• २०८३ असार १५ गते सोमवार

आज असार १५ : दही–चिउरा खाने दिन (राष्ट्रिय धान दिवस )

खिमराज गिरी पढ्न लाग्ने समय : ३ मिनेट

नेपाल कृषि प्रधान देश हो । यहाँको ठूलो जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा खेतीपातीमा निर्भर छ । त्यसैले असार १५ लाई विशेष महत्वका साथ राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनका रूपमा मनाइन्छ । यो दिन विशेषगरी धान रोपाइँको मुख्य समय भएकाले किसानको श्रम, आशा र उत्पादनसँग जोडिएको दिन हो । नेपाली समाजमा “मानो खाएर मुरि उब्जाउने महिना” भनेर असारलाई चिनिन्छ । अर्थात् अहिले गरेको मेहनतले भविष्यमा घरभरि अन्न भित्रिने विश्वास गरिन्छ ।

किन मनाइन्छ असार १५ ?
असार महिनामा मनसुन सुरु भई धान रोपाइँको चटारो बढ्छ । धान नेपालीको प्रमुख खाद्यान्न भएकाले यसको उत्पादन देशको खाद्य सुरक्षा र अर्थतन्त्रसँग सीधा सम्बन्धित छ । किसानलाई सम्मान गर्ने, कृषि पेशाको महत्व उजागर गर्ने र धान उत्पादन बढाउन प्रेरित गर्ने उद्देश्यले असार १५ लाई धान दिवसका रूपमा मनाइन्छ ।
असारे गीत, हिलो र रोपाइँको रमाइलो पनि यसको विशेषता हो ।

असार १५ केवल कृषि कार्य मात्र होइन, नेपाली लोकसंस्कृतिको उत्सव पनि हो । खेतमा हिलो छ्यापाछ्याप गर्दै, मादल, बाजा, झ्याली बजाउँदै, असारे गीत गाउँदै रोपाइँ गरिन्छ ।
“बाढी पहिरो वर्षाको बेलामा, ख्याल गरेर जानू है मेलामा !
अझ उहिलै त
” असारै मासको दवदवे हिलो छुनलाइ घिन लाग्यो, पाताली नानीलाइ फरिया किन्दा छ बीसा रिन लाग्यो ” भनेर पनि गीत गाइन्थ्यो ।
यस्ता गीतले किसानको थकान कम गर्छन्, सामूहिक श्रमलाई उत्सवमा बदल्छन् र गाउँघरमा मेलमिलाप बढाउँछन् । हिलोमा रमाउँदै रोपाइँ गर्नु नेपाली पहिचान र लोकसंस्कृतिको सुन्दर रूप हो ।

नेपालीका लागि यसको महत्व किन त ?
खाद्य सुरक्षा : धान नेपालीको मुख्य भोजन हो ।
रोजगारी : लाखौं किसानको जीविकोपार्जन धान खेतीसँग जोडिएको छ ।
संस्कृति : असारे गीत, सामूहिक रोपाइँ र दही–चिउरा नेपाली मौलिक संस्कृतिको प्रतीक हुन् ।
अर्थतन्त्र : धान उत्पादन राम्रो भए बजार, व्यापार र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ ।

तर किसान आज मारमा छन । यस वर्ष भने धेरै ठाउँमा खडेरी परेका कारण देशभर १५ प्रतिशत पनि रोपाइँ हुन सकेको छैन भन्ने अवस्था देखिएको छ । समयमै पानी नपर्दा किसान चिन्तित छन् । बीउ तयार भए पनि खेतमा पानी नहुँदा रोपाइँ रोकिएको छ । उता मल नपाएर कृषक चिन्तित छन । कृषि प्रधान देशमा यस्तो अवस्था हुनु दुःखद कुरा हो ।

सिंचाइ भए देश हराभरा हुन्थ्यो:
नेपालका उपत्यका, फाँट, बेँसी र तराई क्षेत्र नजिक धेरै नदीहरू अविरल बगिरहेका छन् । यदि ती नदीको पानी व्यवस्थित सिंचाइ प्रणाली मार्फत खेतसम्म पुर्‍याउन सकियो भने, साथै आवश्यक ठाउँमा बोरिङ र जलसञ्चयको व्यवस्था गरियो भने खेतबारी हराभरा बन्ने थिए । उत्पादन बढेर नेपालले आफ्नै आवश्यकता मात्र होइन, प्रशस्त अन्न निर्यात गर्न सक्ने अवस्था आउँथ्यो । त्यसले देशको अर्थतन्त्र उभो लाग्ने, किसान समृद्ध हुने र युवालाई गाउँमै रोजगारी सिर्जना हुने थियो ।

निष्कर्ष:
असार १५ नेपाली किसानको पसिना, आशा र भविष्यसँग जोडिएको दिन हो । दही–चिउरा खाने परम्परा, असारे गीत, हिलोमा रमाउने संस्कृति र सामूहिक रोपाइँले नेपाली समाजलाई जोडेको छ । तर किसानलाई केवल एक दिन सम्झिने होइन, वर्षभरी सिंचाइ, मल, बीउ र बजारको सुनिश्चितता गर्नु नै साँचो सम्मान हुनेछ । किसान हाँसे देश हाँस्छ, खेत हराभरा भए नेपाल समृद्ध बन्छ । धन्यवाद ।

Sharing

प्रतिक्रिया दिनुहोस