असोज १२, हुम्ला। जडीबुटी सङ्कलनका लागि हिमाली भेग पुगेपछि एक सातादेखि परिवारको सम्पर्कमा नरहेका हुम्लाका १० जना सकुशल सम्पर्कमा आएका छन् । सिमकोट गाउँपालिका–२ ठेहेगाउँका उनीहरू भदौ २८ गते जडीबुटी सङ्कलनका लागि खार्पुनाथ गाउँपालिका–५ र चङ्खेली गाउँपालिका–४ को सीमामा पर्ने लुर्पेखोला जङ्गलतर्फ गएका थिए ।

असोज ८ गतेदेखि परिवारसँग सम्पर्क हुन नसकेपछि यसबारे आफन्तले प्रशासनलाई जानकारी गराएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काका अनुसार सोमबार दशै जना सकुशल सम्पर्कमा आएका बताउनुभयो ।
सम्पर्कमा आउनेमा धनमान सिंह बोहरा, पिजली बोहरा, पुन बोहरा, गोरसिंह भण्डारी, धनपुरी बोहरा, पलिवन बोहरा, जुन बोहरा, नर भण्डारी, खिम भण्डारी र लक्ष्मी बोहरा रहेका छन् ।