• २०८३ असार १३ गते शनिवार

नर्वेविरुद्ध डेम्बेलेको ह्याट्रिक, सेनेगलको नकआउटको सम्भावना बलियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १३, काठमाडौं । जारी फिफा फुटबल विश्वकपको समुह आईबाट फ्रान्स र नर्वे नकआउट चरणमा प्रवेश गरेका छन् । समुह चरणको अन्तिम खेलमा फ्रान्सले नर्वेलाई ४-१ गोल अन्तरले पराजित गर्दै समूह ‘आई’ मा शीर्ष स्थान हासिल गरेको छ । उस्मान डेम्बेलेको विस्फोटक ह्याट्रिकमा फ्रान्सले प्रभावशाली जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

इर्लिङ हालान्ड र किलियन एम्बाप्पेबीचको प्रतिस्पर्धाको अपेक्षा गरिए पनि नर्वेले मुख्य खेलाडीलाई विश्राम दिएपछि डेम्बेले नै खेलका नायक बने । उनले खेलको पहिलो ३२ मिनेटभित्र तीन गोल गर्दै विश्वकप इतिहासकै दोस्रो सबैभन्दा छिटो ह्याट्रिक पूरा गरेका थिए । एम्बाप्पेको पासमा पहिलो गोल गरेका उनले त्यसपछि थप दुई आकर्षक गोल गरेका थिए । नर्वेका लागि थेलो आसगार्डले एक गोल फर्काए भने इन्जुरी समयमा डिजिरे दुईले फ्रान्सका लागि चौथो गोल गरेका थिए ।

यस जितसँगै फ्रान्स समूह विजेता बन्दै अन्तिम ३२ मा प्रवेश गरेको छ भने डेम्बेले प्रतियोगिताको सर्वाधिक गोलकर्ताको दौडमा पनि अगाडि उक्लिएका छन् । त्यस्तै नर्वे उपविजेता बनेको छ ।

यता, सेनेगलले १० खेलाडीमा सीमित इराकलाई ५-० ले हराउँदै नकआउट चरण पुग्ने सम्भावना जीवित राखेको छ । इराकका रेबिन सुलाकाले पहिलो हाफमै रातो कार्ड पाएपछि सेनेगलले खेलमा पूर्ण नियन्त्रण जमाएको थियो । इस्माइला सार, पापे गुएयेले दुई गोल तथा इलिमान नियायेले एक गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए । पहिलो गोल भने अब्दुलाये सेकको हेडर डिफ्लेक्सन हुँदै गोलमा परिणत भएको थियो ।

समूह ‘आई’ मा तेस्रो स्थानमा रहेको सेनेगलले तीन अंक जोड्दै उत्कृष्ट तेस्रो स्थानका टोलीको सूचीमा आफूलाई बलियो बनाएको छ । यद्यपि अन्तिम ३२ मा स्थान बनाउन उसले अन्य समूहका नतिजामा पनि भर पर्नुपर्ने भएको छ । यस समुहबाट तिनै खेलमा हार बेहोरेर इराक बाहिरिएको छ ।

अब फ्रान्सले नकआउट चरणमा समुह एफ वा जी को तेस्रो स्थानको टिमसँग खेल्ने छ भने नर्वेले आइभरी कोष्टविरुद्ध खेल्ने भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस