• २०८३ भाद्र १२ गते शुक्रवार

अमेरिकामा मेटाको ४८ राज्यसँग सम्झौता, बालबालिकालाई फेसबुक र इन्स्टाग्रामको प्रयोगमा कडाई गरिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ १२, काठमाडौं । स्मार्टफोन र सामाजिक सञ्जालको बढ्दो प्रयोग बालबालिकाका लागि गम्भीर चुनौती बन्दै गएको भन्दै अमेरिकामा फेसबुक र इन्स्टाग्रामको बालबालिका तथा किशोरकिशोरीले गर्ने प्रयोगमा कडाइ गरिएको छ । जसअनुसार, अमेरिकी ४८ राज्यसँग लामो कानुनी विवादपछि सामाजिक सञ्जाल कम्पनी मेटाले बालबालिकाको सुरक्षा र प्रयोग नियन्त्रणसम्बन्धी सुधारका लागि १८ अर्ब अमेरिकी डलरको सम्झौता गरेको छ ।

सम्झौताअनुसार मेटाले आफ्ना सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा बढाउन तत्काल केही महत्वपूर्ण परिवर्तन गर्न सहमत भएको छ । बालबालिकाले दैनिक कति समयसम्म सामाजिक सञ्जाल प्रयोग गर्न पाउने भन्ने सीमा तोकिने र रातिको समयमा फेसबुक र इन्स्टाग्राम स्वतः बन्द हुने व्यवस्था गरिने भएको छ ।

त्यस्तै, बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्न उमेर पहिचान गर्ने कडा प्रणाली लागू गरिनेछ । अभिभावकलाई पनि बालबालिकाको सामाजिक सञ्जाल गतिविधिमा निगरानी राख्न विशेष सुविधा र उपकरण उपलब्ध गराइनेछ ।

अदालती कागजात तथा विभिन्न अध्ययनलाई उद्धृत गर्दै प्रस्तुत विवरणमा सामाजिक सञ्जालको अत्यधिक प्रयोगले बालबालिकाको मानसिक स्वास्थ्यमा नकारात्मक असर पारिरहेको उल्लेख गरिएको छ ।

सामाजिक सञ्जालमा लगातार आउने सूचना र प्रतिक्रियाले बालबालिकालाई लामो समयसम्म मोबाइलमा अल्झाइराख्ने, आफूलाई अरूसँग तुलना गर्ने तथा आफ्नो रूपरङ्ग र जीवनशैलीप्रति असन्तुष्ट हुने अवस्था बढाउने दाबी गरिएको छ ।

त्यस्तै, रातिसम्म मोबाइल चलाउँदा निद्रा प्रभावित हुने र त्यसले तनाव, उदासी तथा पढाइमा ध्यान केन्द्रित गर्न कठिनाइ निम्त्याउन सक्ने उल्लेख छ । सामाजिक सञ्जालमा हुने दुर्व्यवहार तथा साथीहरूभन्दा पछि परिने डरले समेत बालबालिकाको आत्मविश्वासमा असर पार्न सक्ने बताइएको छ ।

सम्झौता नगरेको अवस्थामा मेटामाथि अमेरिकी राज्यहरूले करिब २०० अर्ब अमेरिकी डलरसम्मको जरिवाना माग गर्न सक्ने अवस्था रहेको विवरणमा उल्लेख छ । कडा कानुनी व्यवस्थाअनुसार सम्भावित जरिवाना अझ ठूलो हुन सक्ने जोखिमका कारण १८ अर्ब डलरमा सम्झौता गरिएको बताइएको छ ।

तर मेटाले सामाजिक सञ्जालको लतलाई औपचारिक मानसिक रोगका रूपमा मान्यता नदिइएको तर्क गर्दै आफूमाथिका आरोप अस्वीकार गरेको विवरणमा उल्लेख छ ।

हालका लागि यस्तो व्यवस्था अमेरिकामा मात्र लागू भएको बताइएको छ । यद्यपि, मेटाले आफ्ना सुरक्षा सुविधाहरू अन्य देशमा समेत विस्तार गर्न सक्ने भएकाले भविष्यमा अन्य देशमा पनि रातिको समयमा प्रयोगमा रोक, दैनिक समय सीमा र कडा उमेर पहिचान प्रणालीजस्ता व्यवस्था लागू हुन सक्ने सम्भावना रहेको विवरणमा उल्लेख छ ।

Sharing

प्रतिक्रिया दिनुहोस