परिवार आखिर के हो त ? एउटै छानामुनि बस्ने मानिसहरूको भीड मात्र हो कि सुखमा हाँस्ने र दुःखमा आँसु पुछ्ने सम्बन्धको नाम हो परिवार ? अनि समाज के हो ? सडकमा भेटिँदा नमस्कार गर्नेहरूको जमात हो कि अप्ठ्यारो पर्दा ढाडस दिने आत्मीयताको सञ्जाल ?

कहिलेकाहीँ एउटा घटनाले यी प्रश्नको उत्तर खोज्न हामीलाई बाध्य बनाउँछ अनि समाज र पारिवारिक परिवेश बुझ्न झन कठीन हुन्छ ।
पारिवारिक परिबेससंगै हाम्रो समाज कता जाँदैछ भन्ने कुरा एउटा उदाहरण भारतको हरियाणा स्थित सोनीपतको एउटा वृद्धाश्रममा पूर्व कपडा व्यवसायी शिव चरण राम गुप्ताको जीवनको अन्तिम अध्याय अत्यन्त पीडादायी ढंगले समाप्त भएको घटनाबाट शुरु हुन्छ । उनले जीवनभर मेहनत गरे, आफ्ना तीन छोरीलाई पढाए, हुर्काए र आफ्नो खुट्टामा उभिन सक्ने बनाए । तर जीवनको उत्तरार्धमा उनी श्रीमतीसहित वृद्धाश्रम पुगे । श्रीमतीको त्यहीँ मृत्यु भयो । त्यसपछि शिव चरण एक्लिए ।
बुबाको अन्तिम समयमा छोरीहरू टाढा थिए । आश्रमका अनुसार स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि छोरीहरूलाई खबर गरिएको थियो । तर उनीहरू प्रत्यक्ष आउन सकेनन् । अन्ततः बुबाको अन्तिम संस्कार वृद्धाश्रमका कर्मचारी र सहयोगीहरुले गरे । छोरीहरूले मोबाइलको स्क्रिन बाट बुबाको अन्तिम विदाइ हेरे । हेर्नुस त बिडम्बना ! एक छोरीले अन्तिम संस्कारका लागि रु. ५,१०० पठाइन् ।
कस्तो विडम्बनाको त्यो अकल्पनीय क्षण !
जसले छोरीहरूको भविष्य बनाउन जीवन खर्चियो, उसको जीवनको अन्तिम क्षणमा उसको छेउमा परिवार थिएनन् । जसको हात समातेर छोरीहरू हुर्किए, अन्तिम यात्रामा त्यही हात समात्ने कोही भएन । बुबाको चिताको आगो वास्तविक ठाउँमा बलिरहेको थियो, तर छोरीहरूका आँखा अगाडि त्यो दृश्य मोबाइलको स्क्रिनमा थियो ।
यो घटना छोरीहरूलाई दोष लगाउने कथा मात्र होइन । यो बदलिँदो पारिवारिक संरचनामाथिको गम्भीर प्रश्न पनि हो । आधुनिक जीवनले मानिसलाई अवसर दिएको छ, शिक्षा दिएको छ, रोजगारी दिएको छ, विश्वभर फैलिने स्वतन्त्रता दिएको छ तर त्यससँगै परिवारभित्रको भौतिक दूरीसँगै भावनात्मक दूरी पनि बढ्दै गएको त होइन भन्ने आभास पनि छाएको छ ।
हिजो संयुक्त परिवार थियो । घरमा हजुरबा–हजुरआमा, बाबुआमा, छोराछोरी र आफन्तको बाक्लो उपस्थिति हुन्थ्यो । दुःख पर्दा छिमेकी आउँथे, बिरामी पर्दा आफन्त जुट्थे, मृत्यु हुँदा गाउँ नै मलामी जान्थ्यो । आज घर ठूलो हुन सक्छ, बैंक खातामा पैसा हुन सक्छ, हातमा महँगो मोबाइल हुन सक्छ; तर एउटै घरभित्र पनि मानिसहरू एकअर्काका लागि अपरिचित हुँदै गएका छन् ।
मोबाइलले संसारलाई नजिक ल्यायो, तर कतै आफ्नै परिवारलाई टाढा त बनाएन ?
‘बुबा, तपाईंलाई कस्तो छ ?’ भन्ने एउटा फोनले वृद्ध आमाबुबाको दिन उज्यालो बनाउन सक्छ तर प्रविधिले भेटघाटको स्थान लिन सक्दैन । भिडियो कलले अनुहार देखाउन सक्छ, तर न्यानो माया दिन सक्दैन । मोबाइलले आवाज सुनाउन सक्छ, काँधमा टाउको राखेर ‘म छु नि’ भन्न सक्दैन ।
सम्पत्ति छोडेर जाने हो । घर पनि छोडेर जाने हो । पद, प्रतिष्ठा र पैसा पनि यहीँ छुट्छ । अन्तिम यात्रामा साथ जाने भनेको सम्बन्धको न्यानोपन हो ।
शिव चरणको कथा एउटा परिवारको मात्र कथा नबनोस् । यो हाम्रो समाजका लागि ऐना बनोस् । आधुनिक बन्नु गलत होइन, स्वतन्त्र भएर बाँच्नु पनि गलत होइन । तर आधुनिकताको नाममा बाबुआमाको माया, परिवारको जिम्मेवारी र मानवीय संवेदना गुमाउनु चाहिँ कस्तो प्रगति हो ?
आज प्रश्न शिव चरणको चिताबाट उठेको छ –
हामी साँच्चै आधुनिक हुँदैछौँ कि केवल एक्लिँदैछौँ ?
कतै यस्तो दिन नआओस्, जब बाबुआमा वृद्धाश्रमको झ्यालबाट मोबाइल हेर्दै सन्तानको फोन कुरि र सन्तान हजारौँ किलोमिटर टाढाबाट मोबाइलको स्क्रिनमा बुबाआमाको अन्तिम विदाइ हेरेर आफूलाई सान्त्वना दिऊन् ।
किनकि परिवारको मृत्यु सधैँ चितामा हुँदैन ।
कहिलेकाहीँ परिवार जीवितै हुन्छ तर सम्बन्धहरू मरिसकेका हुन्छन् ।
(लेखक खिमराज गिरी यस khabar24nepal।com काे सम्पादक हुनुहुन्छ । )