• २०८३ बैशाख १८ गते शुक्रवार

मोदीलाई रवि र बालेनले पठाएको भन्दै सार्वजनिक पत्रप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १५, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को नाम जोडेर सार्वजनिक गरिएको भनिएको पत्रप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शुक्रबार राति पार्टीका विदेश विभाग प्रमुख शिशिर खनालद्वारा जारी विज्ञप्तिमा सो पत्र पूर्णतः नक्कली, किर्ते र कपोलकल्पित रहेको स्पष्ट पारिएको छ। “दुई जिम्मेवार व्यक्तिहरूको नाम जोडेर परराष्ट्र सम्बन्धजस्तो संवेदनशील विषयमा यस्ता अनर्गल र आधारहीन भ्रम फैलाउनु अत्यन्तै निन्दनीय कार्य हो,” विज्ञप्तिमा उल्लेख छ।

रास्वपाले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक लाभ लिन र नेपाल–भारत द्विपक्षीय सम्बन्धमा खलल पुर्‍याउने उद्देश्यले प्रायोजित प्रचारबाजी गरिएको आरोपसमेत लगाएको छ।

पार्टीले द्विपक्षीय सम्बन्ध र सामाजिक सद्भावमा आँच आउने खालका सामग्रीलाई स्थान नदिन सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ। साथै, निर्वाचनको मुखमा फैलाइएका फेक न्यूज र भ्रामक प्रचारप्रति सचेत रहन सर्वसाधारणलाई अपिल गर्दै यस्ता गतिविधिमा संलग्नमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

“सत्य र तथ्यको पक्षमा उभिनु हामी सबैको साझा दायित्व हो,” विज्ञप्तिमा भनिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस