फागुन १५, काठमाडौं । आगामी निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई काठमाडौं–५ मा ठूलो धक्का लागेको छ । रास्वपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहिसकेका प्रणय राणासहित उनका निकट नेताहरूले पार्टी परित्याग गरेपछि सो क्षेत्रमा पार्टीभित्र असन्तुष्टि चुलिएको हो ।

केही दिनअघि राणाले पार्टी छाडेका थिए भने शुक्रबार मात्रै संस्थापक क्षेत्रीय संयोजकसहित १४ जना नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिने नेताहरूले पार्टीभित्र बेथिति सुधार हुनुको सट्टा अनियमितता बढ्दै गएको आरोप लगाएका छन् । विशेषगरी प्रतिनिधिसभा उम्मेदवार छनोट प्रक्रियाको आवरणमा आर्थिक अनियमितता भएको दाबी गर्दै उनीहरूले नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् ।
उनीहरूले लोकतन्त्र र सुशासनको वातावरण निर्माण गर्ने मूल उद्देश्यबाट पार्टी विचलित भएको आरोप लगाउँदै स्थानीय तहका गतिविधिबाट आहत बनेको उल्लेख गरेका छन् । “पार्टीको वर्तमान कार्यशैलीप्रति गम्भीर असहमति जनाउँदै आजैबाट लागू हुने गरी राजीनामा दिएका छौँ,” राजीनामापत्रमा उल्लेख छ । राजीनामा दिनेमा संस्थापक क्षेत्रीय संयोजक मधुसुदनध्वज खड्का, बूढानीलकण्ठ नगरपालिका–३ का नगर प्रतिनिधि राम श्रेष्ठ, वडा नम्बर ३ की जया श्रेष्ठ, वडा नम्बर ४ का सदस्यहरू समिप घले र कवि थापामगर रहेका छन् ।
त्यसैगरी बूढानीलकण्ठ नगरपालिका–७ की वडा पदाधिकारी प्रतिभा सेढाईं, वडा सदस्य किरण थापा, टोखा नगरका सदस्य चिरञ्जीवी अधिकारी, लेखा सदस्य सिर्जना बस्नेत र शोभा सुवेदी, वडा नम्बर ४ का प्रभात महर्जन, राजेश थापा तथा अञ्जना बोगटीले पनि सामूहिक राजीनामा दिएका छन् ।
उनीहरू रास्वपाका पूर्वउम्मेदवार प्रणय राणानिकट मानिन्छन् । राणा हालै नेपाली कांग्रेस मा प्रवेश गरेका थिए ।