भदौ ११, काठमाडौं । सरकारले बाढी, पहिरो र आगलागीजस्ता प्राकृतिक विपद्का समयमा ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीको भत्ता तथा दैनिक खाजा खर्च बढाउने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बिहीबार बसेको बैठकले सुरक्षा निकायका जनशक्तिको सेवा सुविधामा परिमार्जन गर्ने निर्णय गरेको हो ।

विपद्को समयमा आफ्नो ज्यानको जोखिम मोलेर अग्रपङ्क्तिमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जनशक्तिको योगदानको कदर गर्दै सुविधा बढाउने निर्णय गरिएको हो । विपद् व्यवस्थापनको कामलाई अझ प्रभावकारी, छिटो र परिणाममुखी बनाउन अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मीलाई राज्यका तर्फबाट सम्मान र प्रोत्साहनको अनुभूति गराउन आवश्यक भएकाले सेवा सुविधा परिमार्जन गरिएको प्राधिकरणले जनाएको छ ।
कार्यकारी समितिको निर्णयअनुसार सम्बन्धित सुरक्षा निकायले सेवा सुविधा परिमार्जनसम्बन्धी प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाउनुपर्नेछ। त्यसपछि सम्बन्धित मन्त्रालयले आवश्यक निर्णय गर्नेछन् ।