• २०८३ भाद्र १४ गते आइतवार

रास्वपा सभापति लामिछाने र बागमतीका मुख्यमन्त्री थापाबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाबीच पार्टी कार्यालय बनस्थलीमा भेटवार्ता भएको छ । भेटमा मुख्यमन्त्री थापाले तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दा प्रदेश सरकारले आफ्नै ढंगले काम गर्नुपरेको बताएका छन् ।

प्रधानमन्त्री प्रभावित क्षेत्रमा पुग्दा समेत प्रदेश सरकारले जानकारी नपाएको भन्दै उनले दुःख व्यक्त गरेका थिए । उनले तीन तहका सरकारले कुन-कुन काम गर्ने भन्ने स्पष्ट विभाजन आवश्यक रहेको बताउदै प्रभावित क्षेत्रमा पठाइएको राहत बट्टार क्षेत्रमा जम्मा भए पनि त्यसभन्दा माथि पुर्‍याउन कठिनाइ भएको उनको भनाइ थियो ।

जलवायु परिवर्तनको असर दीर्घकालीन हुने भएकाले नदी तथा खोलाको किनारमा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तीनै तहका सरकारले तत्काल समन्वय गरेर काम गर्नुपर्ने अवस्था देखिएको मुख्यमन्त्री थापाले बताए ।

सभापति लामिछानेले विपद्को समयमा स्थानीय र सङ्घीय सरकारलाई जोड्ने भूमिका प्रदेश सरकारले प्रभावकारी रूपमा खेल्नुपर्ने बताउदै विपद्को समयमा सबै तहका सरकारले समन्वय गरेर काम गर्नुपर्ने विषयमा आफूहरू सचेत रहेको उल्लेख गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

लामिछानेले सङ्घीय सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस