• २०८३ बैशाख १४ गते सोमवार

भारत र न्यूजील्याण्डबीच स्वतन्त्र व्यापार सम्झौता

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख १४, काठमाडौं । भारत र न्यूजील्याण्डबीच स्वतन्त्र व्यापार सम्झौता भएको छ । दुवै देशले सोमबार यो सम्झौतामा हस्ताक्षर गरेका हुन् । भारतको तर्फबाट केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल र न्यूजील्याण्डको तर्फबाट व्यापार तथा लगानी मन्त्री टोड म्याक्लेले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सम्झौतापछि पीयूष गोयलले यो सम्झौता मात्र नौ महिनाको छोटो समयमा सम्पन्न हुनु दुवै देशबीचको विश्वास र साझा लक्ष्यको संकेत भएको बताए । उनका अनुसार पछिल्ला साढे तीन वर्षमा यो सातौँ व्यापार सम्झौता हो, अझ केही प्रक्रिया बाँकी रहेका सम्झौताहरू पनि चाँडै अघि बढ्नेछन् ।

उनले आगामी केही महिनामा युरोपेली संघ र संयुक्त राज्य अमेरिकासँग पनि यस्तै सम्झौता अघि बढ्ने संकेत दिए ।

यता न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्जनले यो सम्झौतालाई दुई देशको सम्बन्धमा ऐतिहासिक मोड भनेका छन् । सामाजिक सञ्जालमा उनले यस सम्झौताले न्यूजील्याण्डलाई विश्वका सबैभन्दा सक्रिय बजारमध्ये एकमा नयाँ अवसर खोल्ने बताएका छन् । उनका अनुसार यसले व्यापार, लगानी, नवप्रवर्तन र आपसी सहकार्यलाई अझ विस्तार गर्नेछ र निर्यात बजारलाई विविध बनाउनेछ ।

सम्झौताले भारतका लागि विकास र नयाँ अवसरका ढोका खोल्ने बताइएको छ । यसले भारतीय निर्यातकर्तालाई पहिलो दिनदेखि नै न्यूजील्याण्ड बजारमा कर बिना पहुँच दिनेछ भने भारतीय उपभोक्तालाई न्यूजील्याण्डका उच्च गुणस्तरका उत्पादन सजिलै उपलब्ध हुनेछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस