असार १४, काठमाडौं । पूर्वी फ्रान्समा एउटा नागरिक विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका अनुसार दुर्घटना टोम्ब्लेन सहरस्थित विमानस्थल नजिक भएको हो । घटनापछि प्रहरीले सर्वसाधारणलाई दुर्घटनास्थल वरपरको क्षेत्रमा नजान र उक्त स्थानबाट टाढा रहन आग्रह गरेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको विमान स्काइडाइभिङका लागि यात्रु बोकेर उडेको थियो । प्रशासनका अनुसार दुर्घटनामा चालकसहित विमानमा सवार सबै १० यात्रुको मृत्यु भएको छ । मृतकमध्ये पाँच जना विद्यार्थी र पाँच जना प्रशिक्षक रहेका छन् ।
फ्रान्सको गृह मन्त्रालयले गृहमन्त्री लोरेन नुनेज घटनास्थलतर्फ प्रस्थान गरिसकेको जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरूले बताएका छन् ।