कात्तिक १०, काठमाडौं । भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा सक्रिय पशुपतिनाथ फाउन्डेसन लस एन्जलसको पहलमा रू डेढ करोड आर्थिक सहयोग सङ्कलन गरी प्रधानमन्त्री राहत कोषमा पठाइएको छ । फाउन्डेसनका अध्यक्ष विमल श्रेष्ठका अनुसार अमेरिकामा रहेका नेपाली समुदायबाट सङ्कलित ९९ हजार ६४ अमेरिकी डलर सहयोग सङ्कलन गरिएको थियो । उक्त रकमबाट बैंक शुल्क कटाएर ९७ हजार ८७५ अमेरिकी डलर प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको उहाँले जानकारी दिनुभयो ।

नेपाली राजदूतावास वासिङ्टन डिसीका अधिकारी सम्मिलित जुममार्फत आयोजित कार्यक्रममा फाउन्डेसनका पदाधिकारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उपस्थितिमा फाउन्डेसनका अध्यक्ष श्रेष्ठले उक्त रकम प्रधानमन्त्री राहत कोषमा पठाइएको घोषणा जानकारी गराइएको छ ।
प्रवासमा रहेर पनि मातृभूमिमा परेको विपद्लाई आफ्नै पीडा सम्झँदै सहयोग गर्नु नेपालीको देशप्रेम, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण भएको फाउन्डेसनले जनाएको छ । यसअघि पनि फाउन्डेसनले भूकम्पका बेला राहत तथा सहयोगका कार्यक्रममा सहयोग पु¥याएको थियो ।
विश्वभर नेपाली संस्कृति, सम्पदा तथा भाषाको संरक्षण गर्दै पशुपतिनाथ र बुद्ध भूमि नेपालको पहिचान प्रवर्द्धन गर्ने लक्ष्यका साथ स्थापित फाउन्डेसनले क्यालिफोर्नियामा मन्दिर, बुद्ध स्तूप र एकीकृत सांस्कृतिक केन्द्र निर्माण अघि बढाएको छ ।