• २०८३ भाद्र २१ गते आइतवार

विराटनगरमा रवि र बालेनको तस्बिर अंकित १,५०० थान टी–सर्ट जफत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १५, विराटनगर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा र मौन अवधि सुरु हुनै लाग्दा विराटनगरमा प्रहरी आक्रामक बनेको छ । होली पर्वको पूर्वसन्ध्यामा बिक्रीका लागि राखिएका राजनीतिक सन्देश र नेताहरूको तस्बिर अंकित टी–सर्ट तथा भेष्टहरू निर्वाचन आचारसंहिताविपरीतका प्रचार सामग्री बन्न सक्ने ठहर गर्दै प्रहरीले जफत गरेको हो । प्रहरीका अनुसार विराटनगरका पसलहरूबाट १ हजार ५ सय थान टी–सर्ट तथा भेष्ट नियन्त्रणमा लिइएको छ ।

ती सामग्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को संयुक्त तस्बिर छापिएको थियो । केही सामग्रीमा उनीहरूको नाम र राजनीतिक सन्देशसमेत उल्लेख गरिएको पाइएको प्रहरीले जनाएको छ ।

बालेन झापाको निर्वाचन क्षेत्र नम्बर ५ र रवि चितवनको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार होली सुरु हुने दिन फागुन १८ गतेदेखि मौन अवधि लागू र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने सन्दर्भमा बजारमा यस्ता सामग्री खुला रूपमा बिक्री हुँदा अप्रत्यक्ष रूपमा मतदातामाथि प्रभाव पार्न सक्ने जोखिम देखिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस