भदौ १२, काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले विपद्का बेला राज्यको उपस्थिति प्रभावकारी रूपमा देखिन नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै अर्यालले बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको क्षेत्रमा आफू प्रत्यक्ष रूपमा खटिरहेको भन्दै उद्धार, उपचार, शव व्यवस्थापन तथा राहतमा गम्भीर समस्या रहेको बताएका छन् ।

अध्यक्ष अर्यालका अनुसार बाढीको सूचना जारी गर्न खटिएका गाउँपालिकाका चार कर्मचारी अझै बेपत्ता छन् । सूचना तथा सञ्चार अधिकृत जनक आचार्यको भने पहिचानपछि दाहसंस्कार गरिएको उनले बताएका छन् । त्यस्तै कार्यपालिका सदस्य ज्ञानु विकसहित केही शिक्षकसँग पनि सम्पर्क हुन नसकेको उनले बताएका छन् । वेत्रावती बजार, कैदलेटार, पैरेबेसी, सल्लेटार र मैलुङ क्षेत्रमा ठूलो मानवीय क्षति भएको अध्यक्ष अर्यालको भनाइ छ । भूकम्पका कारण विस्थापित भई ११ वर्षदेखि अस्थायी बसोबास गर्दै आएका करिब ३०० परिवारसमेत बाढीबाट प्रभावित भएको उनले बताएका छन् ।
त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत ठूलो सङ्ख्याका कर्मचारी तथा मजदुर र माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत कोरियाली, चिनियाँ, भारतीय तथा नेपाली कामदारसमेत बेपत्ता भएको सूचना आएको उनले बताएका छन् । उनीहरू सुरुङभित्र फसेको हुन सक्ने खबर आइरहेको अध्यक्ष अर्यालले उल्लेख गरेका छन् । गोसाइँकुण्ड र मानसरोवर यात्राका लागि निस्किएका धेरै यात्रुसमेत सम्पर्कविहीन रहेको उनले बताएका छन्। आफन्तहरूले सम्पर्क गरेर उद्धारका लागि हारगुहार गरिरहेको उनको भनाइ छ ।
सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएकाले उद्धार तथा राहतमा थप कठिनाइ भएको अध्यक्ष अर्यालले बताएका छन्। विद्युत् आपूर्ति बन्द भएपछि मोबाइल सञ्जालमा समेत समस्या आएको र मोबाइल बन्द भएकाले धेरै व्यक्तिसँग सम्पर्क हुन नसकेको उनले बताएका छन् ।
टिमुरे र स्याफ्रुबेंसी क्षेत्रमा ठूलो मानवीय क्षति भए पनि मैलुङ, सल्लेटार, पैरेबेसी, कैदलेटार र वेत्रावती क्षेत्रमा क्षति अझै अकल्पनीय रहेको अध्यक्ष अर्यालको भनाइ छ। उनका अनुसार ठूलो सङ्ख्यामा परिवार घरबारविहीन भएका छन् ।
मरणासन्न अवस्थामा रहेका घाइतेको उद्धारका लागि प्रधानमन्त्री कार्यालयदेखि विभिन्न निकायसँग समन्वय गरेर हेलिकप्टरको प्रतीक्षा गर्दा पनि तत्काल सुनुवाइ नभएको उनले बताएका छन् । त्यसपछि घाइतेलाई कालिकास्थान र जिवजिवे हुँदै १० घण्टापछि धुञ्चे अस्पताल पुर्याउनुपर्ने अवस्था आएको उनले बताएका छन् । उनले भनेका छन्- ‘खोलाको किनारमा ५०औँ शवहरू देखिन्छन्। परिवारका सदस्यले पहिचान गरेका शव दाहसंस्कारका लागि प्रहरीसँग समन्वय गर्दा ‘माथिको आदेशबाहेक केही गर्न मिल्दैन’ भन्ने जवाफ पाउने अवस्था छ ।’
बाढीका कारण ठूलो सङ्ख्यामा सुरक्षाकर्मीसमेत बेपत्ता भएको अध्यक्ष अर्यालले बताएका छन् । कालिकास्थानमा इन्स्पेक्टरसहित पाँच–छ जना प्रहरी खाना र पानीको अभावमा समेत खटिरहेको र उनीहरूले सामान्य सुरक्षा दिनेबाहेक अन्य काम गर्न नसक्ने अवस्था रहेको उनले बताएका छन् ।
सहकारी कार्यालयको वैकल्पिक विद्युत् व्यवस्थाबाट मोबाइल चार्ज गरी सामाजिक सञ्जाल हेर्दा प्रधानमन्त्रीको सन्देश देखेको उल्लेख गर्दै अध्यक्ष अर्यालले संघीय सरकारको भूमिकामाथि प्रश्न उठाएका छन् । उनले भनेका छन्- ‘हाम्रो क्षेत्रबाट हेर्दा संघीय सरकार आकाशमा देखिन्छ, सामाजिक सञ्जालमा देखिन्छ। विपद्का बेला जनताले अनुभूति गर्ने गरी केही क्षेत्रमा बाहेक प्रभावकारी काम भएको देखिएको छैन ।’
आफू जनताको प्रतिनिधि भएकाले भुइँमै बसेर विपद्को अवस्था सामना गरिरहेको र स्रोतसाधन, कार्यालयका परिवारका सदस्य तथा सयौँ नागरिक गुमाएको अवस्थाको प्रत्यक्ष अनुभवका आधारमा आफूले यस्तो धारणा राखेको अध्यक्ष अर्यालले बताएका छन् । आफन्त गुमाएका तथा घरबारविहीन नागरिकको आवाजसमेत आफूले उठाएको उनको भनाइ छ ।
केही सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएपछि गृहमन्त्रीको सचिवालयबाट आफूलाई फोन आएको र नकारात्मक प्रचार नगर्न तथा राजनीति नगर्न आग्रह गरिएको अध्यक्ष अर्यालले बताएका छन् । उनले भने- ‘मैले जवाफ दिएँ– हामीले यस्तो आवाज उठाउन नपर्ने अवस्था सिर्जना गर्नुस्, हामी सरकार भएको अनुभूति गर्नेछौँ ।’
आफू आबद्ध दलसँग सबैभन्दा क्षमतावान्, अनुभवी र दूरदर्शी नेतृत्व रहेको दाबी गरिए पनि विपद्का बेला आफूलाई खोजी गर्नेमा केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल र गोकर्ण विष्टबाहेक अरू नरहेको उनले बताएका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, सुरेन्द्र पाण्डेसहित देशभरका नेता तथा सहयोद्धाहरूले भने चासो र चिन्ता व्यक्त गरेको उनले उल्लेख गरेका छन् ।
नेकपा एमालेको आकस्मिक सचिवालय बैठकबारे सामाजिक सञ्जालमा देखिएको उल्लेख गर्दै अध्यक्ष अर्यालले सामाजिक सञ्जालमा मात्रै प्रतिक्रिया जनाउनेभन्दा प्रभावित क्षेत्रमा प्रत्यक्ष काम गर्न आग्रह गरेका छन् । उनले भनेका छन्- ‘परिणामविहीन रूपमा सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौँ। यसले पीडितलाई थप पीडा दिनेछ। के गर्न सकिन्छ, मैदानमै जनताले अनुभूति गर्ने गरी गरौँ। नेकपा एमालेको संस्कार र संस्कृति यही हो ।’
अध्यक्ष अर्यालले आफूले उठाएका विषयलाई नकारात्मक रूपमा नबुझ्नसमेत आग्रह गरेका छन्। आफूले भोगेको वास्तविक अवस्थाका आधारमा आवश्यक विषय उठाउनुपरेको उनले बताएका छन् । हाल उत्तरगया गाउँपालिकाले करिब ३५० प्रभावितलाई नीलकण्ठ माध्यमिक विद्यालय बोगटीटारमा राखेको छ। कालिका र नौकुण्ड गाउँपालिकाबाट खाद्यान्नलगायत सामग्री सहयोग प्राप्त भएको र त्यसले थप तीन दिनसम्म धान्न सक्ने अवस्था रहेको अध्यक्ष अर्यालले बताएका छन् । प्रभावितहरू विद्यालयको कोठाको भुइँमा कालो म्याट्रेस ओछ्याएर रात बिताउन बाध्य छन्। केही स्थानीय बासिन्दाले आफ्नै घरमा प्रभावित परिवारलाई आश्रय दिएर राखेका छन् ।
नियमित औषधि सेवन गर्नुपर्ने बिरामी, सुत्केरी, गर्भवती महिला, ज्येष्ठ नागरिक तथा बालबालिकालाई उनीहरूको संवेदनशील अवस्थाअनुसार आवश्यक विशेष सहयोग पुर्याउन नसकिएको अध्यक्ष अर्यालले बताएका छन् । नदी किनारमा रहेका ५०औँ शव सड्न थालेपछि गाउँमा दुर्गन्ध फैलिन थालेको र त्यसबाट सङ्क्रमण फैलिन सक्ने जोखिम रहेको उनले बताएका छन्। बिरामीको सङ्ख्यासमेत बढिरहेको भन्दै तत्काल उद्धार गरी उपचारको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
पहिरोको जोखिममा रहेको तिरु क्षेत्रमा पनि ठूलो सङ्ख्यामा मानिस रहेको सूचना आएको र त्यहाँ खाद्यान्नलगायत आवश्यक सामग्रीको अभाव रहेको अध्यक्ष अर्यालले बताएका छन्। उनीहरूलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा आवासको व्यवस्था गर्नुपर्ने उनले बताएका छन् ।
त्रिशूली नदीको वारि र पारि फसेका तथा परिवारका सदस्यसँग सम्पर्कविहीन भएका व्यक्तिलाई उद्धार गरी परिवारसँगै राख्ने व्यवस्था गर्नुपर्ने उनको माग छ। सहयोग गर्न इच्छुक विभिन्न सङ्घसंस्थासँग आवश्यक समन्वय र सहजीकरण गरिदिन पनि उनले सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
यसैबीच घरबारविहीन भएका परिवार, बेपत्ता व्यक्तिहरू, अभिभावकविहीन बालबालिका तथा क्षतिग्रस्त सार्वजनिक र निजी घरहरूको विवरण सङ्कलन भइरहेको अध्यक्ष अर्यालले बताएका छन् ।
प्रमुख जिल्ला अधिकारीसँग बुधबार साँझ सम्पर्क भएको र तत्काल गर्नुपर्ने काम बिहीबारदेखि सुरु हुने जानकारी पाएको उनले बताएका छन् । स्थानीय सरकारका जनप्रतिनिधिसँग समन्वय गरेर राज्यको नजरमा ओझेलमा परेका क्षेत्रमा उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका काम अघि बढ्ने विश्वाससमेत अध्यक्ष अर्यालले व्यक्त गरेका छन् ।