असार १३, काठमाडौं । भारतका नयाँ टी-२० कप्तान श्रेयस अय्यरको कप्तानीको सुरुआत निराशाजनक बनेको छ। दुई खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा आयरल्यान्डले भारतलाई ३४ रनले पराजित गर्दै इतिहास रचेको छ ।

यो जितसँगै आयरल्यान्डले टी-२० विश्वविजेता भारतविरुद्ध कुनै पनि प्रारूपमा पहिलो पटक विजय हासिल गरेको हो । साथै घरेलु टोलीले सिरिज १-० को अग्रता पनि बनाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १८२ रन बनाएको थियो । उसका कप्तान लोर्कन टकरले ३६ बलमा ५० रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । भारतका लागि हर्षित राणाले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । अर्शदीप सिंह र अक्षर पटेलले समान २-२ विकेट लिएका थिए ।
१८३ रनको लक्ष्य पछ्याएको भारत १८.५ ओभरमा १४८ रनमै समेटियो । भारतीय ब्याटरहरूले सुरुदेखि नै लय समात्न नसक्दा टोली ३४ रनले पराजित हुन पुग्यो ।
यस जितसँगै आयरल्यान्डले सिरिजमा बलियो सुरुआत गरेको छ भने भारत दोस्रो खेल जित्दै शृंखला बराबरी गर्ने दबाबमा परेको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुने तालिका छन् ।