• २०८३ भाद्र १४ गते आइतवार

बाढीको वितण्डापछि राहत र उद्धारमा मल्हम : पीडितलाई सहारा दिँदै ‘करुणा केयर’

खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

भदौ १४, काठमाडौं ।   तिब्बत क्षेत्रबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङका तटीय बस्तीमा ठूलो जनधनको क्षति भएपछि उद्धार गरिएका पीडितको अस्थायी व्यवस्थापनमा सामाजिक संस्था ‘करुणा केयर’ सक्रिय छ । संस्थाले नुवाकोटमा दुईवटा होल्डिङ सेन्टर सञ्चालन गरी करिब २९५ जना बाढीपीडितलाई आश्रय, खाना तथा आधारभूत राहतको व्यवस्था मिलाइरहेको छ ।

विशेषगरी रसुवा, नुवाकोट र धादिङमा बाढीको प्रभाव भयावह बनेको छ । बाढीले पक्की तथा झोलुङ्गे पुलदेखि नदी किनारका कैयौँ बस्तीसमेत बगाउँदा ठूलो संख्यामा नागरिक विस्थापित भएका छन् ।

जलमग्न तथा जोखिमयुक्त क्षेत्रमा फसेका नागरिकको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली बुधबारदेखि नै प्रभावित क्षेत्रमा परिचालित छन् ।

उद्धार गरिएका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी अस्थायी रूपमा राख्ने तथा उनीहरूको आधारभूत आवश्यकता पूरा गर्ने कामसमेत तीव्र पारिएको छ ।

यही विपद्को घडीमा सरकारी निकायसँगै नागरिक समाज र विभिन्न सामाजिक संघसंस्थाहरू पनि राहत तथा उद्धारमा सक्रिय भएका छन् ।

बाढीपीडितको घाउमा मलम लगाउने उद्देश्यले आफ्नो क्षमताअनुसार सहयोग गर्ने क्रम बढिरहेका बेला महिला तथा बालबालिकाको क्षेत्रमा लामो समयदेखि क्रियाशील गैरसरकारी संस्था ‘करुणा केयर’ नुवाकोटमा प्रत्यक्ष रूपमा खटिएको छ ।

संस्थाले नुवाकोटमा दुईवटा होल्डिङ सेन्टर स्थापना गरी बाढीबाट उद्धार गरिएका नागरिकलाई अस्थायी आवास तथा आधारभूत सेवाको व्यवस्था मिलाइरहेको छ ।

करुणा केयरका प्रतिनिधि धनराज घिमिरेका अनुसार पहिलो सेन्टरमा करिब १७५ जना र दोस्रो सेन्टरमा करिब १२० जना गरी झन्डै २९५ जना बाढीपीडित आश्रित छन् । आश्रितमध्ये करिब ६० प्रतिशत बालबालिका र ४० प्रतिशत वयस्क रहेका छन् ।

बाढीबाट उद्धार गरिएका उनीहरूको अवस्था भने निकै कारुणिक छ । कतिपयले आफन्त गुमाएका छन्, कतिपय घरबारविहीन भएका छन् भने कतिपयको बाढीले भएको सम्पूर्ण सम्पत्ति नै बगाएको छ ।

अचानक आएको विपत्तिका कारण उनीहरू शारीरिक कठिनाइसँगै गहिरो मानसिक तनाव, त्रास र भविष्यप्रतिको अन्योलमा छन् ।

विशेषगरी बालबालिका, बिरामी तथा वृद्धवृद्धाको अवस्था थप संवेदनशील देखिएको छ । उनीहरूको आँखामा देखिने त्रास र निराशाले भौतिक राहतसँगै मनोसामाजिक सहयोगको आवश्यकता पनि उत्तिकै रहेको देखाउँछ ।

विपत्तिपछि सुरक्षित स्थानमा पुगे पनि घर, परिवार र आफ्नो दैनिकी गुमाएका पीडितका लागि सामान्य जीवनमा फर्किन अझै लामो समय लाग्ने अवस्था छ ।

यस्तो कठिन परिस्थितिमा करुणा केयरले होल्डिङ सेन्टरमा आश्रित पीडितको तत्कालीन आवश्यकता पूरा गर्न खाद्यान्न तथा तरकारीको नियमित व्यवस्थापन गरिरहेको छ ।

स्थानीय बजारमै खाद्यान्नको अभाव भइरहेका बेला पनि सेन्टरमा रहेका नागरिकलाई खाना खुवाउने तथा आवश्यक आधारभूत सामग्री जुटाउने कामलाई संस्थाले निरन्तरता दिएको छ ।

यद्यपि, बाढीपीडितका दीर्घकालीन तथा थप राहतका आवश्यकताहरू सरकारले प्राथमिकताका साथ सम्बोधन गरिरहेको छ ।

उद्धारपछि सुरक्षित स्थानमा स्थानान्तरण, अस्थायी आवास, खाद्यान्न तथा अन्य आवश्यक सामग्रीको व्यवस्थापनमा राज्यका सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज र सामाजिक संस्थाबीचको सहकार्यले पीडितलाई तत्काल राहत पुगेको छ ।

बाढीले घर, परिवार र जीवनको आधार नै तहसनहस बनाएका पीडितका लागि यतिबेला राहतको एउटा प्याकेट वा सुरक्षित छानाभन्दा पनि ठूलो कुरा ‘हामी एक्लै छैनौँ’ भन्ने अनुभूति हो ।

नुवाकोटमा सञ्चालन भइरहेका होल्डिङ सेन्टरहरू र त्यहाँ भइरहेको मानवीय सहयोगले विपत्तिमा परेका नागरिकलाई यही भरोसा दिलाइरहेको छ ।

सेन्टरमा ल्याइएका पीडितहरूको अवस्था निकै कारुणिक, मर्माहत र संवेदनशील छ । आफ्ना प्रियजन गुमाएका, घरबार विहीन बनेका र सर्वस्व बाढीले लगेपछि रित्तिएका नागरिकहरू गहिरो मानसिक तनाव (ट्रमा), त्रास र भविष्यको अन्योलमा छन् ।

बालबालिका, बिरामी तथा वृद्धवृद्धाहरूको आँखामा छाएको निराशा र पीडालाई सम्बोधन गर्न भौतिक राहतसँगै मनोसामाजिक आडभरोसाको समेत उत्तिकै खाँचो देखिएको छ ।

स्थानीय बजारमा खाद्यान्नको अभाव भइरहेको विषम परिस्थितिमा पनि करुणा केयरले सेन्टरमा रहेका पीडितहरूका लागि तरकारी तथा खानाको नियमित व्यवस्थापन मिलाइरहेको छ ।

प्राकृतिक विपत्तिले सिर्जना गरेको कठिन घडीमा राज्यका सुरक्षा अंगसँगै नागरिक समाज र सामाजिक संस्थाहरूले देखाएको सक्रियता तथा मानवीय संवेदनशीलता पीडितको उद्धार, राहत र पुनस्र्थापनाका लागि महत्वपूर्ण बनेको छ ।

तत्कालीन राहतसँगै विस्थापित परिवारको दीर्घकालीन पुनस्र्थापना र मानसिक स्वास्थ्यलाई समेत प्राथमिकतामा राख्दै यस्ता प्रयासलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस