाल सेनाका ४५, नेपाल प्रहरीका २७, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ४ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । यसैगरी, ५९२ जना विदेशी नागरिक र नेपाल भ्रमणमा आएका विदेशमा बस्ने १२७ जना नेपाली नागरिक समेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । खोजी तथा उद्धार कार्य जारी रहेकाले सम्पर्कविहीनको संख्या थपघट हुन सक्ने जनाइएको छ । त्यस्तै, प्राधिकरणले अहिलेसम्म ९०३ जनाको शव फेला परेको जानकारी दिएको छ । जसमा रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, चितवनमा २७२, गोरखामा ६२, तनहुँमा ३७, नवलपरासी पूर्वमा २०७ र नवलपरासी पश्चिममा १५१ जनाको शव फेला परेको छ । प्राधिकरणले अहिलेसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको जानकारी दिएको छ । जसमा नेपाली सेनाबाट २५२ विदेशी र ३ हजार ३४४ नेपालीको उद्धार गरेको छ भने हवाई उडान अहिलेसम्म ४११ पटक गरिएको छ । त्यस्तै, अहिलेसम्म बाढीबाट २६७ घाइते रहेकोमा १५६ जना अस्पतालबाट डिस्चार्ज भइसकेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले बाढीपछि राहत र उद्धारमा हाल २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । जसमा नेपाल प्रहरीका ७ हजार ८९४, नेपाली सेनाका ८ हजार ७२२ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना परिचालन गरिउएको छ ।

१९- स्पेनिस ला लिगामा रियल म्याड्रिडले मालागामाथि ४-० गोलको शानदार जित हात पारेको छ । गएराती सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले पहिलो हाफमै तीन गोल गर्दै खेल आफ्नो पक्षमा पारेको थियो । रियल मड्रिडका लागि जुड बेलिङ्घमले १९औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको २६औँ मिनेटमा रियलले मालागाका अल्फोन्सो हेरेरोको आत्मघाती गोलमा अग्रता दोब्बर बनाएको थियो । किलियन एमबाप्पेको प्रहार गोलरक्षक हेरेरोले रोके पनि रिबाउन्डमा बेलिङ्घमले हेडमार्फत बल गोलतर्फ पठाएका थिए । मालागाका खेलाडीले क्लियर गर्ने प्रयास गरे पनि बल हेरेरोमा लाग्दै आफ्नै पोस्टमा छिरेपछि उक्त गोल आत्मघातीका रूपमा दर्ज भएको थियो । त्यसको चार मिनेटपछि, अर्थात् ३०औँ मिनेटमा किलियन एमबाप्पेले रियलको अग्रता ३-० बनाएका थिए । एडवार्डो कामाभिङ्गाको पासपछि ट्रेन्ट अलेक्जान्डर आर्नोल्डले दिएको उत्कृष्ट क्रसमा एमबाप्पेले हावामा प्रहार गर्दै बललाई जाली चुमाएका थिए । दोस्रो हाफमा रियलले आक्रमणको गति केही घटाएको थियो । ५५औँ मिनेटमा बेलिङ्घमले गोल गर्ने अर्को राम्रो अवसर पाए पनि उनको प्रहार पोस्टमा लागेर फर्किएको थियो । खेलको निर्धारित समय सकिएपछि थपिएको पहिलो मिनेटमा रियलले चौथो गोल गरेको थियो । भिनिसियस जुनियरले दिएको पासलाई आर्डा गुलरले गोलमा परिणत गर्दै रियलको ४-० को जित सुनिश्चित गरेका थिए । यस जितसँगै रियल मड्रिडले ला लिगाको नयाँ सिजनमा लगातार तेस्रो जित दर्ता गर्दै ९ अंक जोडेको छ । टोली अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ भने नवप्रवेशी मालागा तीन खेलबाट एक अंकसहित १८औँ स्थानमा रहेको छ ।

२०- अमेरिकाले इरानको रणनीतिक महत्व बोकेको लाराक द्वीपमा रहेका दुईवटा प्रक्षेपण केन्द्रमा हवाई आक्रमण गरेको छ । अमेरिकी अधिकारीका अनुसार जुलाईको अन्त्यपछि इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात प्रत्यक्ष आक्रमण हो । अमेरिकी केन्द्रीय कमान्डका प्रवक्ता कमान्डर टिम हकिन्सका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका सैनिकले होर्मुज जलडमरूमध्यमा समुद्री सुरुङ राख्न र रकेट प्रहार गर्न तयारी गरिरहेको देखिएपछि आक्रमण गरिएको थियो । इरानी रिभोलुसनरी गार्डले आइतबार भएको अमेरिकी आक्रमणमा केही मानिसको मृत्यु तथा घाइते भएको जनाएको छ । उसले आक्रमणको जवाफ दिने चेतावनीसमेत दिएको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार त्यसपछि इरानले जोर्डनमा रहेका अमेरिकी सैन्य लक्ष्यमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । जोर्डनको सेनाले पनि आफ्नो हवाई प्रतिरक्षा प्रणालीले सोमबार बिहान आफ्नो आकाशमा प्रवेश गरेका आठवटा क्षेप्यास्त्र रोकेको जनाएको छ । इरानको रिभोलुसनरी गार्डसँग आबद्ध तस्निम समाचार संस्थाका अनुसार लाराक द्वीपमा भएको अमेरिकी आक्रमण ड्रोनमार्फत गरिएको थियो । आक्रमणमा दुई जनाको मृत्यु र दुई जना घाइते भएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ । रिभोलुसनरी गार्डका प्रवक्ता होसेन मोहेब्बीले अमेरिकी आक्रमणलाई ट्रम्प प्रशासनको ‘रणनीतिक र घातक गल्ती’ भन्दै यसबाट अमेरिकाले आर्थिक तथा सैन्य क्षेत्रमा परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । लाराक द्वीप महत्वपूर्ण बन्दरगाह बन्दर अब्बासको नजिकै रहेको छ । यो होर्मुज जलडमरूमध्यमै अवस्थित भएकाले यसको रणनीतिक महत्व अत्यन्त ठूलो मानिन्छ । पछिल्लो समय इरानले यस क्षेत्रबाट जाने तेल ट्यांकरलाई जाँचका लागि रोक्ने र जलडमरूमध्य पार गर्न प्रतिजहाज २० लाख अमेरिकी डलरसम्म शुल्क लिन बाध्य पारिरहेको विवरण सार्वजनिक भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता होर्मुज जलडमरूमध्यमा इरानले अवरोध गर्न राखेका सबै समुद्री सुरुङ विस्फोट गराइएको वा हटाइएको दाबी गरेका थिए । नयाँ सुरुङ राख्ने कुनै पनि जहाज वा डुंगालाई नष्ट गरिने चेतावनीसमेत उनले दिएका थिए । इरानका उपविदेशमन्त्री काजेम घारिबाबादीले भने ट्रम्पको दाबीलाई ‘प्रचारात्मक भ्रम’को संज्ञा दिएका छन् । यसैबीच, अमेरिकाले अगस्ट २४ मा इरानमाथि नयाँ आर्थिक प्रतिबन्ध घोषणा गरेपछि तेहरानमाथि आर्थिक दबाब थप बढेको छ । अमेरिकाले इरानलाई थप एक्ल्याउने र उसका सहयोगीमाथि समेत प्रतिबन्ध विस्तार गर्ने उद्देश्यले नयाँ कदम चालेको जनाएको छ । यसअघि फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानका विभिन्न क्षेत्रमा व्यापक सैन्य आक्रमण गरेका थिए । त्यसको जवाफमा इरानले इजरायल, अमेरिकी सैन्य आधार तथा खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी मुलुकलाई लक्षित गर्दै आक्रमण गरेको थियो। त्यसक्रममा होर्मुज जलडमरूमध्यमा समुद्री यातायातसमेत लगभग बन्द भएको थियो । युद्ध सुरु हुनुअघि विश्वमा प्रयोग हुने कुल तेल तथा तरलीकृत प्राकृतिक ग्यासमध्ये करिब २० प्रतिशत होर्मुज जलडमरूमध्य हुँदै ओसारपसार हुने गरेको थियो । पछिल्लो अमेरिकी आक्रमणसँगै अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस