जेठ १७, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन त्यागका लागि सङ्कल्प गर्न आग्रह गरेकी छिन् । आइतबार ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’ का सन्र्दशमा आज सन्देश जारी गर्दै उनले सुर्तीजन्य पदार्थको प्रयोगकर्ताहरूलाई आजैबाट यसलाई त्याग्न सङ्कल्पका लागि आग्रहसमेत गरेकी हुन् ।

मन्त्री मेहताले आधुनिक र फरक देखिने नाममा भेप र हुक्काजस्ता कुनै पनि हानिकारक पदार्थको प्रयोग र प्रलोभनमा नपर्न पनि आग्रह गरेकी छिन् ।
उनले सुर्तीजन्य पदार्थ वा भेपको लतबाट मुक्त हुन चाहनेका लागि मन्त्रालयले सहयोग र परामर्श उपलब्ध गराउनेसमेत बताएकी छिन् ।
मन्त्री मेहताले इ—सिगरेट, भेप हुक्कामा परम्परागत सुर्तीजन्य पदार्थमा जस्तै हानिकारक निकोटिन र विशाक्त तत्व हुने भएकाले कुनै भ्रममा नपर्न पनि अनुरोध गरेकी छिन् ।
उनले भनेकी छिन्,‘सुर्तीजन्य पदार्थको प्रयोग एक गम्भीर जनस्वास्थ्य चुनौती बनिरहेको छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा करिव २९ प्रतिशत मानिस सुर्तीजन्य पदार्थको सेवन गरिरहेका छन् । देशमा हरेक वर्ष ारभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने तथ्याङ्क अत्यन्त दुःख र सबैका लागि चिन्ताको विषय हो । त्यसैले यसको लत छोड्न आग्रह छ ।
मन्त्री मेहताले किशोर किशोरीलाई लक्षित गरी सुर्ती उद्योगले अपनाएका नयाँ रणनीतिहरू चुनौतीका रूपमा रहेका भन्दै उद्योगलाई मानव स्वास्थ्यमा गम्भीर बन्न आग्रह गरिन् । मन्त्री मेहताले सुर्तीजन्य पदार्थका विद्यमान चुनौतीको समाना गर्न सरकारले नियन्त्रण र नियमनसम्बन्धी कानुन व्यवस्थापनको प्रभावकारी कार्यान्वयन विशेष जोड दिएको जानकारी दिइन् ।