• २०८३ असार १५ गते सोमवार

कृषिमा आधुनिकीकरण र व्यावसायीकरणमार्फत मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्छ- राष्ट्रपति पौडेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १५, काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले २३औँ राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै धान उत्पादन वृद्धि, कृषि आधुनिकीकरण र व्यावसायीकरणमार्फत मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनु आजको प्रमुख आवश्यकता भएको बताएका छन् ।

उनले यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित २३औं राष्ट्रिय धान दिवस मनाइरहेको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण धान खेतीमा बढ्दै गएको नकारात्मक प्रभाव न्यूनीकरण गर्न सरकार, कृषक र सरोकारवाला सबै पक्ष सचेत र जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानले प्रत्येक नागरिकको खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै कृषकलाई आवश्यक कृषि सामग्री, कृषि उपजको उचित मूल्य र बजार पहुँच उपलब्ध गराउनु राज्यको दायित्व भएको उल्लेख गरेका छन् ।

नेपाल कृषिप्रधान देश भएकाले अधिकांश नागरिकको जीवनयापन कृषिमै आधारित रहेको र धान नेपालीको प्रमुख खाद्यान्न मात्र नभई आर्थिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक जीवनसँग समेत गहिरो रूपमा जोडिएको उनले बताएका छन् ।

असार १५ को सांस्कृतिक महत्त्व उल्लेख गर्दै राष्ट्रपति पौडेलले हिलोमा धान रोप्ने परम्परा तथा दही–चिउरा खाने संस्कृतिले यस दिनलाई विशेष बनाएको बताएका छन् ।

उनले नेपालको धान खेती अझै पनि वर्षामै निर्भर रहेको उल्लेख गर्दै उत्पादन वृद्धि गर्न सिँचाइ सुविधा विस्तारमा राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

राष्ट्रपति पौडेलले खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिमा आधुनिकीकरण गर्नुपर्ने, विदेश पलायन भएका जनशक्तिलाई स्वदेशमै रोजगारी सिर्जना गरी कृषिलाई आकर्षक र सम्मानित पेसाका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्। यसबाट धान तथा चामलको आयात घटाउन र उत्पादनमा आत्मनिर्भर बन्न सकिने उनको विश्वास छ ।

उनले जीवन धान्ने माध्यमका रूपमा मात्र नभई व्यावसायिक रूपमा कृषि अपनाउन सबैलाई आह्वान गर्दै त्यसका लागि सम्बन्धित निकायले आवश्यक सहयोग र नीति निर्माणमा ध्यान दिनुपर्ने बताएका छन्।

राष्ट्रपति पौडेलले २३औँ राष्ट्रिय धान दिवसले कृषि श्रमको सम्मान गर्ने संस्कृतिलाई थप बलियो बनाउन प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस