• २०८३ कार्तिक १४ गते शुक्रवार

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १३, रौतहट। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ। दुर्घटनामा प्रहरी जवान सुभाष चौधरीको ज्यान गएको छ भने मोटरसाइकलमा सवार उनकी श्रीमती प्रहरी जवान निशा खड्का गम्भीर घाइते भएकी छन्। फतुवा विजयपुर नगरपालिका–११ स्थित राङ्गी टोलमा बिहीबार साँझ करिब ६ः३० बजे दुधिअवा–बालचनपुर सडकखण्डमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार दुधिअवाबाट बालचनपुरतर्फ गइरहेको ना २ त ४७८६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक गुजरा नगरपालिका–४ पोखरभिन्डा निवासी ३५ वर्षीय सुभाष चौधरी र पछाडि सवार उनकी ३० वर्षीया श्रीमती निशा खड्का घाइते भएका थिए।

दुवैलाई तत्काल एम्बुलेन्समार्फत वीरगन्जस्थित बयोधा अस्पताल पुर्‍याइएको थियो। तर, चिकित्सकको प्रयास सफल हुन सकेन। उपचारकै क्रममा बिहीबार राति ८ः१० बजे चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए। उनकी श्रीमती खड्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
मृतक चौधरी बारा जिल्लाको इलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत प्रहरी जवान रहेको खुलेको छ।

घटनाले प्रहरी संगठनमा समेत दुःखद अवस्था सिर्जना गरेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी वसन्त गौतमले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस