वैशाख १५, काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत मुम्बई इन्डियन्सले चोटका कारण बाहिरिएका मिचेल स्यान्टनरको स्थानमा दक्षिण अफ्रिकाका बायाँ हातका स्पिनर केशव महाराजलाई अनुबन्ध गरेको छ ।

स्यान्टनरले यस सिजनमा चार खेलमा पाँच विकेट लिएका थिए । चेन्नई सुपर किङ्सविरुद्ध वान्खेडे रंगशालामा भएको खेलमा क्याच लिने प्रयासका क्रममा उनको काँधमा चोट लागेको थियो । चोटपछि उनी खेलका क्रममा ड्रेसिङ रुममा काँधमा बरफ राखेर बसेका देखिएका थिए, र टोलीले उनको सट्टा कनकसन विकल्प प्रयोग गरेको थियो ।
महाराज दक्षिण अफ्रिकाका अनुभवी खेलाडी हुन् । उनले हालसम्म ५४ अन्तर्राष्ट्रिय टी- २० खेल खेलिसकेका छन् । यसअघि उनले सन् २०२४ मा राजस्थान रोयल्सबाट आइपीएलमा दुई खेल खेलेका थिए ।
विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका महाराजले क्यारेबियन प्रिमियर लिग, बङ्गलादेश प्रिमियर लिग, भाइटालिटी ब्लास्ट, साथै एसए- २० र पहिलेको म्जान्सी सुपर लिगमा पनि अनुभव बटुलेका छन् ।
पछिल्लो एसए- २० सिजनमा उनले प्रिटोरिया क्यापिटल्सको कप्तानी गर्दै टोलीलाई फाइनलसम्म पुर्याएका थिए । सो सिजनमा उनले १२ खेलमा १२ विकेट लिएका थिए । समग्रमा टी- २० करियरमा उनले २०८ इनिङ्समा १९१ विकेट लिएका छन्, जसमा उनको औसत ७.१२ रहेको छ ।
मुम्बई इन्डियन्ससँग अहिले स्पिन आक्रमणमा महाराजसँगै एम घजनफर, मयंक मार्कन्डे, रघु शर्मा तथा अलराउन्डर विल ज्याक्स रहेका छन् ।
मुम्बईले हालसम्म खेलेका सात खेलमध्ये दुई मात्र जितेको छ र अंक तालिकामा नवौं स्थानमा रहेको छ । टोलीले अब बुधबार आफ्नै मैदान वान्खेडे रंगशालामा सनराइजर्स हैदराबादसँग खेल्ने तालिका रहेको छ ।