• २०८३ बैशाख १६ गते बुधवार

आजदेखि तीन दिन हावाहुरीसहित वर्षा हुने, सतर्क रहन आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख १६, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि तीन दिनसम्म देशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशको मोरङसहित आसपासका जिल्ला, मधेश प्रदेशका धनुषा र बारासहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँचीसहित आसपासका जिल्ला तथा सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्लामा तीव्र गतिको हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ।

विभागका अनुसार बुधबार साँझदेखि हावाहुरी सुरु भई पर्सि वैशाख १७ गते बिहानसम्म यसको प्रभाव रहने सम्भावना छ । यससँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा गराउने प्रणाली पश्चिमबाट क्रमशः पूर्वतर्फ सर्ने सम्भावना पनि रहेको जनाइएको छ ।

प्राधिकरणले तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना भत्किने, छाना उड्ने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको जनाएको छ । त्यसैले प्रभावित क्षेत्रका बासिन्दा तथा उक्त समयमा ती स्थानमा जाने सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

हावाहुरीका बेला सकेसम्म घरबाहिर हिँडडुल नगर्न, घरका झ्यालढोका राम्रोसँग बन्द गर्न, कमजोर छाना भए मजबुत बनाउन, घरबाहिर आगो नबाल्न तथा घरभित्र आगो बाल्दा पनि सतर्क रहन भनिएको छ । यस्तै, लड्न सक्ने कमजोर संरचना, अग्ला रुख, खम्बा र बिजुलीका तारमुनि नबस्न, लत्रिएको बिजुलीको तार नछुन तथा उडेर आउने सामानबाट चोट लाग्न सक्ने भएकाले चनाखो रहन पनि अनुरोध गरिएको छ ।

प्राधिकरणले जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसमसम्बन्धी पूर्वानुमान तथा आफ्नो सूचनालाई नियमित रूपमा जानकारीमा राखी आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस