• २०८३ भाद्र १२ गते शुक्रवार

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११, रसुवा । रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशुली हाइड्रोपावरको टनेलभित्र फसेका ३५० जना मजदुर तथा स्थानीयको नेपाली सेनाले सफलतापूर्वक उद्धार गरेको छ। प्रतिकूल मौसम र बाढीको तीव्र बहावबीच जोखिमपूर्ण अवस्थामा सेनाले उद्धार अभियान सञ्चालन गरेको हो।

टनेलमा अझै १०० जनाभन्दा बढी मानिस फसेको बताइएको छ। उनीहरूको उद्धारका लागि पनि नेपाली सेनाको टोली निरन्तर खटिरहेको छ। टनेलभित्रको उद्धार अभियानका लागि नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर (त्रिशुली) बाट जमदार भक्तजन बस्नेतको कमाण्डमा १/३ को सैन्य टोली परिचालित छ।

यसैगरी, रसुवाका बाढी प्रभावित अन्य क्षेत्रबाट पनि सेनाले उद्धार जारी राखेको छ। सी क्यू आर टी धुन्चे ब्यारेकबाट सहसेनानी अभिषेक शाहीको कमाण्डमा खटिएको १/५ को टोलीले स्याफ्रुवेशी, टिमुरे, मैलुङ, ठूलो हाकु र हाकुवेशीका विभिन्न स्थानबाट थप ५३३ जनालाई सुरक्षित स्थानमा सारेको छ।

नेपाली सेनाका अनुसार आज मात्रै रसुवाका विभिन्न प्रभावित क्षेत्रबाट कुल ८८३ जना मजदुर तथा स्थानीयको उद्धार गरिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस