• २०८३ असोज १४ गते बुधवार

म्याड्रिडमा वृद्धा निष्कासनपछि चर्कियो विरोध, स्पेनद्वारा निष्कासनमा प्रतिबन्धको घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज १४, काठमाडौं । राजधानी म्याड्रिडमा ८७ वर्षीया वृद्धालाई घरबाट निकालिएपछि चर्किएको आवास संकटविरुद्धको विरोध प्रदर्शनका बीच स्पेनको गठबन्धन सरकारले नयाँ आवास उपायहरूलाई स्वीकृति दिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सन् २०३० सम्म घरधनीले भाडावाललाई जबर्जस्ती निकाल्न नपाउने प्रावधानसहितका प्रस्तावहरूबारे छलफल गरी स्वीकृति प्रदान गरेको हो।

नयाँ उपायहरूको घोषणा गर्दै स्वास्थ्य मन्त्री मोनिका गार्सियाले यस कदमबाट ५० लाखभन्दा बढी नागरिकले राहत पाउने दाबी गरिन्। तर, विपक्षी नेतृ मिरियम नोगुएरासले भने यो सम्झौताले साना घरधनीहरूलाई बेवास्ता गरेको भन्दै आलोचना गरेकी छन्।

दुईवटा अध्यादेश का रूपमा ल्याइएका यी प्रस्तावहरू तत्काल लागू हुनेछन्। यद्यपि, तिनलाई एक महिनाभित्र संसद् (कंग्रेस) बाट अनुमोदन गराउनुपर्ने संवैधानिक व्यवस्था छ। सरकारले भने यसै शुक्रबार संसद्मा मतदान गराउने तयारी गरेको छ।

प्रधानमन्त्री पेड्रो सान्चेज नेतृत्वको वामपन्थी गठबन्धन सरकारसँग संसद्मा स्पष्ट बहुमत छैन। यसअघि गत अप्रिलमा घर भाडा सम्झौताको म्याद थप्ने सम्बन्धी अध्यादेशलाई दक्षिणपन्थी दलहरूले रोकिदिएका थिए।

‘सुमार’ गठबन्धनकी नेता गार्सियाका अनुसार मंगलबार पारित अन्य उपायहरूमा सन् २०२८ सम्म भाडा सम्झौता निरन्तर रहने, अल्पकालीन तथा कोठा भाडा प्रणालीमा कडा नियमन लागू गर्ने र ठूला लगानीकर्ता कम्पनीहरूलाई आवास खरिदमा रोक लगाउने विषय समावेश छन्।

“आवास क्षेत्रमा हुने सट्टेबाजी नियन्त्रण गर्दै आम नागरिक र नाफाखोर लगानीकर्ता समूह (भल्चर फन्ड) बीच सन्तुलन कायम गर्ने समय आएको छ,” मन्त्री गार्सियाले भनिन्। विरोध प्रदर्शनतर्फ लक्षित गर्दै उनले थपिन्, “जनपरिचालन र नागरिक दबाबका लागि धन्यवाद, तपाईंहरूको संघर्षबिना यो निर्णय सम्भव थिएन।”

अर्कोतर्फ, मध्य-दक्षिणपन्थी क्याटालान राष्ट्रवादी ‘जुन्ट्स’ पार्टीकी प्रवक्ता नोगुएरासले ठूला कोष वा ‘भल्चर फन्ड’को नियन्त्रणमा रहेका घरजग्गाबाट हुने निष्कासन रोक्नु जायज भए पनि साना लगानीकर्तालाई सोही श्रेणीमा राख्नु गलत भएको बताइन्। “आफ्नो जीवनभरको बचत अपार्टमेन्ट वा अन्य सम्पत्तिमा लगानी गरेका व्यक्तिहरूलाई ठूला लगानीकर्तासँगै एउटै डालोमा हाल्नु गम्भीर गल्ती हो,” उनले सार्वजनिक प्रसारण संस्था आरटीभीईसँग भनिन्। सत्तारुढ सोसलिस्ट पार्टी र ‘सुमार’ गठबन्धनको अल्पमतको सरकारसँग संसद्मा सहमति जुटाउन ३० दिनको समय छ।

गत साता ८७ वर्षीया मारिकार्मेन अबास्कललाई घरबाट निकालिएपछि उत्पन्न परिस्थितिलाई सम्बोधन गर्दै आवास मन्त्री इसाबेल रोड्रिगेजले राजनीतिक दलहरूलाई अध्यादेशको पक्षमा उभिन आग्रह गरेकी छन्। “संसद्ले मारिकार्मेनलाई उनको दुःख खेर नगएको र संघर्षले धेरै मानिसलाई राहत दिलाएको सन्देश दिने अवसर पाएको छ,” उनले भनिन्।

यद्यपि, म्याड्रिड भाडावाल संघकी प्रवक्ता भलेरिया राकुले भने यो संघर्ष भर्खर सुरु भएको बताउँदै आगामी साता स्पेनभर थप विरोध प्रदर्शन गर्ने चेतावनी दिएकी छन्। सोही संस्थाकी अर्की प्रवक्ता एलिसिया डेल रियोले अध्यादेशका साना-साना विवरणहरूको अध्ययन भइरहेको र यो निर्णय वास्तवमै सर्वसाधारणको हितमा छ कि छैन भन्ने सुनिश्चित गरिने बताइन्।

Sharing

प्रतिक्रिया दिनुहोस