• २०८३ असार १२ गते शुक्रवार

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १७ मिनेट

असार १२, काठमाडौं ।  आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि राजनीतिक दलको सदस्य नबनाउन सार्वजनिक अपिल गरेको छ । प्रतिष्ठानले संविधान, कानुन र अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत बालबालिकालाई पार्टी सदस्य बनाउने कार्य आपत्तिजनक र लज्जास्पद भएको जनाएको छ । नेपाली कांग्रेसले डिजिटल प्रणालीमार्फत सुरु गरेको नयाँ क्रियाशील सदस्यता वितरणमा पार्टीको सिद्धान्त र नीतिप्रति प्रतिबद्ध नेपाली नागरिकले मात्र क्रियाशील सदस्यता प्राप्त गर्न सक्ने र त्यसका लागि अनिवार्य रूपमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने स्पष्ट गरिएको समेत उल्लेख गरिएको छ । विज्ञप्तिमा नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र बालबालिका सम्बन्धी ऐन, २०७५ ले राजनीतिक दलको सदस्य बन्न कम्तीमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था गरेको उल्लेख गरिएको छ । साथै, नेपाल पक्ष राष्ट्र रहेको संयुक्त राष्ट्रसंघीय बाल अधिकारसम्बन्धी महासन्धिले पनि बालबालिकालाई राजनीतिक स्वार्थ र दलीय प्रयोगबाट टाढा राख्नुपर्ने व्यवस्था गरेको स्मरण गराइएको छ । यी कानुन र अन्तर्राष्ट्रिय प्रतिबद्धताको पालना गर्नु सत्ता र प्रतिपक्ष दुवैको साझा दायित्व भएको जनाएको छ । कुनै पनि दलले बालबालिकालाई सदस्य बनाएमा सम्बन्धित दलसँगै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छविमा समेत नकारात्मक असर पर्ने उल्लेख गरिएको छ । विज्ञप्तिमा प्रधानमन्त्री आबद्ध दलको सदस्यता विवरणमा संविधान, कानुन र बाल अधिकारसम्बन्धी व्यवस्थाविपरीत अवस्था देखिएको दाबी गर्दै त्यसबारे प्रधानमन्त्रीले सार्वजनिक जवाफ दिनुपर्ने र कानुन कार्यान्वयनमा सक्रियता देखाउनुपर्ने अपेक्षा गरिएको छ । साथै सदस्य संख्या बढाउने प्रतिस्पर्धाका नाममा बालबालिकाको अधिकार हनन गर्ने र कानुनविपरीत गतिविधि नगर्न सबै राजनीतिक दल तथा आफ्ना पार्टीका सबै तहका समितिलाई आह्वान गरेको छ । बालबालिकाको अधिकार संरक्षण र सुरक्षित तथा बालमैत्री वातावरण निर्माणमा सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन महाधिवेशनको बन्दसत्रमा महामन्त्री कविन्द्र बुर्लाकोटीले पेश गरेको प्रतिवेदनमा पार्टीका करिब ६ प्रतिशत सदस्य १८ बर्षभन्दा मुनिका भएको उल्लेख भएपछि यो विषय चर्चामा रहेको छ ।

२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनले पधाधिकारीमा सभापति रवि लामिछानेसहितलाई चयन गरेको छ । लामिछाने निर्बिरोध निर्वाचित भएका थिए । त्यस्तै उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्बिरोध निर्वाचित भए भने महिलातर्फ सोबिता गौतम विजयी भएकी छन् । त्यस्तै महामन्त्रीमा विपिन आचार्य विजयी भएका छन् भने सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा डाँगी विजयी भएका छन् । अब सभापति लामिछानेले विधानको व्यवस्था अनुसार एक उपसभापति, एक महामन्त्री, २ सहमहामन्त्री, एक प्रवक्ता, ३ सहप्रवक्ता, एक कोषाध्यक्ष र २ सहकोषाध्यक्ष मनोनित गर्ने छन् । त्यस्तै महाधिवेशनले ९९ केन्द्रीय सदस्य समेत निर्वाचित गरेको छ । १५८ सदस्यीय केन्द्रीय समितिमा लामिछानेले अब ५१ सदस्य मनोनित गर्ने छन् । त्यसैगरी विधानको व्यवस्था अनुसार वरिष्ठ नेतामा बालेन्द्र शाह मनोनित हुनेछन् ।

३- भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि ज्यान गुमाउनेको संख्या ५८९ पुगेको छ । कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले दिएको जानकारीअनुसार भूकम्पमा परी हजारौ घाइते भएका छन् । भूकम्पपछि उद्धार टोली भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धारमा निरन्तर खटिएको छ । विशेषगरी भूकम्पपछिको ७२ घण्टालाई उद्धारका लागि सबैभन्दा महत्त्वपूर्ण समय मानिने भएकाले त्यस अवधिमा तीव्र रूपमा खोजी कार्य भइरहेको छ । अधिकारीहरूले भग्नावशेषबाट थप शव फेला पर्ने सम्भावना रहेकाले मृतकको संख्या अझै उल्लेख्य रूपमा बढ्न सक्ने बताएका छन् । उद्धार र राहत कार्यलाई तीव्र बनाइएको छ भने प्रभावित क्षेत्रमा आपत्कालीन सहायता पनि निरन्तर पुर्‍याइँदै छ । विभिन्न रिपोर्ट अनुसार भेनेजुएलामा भूकम्पपछि करिब ४० हजार सम्पर्कविहीन रहेका छन् । तर सरकारले पर्याप्त सुचनाको अभावआमा यकिन आँकडा भन्न नसकिने बताएको छ । हाल संयुक्त राष्ट्रसंघदेखि विश्वका कैयौं देशले उद्धार टोली भेनेजुएला पठाएका छन् ।

४- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) प्रतियोगिताको तेस्रो संस्करणको अक्सनका लागि खेलाडी दर्ता खुला गरेको छ । क्यानले हालै फ्रेन्चाईज टोलीबाट रिलिज भएका खेलाडी तथा एनपीएल अक्सनमा सहभागी हुन चाहने सम्पुर्ण नेपाली खेलाडीहरुले https://npl-t20.com/registration लिंक मार्फत आफ्नो नाम दर्ता गराउन आग्रह गरेको छ । अक्सन प्रकृयामा सहभागी हुने खेलाडीहरुलाई A, B, C गरी ३ श्रेणीमा विभाजन गरिएको र खेलाडीहरुले आफ्नो ईच्छा अनुरुप कुनै पनि श्रेणीमा आफ्नो नाम दर्ता गराउन सक्ने क्यानले बताएको छ । क्यानले जुलाई १ सम्म नाम दर्ता गर्न सकिने जानकारी दिएको छ । साथै खेलाडी दर्ता शुल्क प्रति खेलाडी एक हजार तोकिएको छ । क्यानले तेस्रो सिजनको खेलाडी अक्सन यहि असार २२ गते गर्ने यसअघि नै घोषणा गरेको छ ।

५- काठमाडौँ महानगरले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप उपलब्ध गराएको छ । आज कार्यवाहक प्रमुख सुनिता डंगोल अस्पतालमा पुगेर खोप प्रदान गरेकी हुन् । खरिद प्रक्रियाका कारण खोप अभाव हुन सक्ने देखिएकोले हामीले महानगरपालिकासँग सहयोग मागेको बताउदै अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले अस्पतालमा दैनिक २ सय जनाभन्दा धेरै व्यक्तिहरु रेविज विरुद्धको खोप लगाउन आउने र महानगरपालिकाले प्रदान गरेको खोपले हामी करिब ९ दिनको सेवा सञ्चालन गर्न सक्ने बताए । माग गरेपछिको ७ दिनभित्रै महानगरपालिकाले खोप प्रदान गरेको छ । यसबाट अस्पतालको सेवालाई थप सहज बनाएको डा. बास्तोलाले बताए । अस्पतालले खोप खरिद प्रक्रियामा रहेको र स्टोरमा मौज्दाज खोप न्यून रहेकोले खोपको अभाव हुने परिस्थिति आउन नदिन महानगरपालिकासँग खोप माग गरेको थियो ।

६- प्रतिनिधिसभा बैठक फेरि सारिएको छ । शनिबार बिहान ११ बजे बस्ने गरि तोकिएको बैठक फेरि सारेर आइतबार बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम ३ अनुसार शनिबारका लागि सारिएको बैठक आइतबार बस्ने गरी सभामुख डोलप्रसाद (डीपी) अर्यालले सारेका हुन् । यसअघि विहिबारका लागि तोकिएको बैठक आजका लागि तोकिएको थियो । आज बिहान सूचना प्रकाशित गर्दै बैठक शनिबार बिहान ११ बजे बस्ने तोकिएको थियो । सत्तारुढ रास्वपाका अधिकांश सांसदहरू महाधिवेशनका लागि चितवनमा रहेकाले संसद बैठक बस्दै सारिएको छ ।

७- नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ को सिरिज र युके प्रिपेरेसन टूरको लागि रोहित पौडेलको कप्तानीमा नेपाली टिमको घोषणा गरेको छ । क्यानले १५ सदस्यीय टिममा विनोद भण्डारी र अर्जुन कुमाललाई समावेश गरेको छ । त्यस्तै साहब आलम, हेमन्त धामी, आकाश चन्द, युवराज खत्री र सन्दीप जोरालाई वैकल्पिक खेलाडीको रुपमा राखेको छ । नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ सेख, इशान पाण्डे, आरिफ सेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजबंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन् । यस टूर अन्तर्गत नेपालले जर्सीसँग जुलाई १३ र १५ मा दुई अभ्यास खेल खेल्ने तालिका छ भने लिग-२ को सिरिजमा जुलाई २१ देखि ३१ जुलाईसम्म नेदरल्याण्डस र नामिबियासँग नेदरल्याण्डसमा खेल्ने छ । नेपाल लिग-२ मा हाल २८ खेलमा २४ अंकसहित पाँचौं स्थानमा छ ।

८- स्याङ्जाको वालिङ नगरपालिका–७ लभ्लीडाँडास्थित मिर्दी–चापाकोट सडकखण्डमा डबल क्याप बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । ताप्केतर्फबाट वालिङ आउँदै गरेको बा.आ.अ. ७९०५ नम्बरको बोलेरो जिप सडकछेउमा पल्टिँदा वालिङ नगरपालिका–७ निवासी २५ वर्षीय राजेन्द्र बिरकट्टाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिपमा चालकसहित २२ जना सवार थिए । दुर्घटनामा घाइते भएका सबैलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारका लागि लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि १७ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ भने दुई जनालाई बुटवल पठाइएको छ । एक बालकको भने प्राथमिक स्वास्थ्य केन्द्र वालिङमै उपचार भइरहेको छ । पोखरा रिफर गरिएकामध्ये वालिङ-७ की ४६ वर्षीया रुपकला सारू, रुपन्देही गैडाहवा गाउँपालिका-४ की ५५ वर्षीया सुमित्रा गुरुङ र नवलपरासी (पूर्व) कावासोती नगरपालिका-५ की ४१ वर्षीया मायादेवी सुनारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको अवस्था मध्यम रहेको छ । दुर्घटनामा संलग्न जिप चालक वालिङ–७ निवासी २८ वर्षीय मीनबहादुर सारूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

