• २०८३ असोज १२ गते सोमवार

अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज १२, काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकखण्डमा जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन सवारी आवागमनमा समेत रोक लगाइएको छ ।

ललितपुर जिल्लास्थित कान्तिलोकपथ सडकखण्ड अन्तर्गत पाङ्दुरमा पहिरो खस्दा असोज ९ गते बिहान ०६ः३० बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । बागमती गाउँपालिका वडा नं. ०३ टाकुर्चेमा पहिरो खस्दा असोज ११ गते राति ३ः४० बजे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । हालसम्म पनि उक्त खण्डहरूमा यातायात सञ्चालन हुन सकेको छैन ।

सोलुखुम्बु जिल्ला भित्र पर्ने सिद्धिचरण लोकमार्ग लगायत अन्य भित्री सडकहरूमा बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण सवारी साधन र पैदल यात्रीहरूको रात्रि आवातजावतमा पूर्ण रूपमा रोक लगाइएको छ ।

भोजपुरमा  सम्भावित क्षति रोकथामका लागि असोज ०८ गतेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि यातायातमा राेक लगाइएकाे छ । भोजपुर जिल्ला अन्तर्गत पर्ने मध्य पहाडी लोकमार्ग तथा सम्पूर्ण भित्री सडकहरूमा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म आवागमनमा रोक लगाइएको छ । एम्बुलेन्स, दमकल, र खाद्यान्न ढुवानी जस्ता अत्यावश्यक सवारी भने नजिकको प्रहरी एकाइसँग समन्वय गरी सञ्चालन गर्न सकिने बताइएको छ ।

शिवपुरी गाउँपालिका–८, घट्टेखोलास्थित टोखा–छहरे सडक खण्डमा सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना नभएसम्मका लागि दैनिक राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

चितवन जिल्ला तथा आसपासका क्षेत्रमा सम्भावित बाढी–पहिरोको जोखिमका कारण यही ८ गते दिउँसो १४ बजेदेखि अर्को सूचना नभएसम्मका लागि नारायणगढ–मुग्लिन सडक खण्ड भएर चल्ने सम्पूर्ण सवारी साधनहरूको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।

यही ९ गते बिहान ७ बजेदेखि धादिङ जिल्ला तथा आसपासका क्षेत्र भई चल्ने पृथ्वीराजमार्ग सडक खण्डमा बाढी–पहिरोको जोखिमका कारण अर्को सूचना नभएसम्म सम्पूर्ण सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । बेनिघाट रोराङ गाउँपालिका–१० पानीधारामा पहिरो गएकाले उक्त खण्ड भने पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिर, वडा नं. ३ गौमतीखोला, र गजुरी गाउँपालिका वडा नं. २ चालिसे तथा परेवाभिरमा पहिरो खसेका कारण राजमार्ग एकतर्फी सुचारु रहेको छ ।

May be an image of text

May be an image of map and text

May be an image of map and text

May be an image of text

May be an image of text

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस