असोज १२, काठमाडौं । अविरल वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत मान्म–नाग्मा सडकखण्डको खल्लागाड र राचुली क्षेत्रमा पहिरो खस्दा राजमार्ग पुनः अवरुद्ध भएको छ। पहिरोका कारण यातायात ठप्प भएपछि सडक खुलाउने प्रयास तीव्र पारिएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिमबहादुर खत्रीका अनुसार सडक डिभिजन कार्यालय जुम्लासँग समन्वय गरी पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने काम भइरहेको छ।

हाल वर्षा रोकिए पनि सुख्खा पहिरोको जोखिम कायमै रहेकाले यात्रामा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। सडकको अवस्था र मौसमलाई ध्यानमा राखेर सतर्कतापूर्वक यात्रा गर्न यात्रु तथा सवारीचालकहरूलाई अनुरोध गरिएको छ।
यसैबीच, राजमार्गअन्तर्गत गगनेखोलामा खसेको पहिरो भने पन्छाएर सडक सञ्चालनमा ल्याइसकिएको प्रहरीले जनाएको छ। लगातारको वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न स्थानमा बारम्बार पहिरो खस्ने र बाटो अवरुद्ध हुने क्रम जारी छ।