वैशाख १६, काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आइपिओ) खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा १७ लाख ४३ हजार कित्ता शेयर बिक्रीका लागि सार्वजनिक निष्कासन गरेको हो । यो आइपिओ वैशाख २२ गतेसम्म खुला रहनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा वैशाख ३० गतेसम्म म्याद थप गरिने बताइएको छ ।

कम्पनीको जारी पुँजी ७० करोड रुपैयाँ रहेको छ । यसमध्ये ४० प्रतिशत अर्थात् २८ लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ । कुल निष्कासनमध्ये १० प्रतिशत अर्थात् ७ लाख कित्ता शेयर सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो । बाँकी ३० प्रतिशत अर्थात् २१ लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको हो ।
सर्वसाधारणतर्फ छुट्याइएको २१ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरिएको छ । यस्तै, २ प्रतिशत अर्थात् ४२ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी १७ लाख ४३ हजार कित्ता शेयर आजदेखि सर्वसाधारणका लागि खुला गरिएको हो ।
यस सार्वजनिक निष्कासनको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
केयर रेटिङ्स नेपाल लिमिटेडले याम्बालिङ हाइड्रोपावरलाई ‘केयर-एनपी बीबी माइनस’ जारीकर्ता रेटिङ पुनः पुष्टि गरेको छ। यो रेटिङ भएका संस्थालाई वित्तीय दायित्व समयमै पूरा गर्न मध्यम जोखिम भएको मानिन्छ । कम्पनीले सिन्धुपाल्चोकमा ७ दशमलव २७ मेगावाट क्षमताको याम्बालिङ खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ र गत फागुन ८ गतेदेखि व्यावसायिक उत्पादनमा आएको कम्पनीले जनाएको छ ।