भदौ ११, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट सिर्जित राष्ट्रिय संकट, उद्धार तथा राहत व्यवस्थापनका विषयमा मुख्यसचिवसहित विषयगत मन्त्रालयका सचिवहरूसँग आपत्कालीन छलफल गरेका छन् । बाढी प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएलगत्तै प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय बैठक बोलाएका हुन् ।

बैठकमा विपद् व्यवस्थापन, उद्धार तथा राहतसँग प्रत्यक्ष जोडिएका रक्षा, गृह, अर्थ, परराष्ट्र, ऊर्जा, स्वास्थ्य तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन, घाइतेको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था मिलाउन र विस्थापित परिवारलाई तत्काल राहत सामग्री उपलब्ध गराउन निर्देशन दिएका छन् ।
विस्थापितका लागि सञ्चालन गरिएका राहत शिविर व्यवस्थित र सफा राख्नुपर्नेमा उनले विशेष जोड दिएका छन् । शिविरमा व्यक्तिगत गोपनीयता कायम गर्न तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई उचित सम्मान, सुरक्षा र विशेष प्राथमिकतासहित राख्न पनि उनले निर्देशन दिएका छन् ।
त्यस्तै, बाढीबाट क्षतिग्रस्त सडक, विद्युत् तथा सञ्चार संरचना यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालयलाई एकीकृत कार्ययोजनासहित अघि बढ्न प्रधानमन्त्री शाहले निर्देशन दिएको सचिवालयले जनाएको छ ।