• २०८३ साउन १५ गते शुक्रवार

सर्लाहीमा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न प्रशासनको अपिल

राजेन्द्र बिश्वकर्मा पढ्न लाग्ने समय : २ मिनेट

साउन १५, सर्लाही । पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएका अप्रत्याशित, असहज तथा संवेदनशील घटनाक्रमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लामा शान्ति सुरक्षा, अमनचयन र सामाजिक सद्भाव कायम राख्न सबैसँग आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेद्वारा जारी सार्वजनिक अपिलमा सर्लाहीको सामाजिक सद्भाव, भाइचारा र सांस्कृतिक ऐक्यबद्धतालाई कायम राख्दै जिल्लावासीलाई पूर्ण संयमता अपनाउन अनुरोध गरिएको छ ।

जातीय, धार्मिक वा सामाजिक सद्भाव खलल पुग्ने किसिमका भ्रामक, आपत्तिजनक सामग्री तथा भिडिओ सामाजिक सञ्जालमार्फत सम्प्रेषण वा सेयर नगर्न प्रशासनले आग्रह गरेको छ । त्यस्ता गतिविधिमा संलग्न भई सामाजिक सद्भाव बिगार्ने कार्य गरेमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

प्रशासनले कुनै पनि प्रकारको द्वन्द्व वा असमझदारी उत्पन्न भएमा संवाद, छलफल र वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न सबै पक्षसँग अपिल गरेको छ । जिल्लामा शान्ति सुरक्षा र कानुनी राज्यको पालना कायम गराउन स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई पूर्ण सहयोग गर्न पनि आग्रह गरिएको छ ।

कुनै शंकास्पद वा अवाञ्छित गतिविधिबारे जानकारी प्राप्त भएमा वा हुन सक्ने देखिएमा तत्काल सम्बन्धित निकायलाई सूचना दिन प्रशासनले अनुरोध गरेको छ । सार्वजनिक अपिलमा भनिएको छ, “हाम्रो साझा प्रयास, उच्च संयमता र परिपक्वताले नै आपसी भाइचारा, सांस्कृतिक ऐक्यबद्धता, दिगो शान्ति र सामाजिक सद्भाव कायम रहनेछ ।”

Sharing

प्रतिक्रिया दिनुहोस