असार १५, काठमाडौं । फिफा विश्वकप फुटबलको समूह चरणबाट दक्षिण कोरिया बाहिरिएपछि टोलीका मुख्य प्रशिक्षक होङ म्युङ बोले पदबाट राजीनामा दिएका छन् । दक्षिण अफ्रिकासँग १-० ले पराजित हुँदै नकआउट चरणमा पुग्न असफल भएपछि उनले जिम्मेवारी त्याग्ने घोषणा गरेका हुन् । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले टोलीको निराशाजनक प्रदर्शन र होङको नियुक्ति प्रक्रियाको सरकारी छानबिन गर्न संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालयलाई निर्देशन दिएका छन् ।

राष्ट्रपति लीले राष्ट्रिय टोलीको अप्रत्याशित असफलताले आफूलाई स्तब्ध बनाएको बताएका छन् । उनले योग्यताको सट्टा पक्षपात र व्यक्तिगत निकटतालाई प्राथमिकता दिएर नेतृत्व चयन गरिँदा यस्तो परिणाम आउनु स्वाभाविक भएको टिप्पणी गरेका छन् ।
दक्षिण कोरियाले समूह चरणको पहिलो खेलमा चेक गणतन्त्रलाई २-१ ले हराएको थियो । त्यसपछि मेक्सिको र दक्षिण अफ्रिकासँग समान १-० को नतिजामा पराजित भयो । तीन खेलबाट तीन अंक मात्र जोडेको दक्षिण कोरिया अन्तिम ३२ मा पुग्न असफल रह्यो ।
दक्षिण कोरियामाथिको जितसँगै दक्षिण अफ्रिकाले भने आफ्नो विश्वकप इतिहासमै पहिलो पटक अन्तिम ३२ मा स्थान बनायो ।
मुख्य प्रशिक्षक होङको निर्णय पनि विवादमा परेको छ । उनले टोलीका स्टार खेलाडी सन ह्युङ मिनलाई दक्षिण अफ्रिकाविरुद्धको खेलमा सुरुआती टोलीमा नराख्ने निर्णय गरेका थिए । विपक्षी खेलाडी थाकेपछि उनलाई मैदानमा उतार्ने योजना रहेको उनले बताएका थिए । तर दोस्रो हाफ सुरु हुनासाथ सनलाई मैदानमा उतारिएको थियो । खेलपछि होङले अवसर पाए यस्तो निर्णय पुनः नदोहोर्याउने स्वीकार गर्दै समर्थकसँग माफी मागेका थिए ।
राजीनामाको घोषणा गर्दै उनले दक्षिण कोरियाली जनताप्रति गहिरो क्षमा मागेका छन् । राष्ट्रिय टोलीको जिम्मेवारी स्वीकार गर्नु सजिलो निर्णय नभए पनि अन्तिमसम्म इमानदारीपूर्वक आफ्नो कर्तव्य पूरा गर्ने प्रयास गरेको उनले बताएका छन् ।
दक्षिण कोरियामा टोलीको असफलताप्रति व्यापक असन्तुष्टि देखिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार दक्षिण अफ्रिकासँगको हारपछि आयोजित पत्रकार सम्मेलनको प्रसारणका क्रममा राष्ट्रिय प्रसारण संस्थाले होङको अनुहारसमेत धमिलो बनाएको थियो ।
अर्कोतर्फ राष्ट्रपति लीले राष्ट्रिय टोलीमा करदाताको ठूलो रकम खर्च हुने भएकाले यस असफलताको कारण गम्भीर रूपमा अध्ययन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएका छन् । खेल प्रशासनमा आवश्यक सुधार पनि तत्काल अघि बढाइने उनले बताएका छन् ।
एसियाकै उत्कृष्ट डिफेन्डरमध्ये एक मानिने होङले सन् १९९० देखि २००२ सम्म दक्षिण कोरियाका लागि चार विश्वकप खेलेका थिए । उनी पहिलो पटक सन् २०१४ मा राष्ट्रिय टोलीको प्रशिक्षक बनेका थिए । त्यस वर्षको विश्वकपमा टोलीले कुनै पनि खेल जित्न नसकेपछि उनले राजीनामा दिएका थिए । सन् २०२४ मा उनी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । तर उनको नियुक्ति प्रक्रिया पनि विवादमा परेको थियो । खेलकुद मन्त्रालयले दक्षिण कोरियाली फुटबल सङ्घले आफ्नै नियम उल्लङ्घन गर्दै उचित अन्तर्वार्ता प्रक्रिया पूरा नगरी उनलाई नियुक्त गरेको आरोप लगाएको थियो ।