• २०८३ असोज १० गते शनिवार

राराब क्याम्पस प्रमुखविरुद्ध विद्यार्थीहरु धर्नामा, मनपरी खर्च गरेको आरोप

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज १०, जनकपुरधाम। सुजनकपुरधामस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतका रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब) क्याम्पसका विद्यार्थीहरु क्याम्पस प्रमुख तथा कर्मचारीहरुविरुद्ध विरोध प्रदर्शन गर्दै धर्नामा उत्रेका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का पूर्वसभापति मनिष यादवको नेतृत्वमा क्याम्पसमा अध्ययनरत विद्यार्थी क्याम्पस प्रमुख बसन्त कर्णसहितका कर्मचारीले विद्यार्थीबाट लिइएको विभिन्न शुल्क वापतको रकम दुरुपयोग गरी आर्थिक अनियमितता गरेको आरोप लगाउँदै विरोध प्रशर्दन गर्दै शुक्रवारदेखि धर्नाका बसेका हुन् ।

क्याम्पस प्रमुख कर्ण लगायत कर्मचारीहरुले गरेका खर्चहरुको हिसाब पारदर्शी गर्नुपर्ने र अनुचित खर्च गरिएका सम्बन्धित रकम फिर्ता गर्नुपर्ने, दोषीमाथि कारवाही सहित क्याम्पस प्रमुखको राजनीमा माग गर्दै क्याम्पस गेट अगाडि धर्नामा बसेका छन् ।

स्ववियू पूर्व सभापति यादवले भने ‘क्याम्पस प्रमुख कर्णले होटल तथा विभिन्न कन्स्ट्रक्सनको नाममा ठेकेदारसँग मिलोमतो करोडौ रुपैया दुरुपयोग गरी खर्च गरेको छ । विद्यार्थीबाट लिइएको रकम क्याम्पसको विकासमा खर्च गर्ने हो न कि होटल र लजमा मौजमस्ती गर्न ।’

उनले उपलब्ध गराएको गत आर्थिक वर्ष २०८२-०८३ लेखा परीक्षणको टिडीएस अनुसार विवरणअनुसार निर्मला श्रेस्ठ भन्ने व्यक्तिलाई ४०  लाख ८५ हजार ६६५, शारदा देवी लामिछानेलाई ८ हजार ६ सय रुपैया उपलब्ध गराएको हो । ती रकम के कुन प्रयोजनाका लागि दिइएको हो भनी आवाज विद्यार्थीहरुले उठाइरहेको छ ।

यसका साथै होटलमा खाना, खाजा तथा आवासमा मात्रै ९ लाखभन्दा बढी  रकम खर्च ती विवरणमा उल्लेख छ । विवरणअनुसार होटल सीताशरणलाई १ लाख २१ हजार ४ सय, रोशन भोजनालयलाई १ लाख ३० हजार १३० र पटेल अण्डा पसललाई मात्रै २ लाख ७१ हजार ४६५ रुपैया खर्च गरिएको छ ।

यी बाहेक आरती किराना तथा कस्टेमिक पसललाई ५ लाख ३ हजार ३२० रुपैया र विराट एसी बसलाई १ लाख ४८ हजार ३३५ रुपैया भुक्तानी गरिएको विवरणमा उल्लेख छ ।

विद्यार्थीहरुले होटलमा ९ लाख रुपैया भन्दा बढी र कस्टेमिक पसलमा के यस्ता सामान गरियो जसको ५ लाख रुपैयाभन्दा बढी र बसको यात्रा के प्रयोजनका लागि कसले गरियो जसका लागि १ लाख ४८ हजार रुपैया भुक्तानी गर्नुपरेको हो भन्नेमा प्रश्न उठाएका छन् ।

आन्दोलनरत विद्यार्थीहरुले क्याम्पस प्रमुख कर्णलाई अविलम्ब राजीनामा गराई घटनाको निष्पक्ष छानबीन गरी विद्यार्थीबाट उठाइएको शुल्क दुरुपयोग गर्ने कर्मचारीलाई कारवाही गर्नुपर्ने माग गर्दै माग सम्बोधन नभए आन्दोलनमा चेतावनीसमेत दिएका छन् ।

यता क्याम्पस प्रमुख कर्णले यसअघि बिहीवार आफूमाथि गलत आरोप लगाएको भन्ने ध्यानाकर्षणपत्र जारी गर्दै जनाएको छ । उनले केही व्यक्तिले आफ्नो स्वार्थ पूर्ति हुन नसकेको कारण भ्रामक खबर फैलाएको दाबी गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस