भदौ १० गते बिहान रसुवागढी नजिकैबाट अचानक आएको विनाशकारी बाढीले नेपाललाई फेरि एउटा कहालीलाग्दो विपत्ति सामु उभ्याएको छ । नेपाल–चीन सीमा क्षेत्रबाट आएको ठूलो बाढीले ल्हेन्दे खोलाबाट भोटेकोशी हुँदै टिमुरे, स्याफ्रुबेंसी, मैलुङ, बेत्रावती हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ । प्रारम्भिक विवरणअनुसार यो विपत्ति हिम पहिरो वा नदी थुनिएर अचानक ठूलो पानीको बहाव तलतिर आएको हुनसक्ने देखिएको छ ।

बाढीको पानीले बाटो, पुल, घर, बजार, कार्यालय, जलबिद्युत आयोजना र अन्य भौतिक संरचनाहरु बगाएको छ । नदी किनारका बस्तीमा बस्ने नागरिकको जीवन एकैछिनमा तहसनहस भएको छ । भदौ १० गते रातिसम्म मात्रै विभिन्न जिल्लामा २३५ जनाको शव फेला परिसकेको प्रहरी विवरण आएको थियो र खोज तथा उद्धार कार्य अझै जारी थियो । सयौँ मानिस सम्पर्कविहीन रहेको अवस्थाले यो विपत्तिको वास्तविक क्षति अझ गम्भीर हुनसक्ने देखाउँछ ।
सबैभन्दा पीडादायी दृश्य ती परिवारका हुन्, जसले आफ्ना आफन्तको प्रतीक्षामा नदी किनारमा आँखा टोलाइरहेका छन् । कतै आमाले छोराको बाटो हेरिरहेकी छन्, कतै छोराछोरीले बाबुआमाको खोजी गरिरहेका छन् । कसैको घर बगेको छ, कसैको खेत पुरिएको छ, कसैको जीवनभरको कमाइ केही मिनेटमै पानीमा विलीन भएको छ । विपत्तिले घर मात्र होइन, मानिसका सपना, आशा र भविष्यसमेत बगाएको छ ।
आज रसुवा र नुवाकोट धादिङका नागरिकलाई भाषण होइन, सहारा चाहिएको छ । आश्वासन होइन, उद्धार चाहिएको छ । विवाद होइन, सहकार्य चाहिएको छ । विपत्तिले मानिस छुट्याउँदैन; त्यसैले उद्धार र सहयोगमा पनि हामी छुट्टिनु हुँदैन । अहिले रमिता हेर्ने बेला होइन । अहिले दोष खोज्ने बेला होइन । अहिले एकअर्काको हात समाउने बेला हो ।
तर यही अँध्यारोबीच मानवताको उज्यालो पनि देखिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानीय युवा तथा विभिन्न सामाजिक संस्थाहरू उद्धारमा खटिएका छन् । नेपाली सेनासहित विभिन्न हेलिकप्टरबाट हवाई उद्धार गरिएको छ । सेना तथा सशस्त्र प्रहरीको ठूलो जनशक्ति खोज तथा उद्धारमा परिचालन गरिएको विवरण पनि आएको छ ।
यस्तो विपत्तिमा राजनीतिक दलका कार्यकर्ता पनि पार्टीको झण्डा होइन, मानवताको झण्डा बोकेर मैदानमा उत्रिनुपर्छ । कांग्रेस, एमाले, माओवादी, रास्वपा वा अन्य जुनसुकै राजनीतिक दलसँग सम्बन्धित भए पनि पीडित नागरिकका लागि गरिने सहयोगको मूल्य एउटै हुन्छ । अहिले आरोप–प्रत्यारोप गर्ने, कसले पहिले काम गर्यो भनेर विवाद गर्ने वा राजनीतिक लाभ खोज्ने समय होइन । यो समय हातेमालो गर्ने समय हो ।
तर विपत्तिको नाममा अमानवीय व्यवहार देखिनु झन् दुःखद हो । बाढीले बगाएका सामान लुट्ने, ग्यास सिलिन्डर वा अन्य सामग्री लैजाने, मृतकको शरीरबाट गरगहना निकाल्ने जस्ता गतिविधि यदि भएका छन् भने ती केवल कानुनी अपराध मात्र होइनन्, मानवीय समवेदनामाथिको कलंक हुन् । मृत शरीर कसैको सम्पत्ति होइन, तर त्यो कसैको प्रिय जनको अन्तिम चिनारी हो । त्यसैले उद्धारका क्रममा भेटिएका सम्पत्तिको संरक्षण र मृतकप्रति सम्मान गर्नु प्रत्येक नागरिकको कर्तव्य हो ।
सरकारले उद्धारसँगै तत्काल राहत, घाइतेको उपचार, बेपत्ताको खोजी, मृतकको पहिचान, परिवारलाई सूचना र वि स्थापितका लागि सुरक्षित आवासको व्यवस्था गर्नुपर्छ । त्यसपछि पुनःस्थापना र पुनर्निर्माणको दीर्घकालीन योजना आवश्यक छ । विपद् व्यवस्थापनलाई घटना भएपछि मात्र सक्रिय हुने प्रणालीबाट पूर्वसूचना, जोखिम नक्सांकन र समुदायमा आधारित तयारीतर्फ लैजानुपर्छ । रसुवाको विपत्तिले नुवाकोट, धादिङ, चितवनलगायत त्रिशूली र अन्य नदी तटीय क्षेत्रलाई पनि गम्भीर पाठ दिएको छ । नदी किनारमा अनियन्त्रित बस्ती, कमजोर पूर्वाधार र पूर्वसूचना प्रणालीको अभावले जोखिम बढाउन सक्छ । अब सरकारले स्थानीय तहसँग सहकार्य गरी नदी तटीय क्षेत्रमा नियमित सचेतना, पूर्वसूचना, उद्धार अभ्यास र सुरक्षित स्थानको पहिचान गर्नुपर्छ ।
यो विपत्ति रसुवाको मात्र होइन, सम्पूर्ण नेपालको दुःख हो । देशभित्रका नागरिक, राजनीतिक दल, निजी क्षेत्र, सामाजिक संस्था र विदेशमा रहेका नेपाली सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्छ र सहयोगको हात अघि बढेको पनि छ । मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट आउने सहयोगलाई पनि पारदर्शी ढंगले पीडित सम्म पुर्याउनुपर्छ ।
आज रसुवा र नुवाकोट धादिङका नागरिकलाई भाषण होइन, सहारा चाहिएको छ । आश्वासन होइन, उद्धार चाहिएको छ । विवाद होइन, सहकार्य चाहिएको छ । विपत्तिले मानिस छुट्याउँदैन; त्यसैले उद्धार र सहयोगमा पनि हामी छुट्टिनु हुँदैन । अहिले रमिता हेर्ने बेला होइन । अहिले दोष खोज्ने बेला होइन । अहिले एकअर्काको हात समाउने बेला हो ।
रसुवाबाट उठेको पीडाको आवाज नुवाकोट, धादिङ, चितवन हुँदै सिंगो नेपालसम्म पुगेको छ । अब सिंगो नेपालले एउटै स्वरमा भन्नुपर्छ—“विपत्तिमा परेका नागरिक एक्ला छैनन्, सिंगो देश उनीहरूको साथमा छ ।”