कात्तिक १३, रौतहट। तिहार तथा छठ पर्व नजिकिँदै गर्दा सीमावर्ती क्षेत्रमा भन्सार छली गरी नेपाल भित्र्याइएका सामानविरुद्ध सुरक्षा निकायले निगरानी कडा पारेका छन्। यसैक्रममा रौतहट र सर्लाहीबाट प्रहरीले २८ लाख रुपैयाँभन्दा बढी मूल्यका कपडा तथा पटका बरामद गरेको छ। रौतहटको गौर नगरपालिका–१ मा बिहीबार राति सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले मनोज साह (छोट्का) को घरमा छापा मार्दा ११ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न प्रकारका कपडा फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार विशेष सूचनाका आधारमा राति करिब ११ बजे सशस्त्र प्रहरी बल गौर गुल्मका डीएसपी दुर्गाप्रसाद भट्ट र भन्सार सुरक्षा गार्डका वरिष्ठ प्रहरी नायव निरीक्षकको संयुक्त कमाण्डमा खटिएको टोलीले घर खानतलासी गरेको थियो। बरामद कपडा भन्सार प्रक्रिया पूरा नगरी भित्र्याइएको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यस्तै, सर्लाहीको मलंगवा नगरपालिका–१ भेडेहियास्थित नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब १७ लाख ३५ हजार रुपैयाँ बराबरका पटका तथा कपडा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म मलंगवा, गण अगर्बा र बीओपी खुटौनाबाट खटिएको ६२ जनाको संयुक्त टोलीले राति ९ बजे देवनारायण यादव र योगेन्द्र यादवको घर तथा गोठमा खानतलासी गर्दा लुकाइराखिएको अवस्थामा करिब १५ लाख रुपैयाँका पटका र २ लाख ३५ हजार रुपैयाँका कपडा फेला पारेको हो।
सशस्त्र प्रहरीका एसपी अमरबहादुर खत्रीका अनुसार बरामद कपडा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मलंगवा भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको छ।
चाडपर्वको अवसरमा पटका तथा भन्सार छलीका सामानको अवैध कारोबार बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा निगरानी र गस्तीलाई तीव्र पारिएको सुरक्षा निकायले जनाएको छ।