• २०८३ कार्तिक १४ गते शुक्रवार

दियोपोष्ट अनलाइनको कार्यालयमा प्रहरीको छापा: मोबाइल खोस्ने प्रयास

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक १३, काठमाडौं । अनलाइन सञ्चारमाध्यम ‘दियोपोष्ट’ को केन्द्रीय कार्यालयमा प्रहरी टोलीले छापा मारेको छ। शुक्रबार साँझ जिल्ला प्रहरी परिसरबाट खटिएको टोली कार्यालयमा प्रवेश गरी प्रधानसम्पादक, सम्पादक तथा समाचार संयोजकको खोजी गर्दै दबाब दिएको हो।

प्रहरी निरीक्षक (इन्स्पेक्टर) कमलजंग शाहीको नेतृत्वमा गएको चार जनाको प्रहरी टोली शुक्रबार साँझ पौने ६ बजे दियोपोष्टको कार्यालयमा पुगेको थियो। कार्यालय पुग्नेबित्तिकै प्रहरी टोलीले प्रधानसम्पादक सुदिप विश्वकर्माको खोजी गरेको थियो। त्यसपछि सम्पादक रीता बुढाथोकी र समाचार संयोजक मदन ढुंगाना कहाँ हुनुहुन्छ भन्दै बारम्बार सोधपुछ गर्नुका साथै उनीहरूलाई तत्काल फोन गरेर कार्यालयमा बोलाउन ताकेता गरेको थियो।

सोही क्रममा समाचार संयोजक मदन ढुंगानासँग संवाद गराउन पत्रकार राजेन्द्र भट्टले आफ्नो मोबाइल फोन इन्स्पेक्टर शाहीलाई दिएका थिए। फोनमा कुराकानी सकिए लगत्तै प्रहरीले पत्रकार भट्टको मोबाइल फोन जफत गर्ने प्रयास गर्दै नियन्त्रणमा लिएर आफ्नो खल्तीमा हालेको थियो। तर, फोनको क्यामरा अन रहेको र भिडियो रेकर्ड भइरहेको थाहा पाएपछि प्रहरी अन्ततः फोन फिर्ता गर्न बाध्य भएको थियो।

फोन संवादका क्रममा समाचार संयोजक ढुंगानाले आफू कार्यालयबाट घर पुगिसकेको र आवश्यक परे परिसरमै उपस्थित हुने जानकारी प्रहरीलाई गराएका थिए।

सञ्चारगृहभित्रै प्रवेश गरी पत्रकारको सञ्चार साधन जफत गर्ने प्रयास गरिनु र बिनाकुनै स्पष्ट कानुनी आधार मिडिया नेतृत्वलाई ताकेता गरी दबाब दिन खोजिनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै यस घटनाप्रति विभिन्न वृत्तमा चासो र चिन्ता व्यक्त गरिएको छ। दियाे पाेष्टका अनुसार प्रहरी टोली कार्यालयभित्र करिब १ घण्टा १२ मिनेटसम्म बसेर फर्किएको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस