भदौ १३, चितवन । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी चितवनमा हालसम्म संकलन गरिएका २२९ शव जमिनमुनि व्यवस्थापन गर्न शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले भेटिएका शव तथा नदी किनारबाट संकलन गरिएका शवका अवशेष सडने गल्ने अवस्थामा पुगेपछि स्वास्थ्य विशेषज्ञहरुको सुझावमा जमिनमुनि व्यवस्थापन गर्न लागेको हो ।

जिल्ला सुरक्षा समिति चितवनको निर्णयअनुसार पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३ बमोजिम सबै शव भरतपुर महानगरपालिका–१ देवघाटस्थित जंगलमा शव व्यवस्थापन गर्न लागिएको छ । शव व्यवस्थापनअघि सबैको डिएनए नमुना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिने प्रशासनले जनाएको छ ।
प्रशासनले शोकको यस कठिन परिस्थितिमा निर्णयलाई सकारात्मक रूपमा लिएर सहयोग, समन्वय र सूचना सम्प्रेषण गरिदिन सम्बन्धित सबैलाई आग्रह गरेको छ । बाध्यात्मक परिस्थितिका कारण पीडित परिवारलाई पर्न जाने असुविधाप्रति प्रशासनले क्षमासमेत मागेको छ ।