९- नेप्सेमा आजपनि अंकमा गिरावट आएको छ । आज शुक्रबार नेप्से २ अंकले घटेर २६४९.५१ विन्दुमा पुगेर रोकिएको छ । आज ३५९ कम्पनिका ७७ लाख २७ हजार ६४९ कित्ता शेयर ३ अर्ब ४९ करोड ५८ लाख ४ हजार ५५२ मा कारोबार भएको थियो । आज होटल्स, हाइड्रो, म्युचुअल फन्द, निर्जीव वीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।आज, सबैभन्दा बढी स्नो रिभरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने टक्सार पिखुवा खोला हाइड्रो र याम्बालिङ हाइड्रोको शेयर १४.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कालिका लघुवित्तको शेयर १०.७६ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी ग्लोबल आइएमई डिभेन्चर २०८६/८७ को ३३ करोड ३१ लाख बराबरको कारोबार भएको छ भने ग्लोबल आइएमई डिभेन्चर २०८४/८५ को २८ करोड ५७ लाख बराबरको कारोबार भएको छ ।

१०- एलन मस्कको स्वामित्वमा रहेको स्टारलिंकले भेनेजुएलाका भूकम्प प्रभावित क्षेत्रमा एक महिनासम्म निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेको छ । कम्पनीले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै प्रभावित क्षेत्रमा सञ्चार सेवा पुनः सञ्चालन गर्न स्याटेलाइट इन्टरनेटमार्फत इन्टरनेट पहुँच विस्तार गर्ने काम भइरहेको जनाएको छ । स्टारलिंकले भूकम्पका कारण सञ्चार सेवा अवरुद्ध भएका स्थानमा इन्टरनेट जडान पुनःस्थापना गर्न प्राथमिकता दिइरहेको बताएको छ । प्राकृतिक विपद्का बेला सञ्चार सेवा सहज बनाउन कम्पनीले यसअघि पनि विभिन्न देशमा यस्तै सहयोग गर्दै आएको छ । स्टारलिंकको स्याटेलाइट इन्टरनेट सञ्जाल सैन्य तथा गुप्तचर प्रयोजनका साथै दुर्गम र विपद्ग्रस्त क्षेत्रमा सञ्चार सेवा उपलब्ध गराउन पनि प्रयोग हुँदै आएको छ । मोबाइल तथा स्थिर टेलिफोन सेवा अवरुद्ध भएका अवस्थामा यसले इन्टरनेट सेवा पुनः सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गरेको छ । मस्ककै सामाजिक सञ्जाल कम्पनि एक्स भेनेजुएलामा २०२४ देखि लगाइएको प्रतिबन्ध भूकम्पपछि हटाइएको छ ।

११- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश कार्कीले पदाधिकारीको निर्वाचनमा गुटबन्दी गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । महामन्त्रीको उम्मेदवार बनेका कार्कीले अर्को उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुले गुटबन्दीको झल्को दिएको बताएका छन् । उनले यहि अधिवेशनमा सभापतिले उदघाटन गर्दै अर्काको लागि भोट माग्ने रास्वपाको पक्का सदस्य हैन भनेको उल्लेख गर्दै सभापतिको भनाइ सेलाउन नपाउदै उम्मेदवारी फिर्ता लिएर अर्कोलाई समर्थन गरिएको र त्यसले सभापतिको भनाइलाई खिल्ली उडाएको बताएका छन् । उनले भनेका छन्- ‘यसले हामीले खराब भनेको गठबन्धनको, प्यानलको झल्को दिन्छ । यो गलत भयो । यसो नगरौँ । चुनाव आउँछ, जान्छ तर पार्टीको विधि, नीति र चरित्र अलिक लामो हुन्छ । त्यसलाई बलियो बनाउने काम नेतृत्वको हो । नेतृत्वले जालझेल गर्ने र गुट बनाउने काम गर्नु हुन्न । हाम्रा कारणले पसिना बगाउँदै, नभएका पैसा सक्दै बसेका प्रतिनिधिहरूको लोकतान्त्रिक चुनावमा भाग लिने अधिकार खोस्न हुन्न ।’ कार्कीले लोकतन्त्रलाई कोठा भित्रको सहमतिले हैन, प्रतिनिधिहरूको मतले सुरक्षित र बलियो बनाउने बताउदै लोकतन्त्रको चरित्र, नीति र विधिका लागि महामन्त्रीमा उम्मेदवारी दिएको बताएका छन् ।

१२- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र नेता शेखर कोइरालाबीच कुराकानी भएको छ । शुक्रबार विराटनगरस्थित कोइराला निवासमा महामन्त्री घिमिरे र कोइरालाबीच पार्टीमा एकता बारे कुराकानी भएको हो । महामन्त्री घिमिरेले पार्टीमा देखिएको विवाद मिलाउने सन्दर्भमा कोइरालासँग भेट गरेका छन् । १५औं महाधिवेशनको तयारीमा रहेको काँग्रेसमा अहिले विशेष महाधिवेशनबाट आएको नेतृत्वले क्रियाशील सदस्यता अद्यावधिक गर्ने निर्णयप्रति देउवा पक्ष र कोइराला पक्ष असन्तुष्ट रहेको छ । तर वर्तमान नेतृत्वले भने अन्तिम पटक असार २० गतेसम्मको समय दिएर अगाडी बढेको छ । कांग्रेसमा देउवा र कोइराला पक्षले भेलाहरू आयोजना गरेपनि काँग्रेसका करिब ७ लाख भन्दा बढीले क्रियाशील अद्यावधिक गरिसकेका छन् ।

१३- नेपाली बजारमा आजपनि सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ८ सयले बढेर तोलाको २ लाख ७९ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ७८ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले घटेर तोलाको ४१८० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४२३५ मा कारोबार भएको थियो ।

१४- अस्ट्रेलियाले पाराग्वेसँग गोलरहित बराबरी खेल्दै फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ । पाराग्वे पनि उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये एक बन्दै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनेको छ । समूह चरणको अन्तिम खेलमा दुवै टोलीले सावधानीपूर्ण खेल खेलेका कारण गोल हुन सकेन । अस्ट्रेलियालाई नकआउट चरण पुग्न एक अंक पर्याप्त थियो भने पाराग्वेलाई पनि अर्को चरणमा पुग्ने सम्भावना कायम राख्न बराबरी अनुकूल रह्यो । पहिलो हाफमा अस्ट्रेलियाले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन । दोस्रो हाफमा पाराग्वेले पनि केही राम्रो आक्रमण गरे पनि दुवै टोलीले जाली चुमाउन सकेनन् । यस नतिजासँगै समूहको उपविजेता बनेको अस्ट्रेलियाले अन्तिम ३२ मा इजिप्ट, इरान र बेल्जियम रहेको समूहको उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ । पाराग्वेले भने हालको अवस्थाअनुसार समूह ‘ई’ को विजेता जर्मनीसँग भेट गर्ने सम्भावना रहेको छ । अब पराग्वेले अन्य समुहको नतिजाको प्रतिक्षा गर्नुपर्ने भएको छ । यसै समुह डी को अमेरिका भने अन्तिम खेलमा टर्कीसँग पराजित भएको छ । शुक्रबार बिहान सम्पन्न खेलमा टर्कीले अमेरिकालाई ३-२ गोल अन्तरले पराजित गरेको थियो । हारपछि पनि अमेरिका ६ अंकसहित शिर्ष स्थानमा रहेर नकआउट चरणमा गएको छ । अब अमेरिकाले बोस्निया हर्जगोभिनासँग खेल्ने छ । त्यस्तै टर्की भने समुहमा चौथो स्थानमा रहदै बाहिरिएको छ ।

१५- विश्वकै धनी व्यवसायी एलन मस्कको सम्पत्ति एक पटक फेरि एक ट्रिलियन डलरभन्दा तल झरेको छ । स्पेसएक्सको ऐतिहासिक प्रारम्भिक सार्वजनिक निष्कासनपछि उनी विश्वकै पहिलो ट्रिलियन डलर सम्पत्ति भएका व्यक्ति बनेका थिए । तर स्पेसएक्स र टेस्लाको सेयर मूल्यमा आएको गिरावटसँगै उनको सम्पत्ति घटेर करिब ९४६ अर्ब डलरमा पुगेको छ । जुन १२ मा रकेट तथा उपग्रह कम्पनी स्पेस एक्सले अमेरिकी सेयर बजारमा प्रवेश गर्दा प्रति सेयर १३५ डलरमा बिक्री सुरु गरेको थियो । पहिलो दिनमै सेयर मूल्य १७६ डलरसम्म पुगेपछि मस्कको कुल सम्पत्ति पहिलो पटक एक ट्रिलियन डलर नाघेको थियो । स्पेसएक्सले उक्त निष्कासनबाट ७५ अर्ब डलर संकलन गरेको थियो । कम्पनीको बजार मूल्य सूचीकृत हुँदा करिब १.७७ ट्रिलियन डलर पुगेको थियो भने कारोबारका क्रममा झन्डै २ ट्रिलियन डलरसम्म पुगेको थियो । मस्कको स्पेसएक्समा करिब ४० प्रतिशत र टेस्लामा झन्डै १२ प्रतिशत स्वामित्व छ । त्यसबेला स्पेसएक्स, टेस्ला र अन्य कम्पनीहरूमा रहेको हिस्सेदारीका आधारमा उनको कुल सम्पत्ति १.१ ट्रिलियन डलरभन्दा माथि पुगेको थियो । त्यो समय मस्कको सम्पत्ति धेरै देशहरूको अर्थतन्त्रभन्दा ठूलो थियो । जुन १६ मा स्पेसएक्सको सेयर मूल्य २२५.६४ डलरसम्म पुगेपछि मस्कको सम्पत्ति करिब १.३२ ट्रिलियन डलरको उच्च स्तरमा पुगेको थियो । तर त्यसपछि कम्पनीको सेयर मूल्य झन्डै ३१ प्रतिशतले घटेर १५६ डलर आसपासमा झर्‍यो । यस गिरावटले मात्रै मस्कको सम्पत्तिबाट अनुमानित ३६३ अर्ब डलर घटाएको बताइएको छ । त्यसपछि उनको कुल सम्पत्ति फेरि एक ट्रिलियन डलरभन्दा तल झरेको हो । जुन २२ मा स्पेसएक्सको सेयर एकै दिन १६ प्रतिशतभन्दा बढीले घटेको थियो । यसले कम्पनीको बजार मूल्यबाट करिब ४०० अर्ब डलर घटेको थियो । सोही दिन मात्र मस्कको सम्पत्ति करिब २४० अर्ब डलरले घटेको थियो । यता टेस्लाको सेयर पनि कमजोर बनेको छ। जुन १६ यता टेस्लाको सेयर ४.१४ प्रतिशतले घटेको छ भने सन् २०२६ को सुरुदेखि हालसम्म सात प्रतिशतभन्दा बढीले गिरावट आएको छ । विश्लेषकहरूका अनुसार अहिले प्रविधि कम्पनीहरूको कृत्रिम बौद्धिकता क्षेत्रमा भइरहेको अत्यधिक खर्च लगानीकर्ताको मुख्य चिन्ताको विषय बनेको छ । ठूला प्रविधि कम्पनीहरूले नयाँ कृत्रिम बौद्धिकता प्रणाली विकास गर्न र सञ्चालन गर्न अर्बौं डलर डाटा केन्द्र तथा कम्प्युटिङ पूर्वाधारमा लगानी गरिरहेका छन् । यसले निकट भविष्यमा नाफा अपेक्षाभन्दा ढिलो आउन सक्ने आशंका बढाएको छ । त्यसको प्रभाव स्पेसएक्ससहित प्रविधि क्षेत्रका धेरै कम्पनीका सेयरमा देखिएको छ । विशेषज्ञहरूका अनुसार ठूलो कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासनपछि सेयर मूल्यमा तीव्र उतारचढाव आउनु सामान्य प्रक्रिया हो । स्पेसएक्सको सेयरमा देखिएको गिरावट असाधारण भए पनि भविष्यमा पुनः सुधार हुन सक्ने सम्भावना रहेको उनीहरूको भनाइ छ । विश्लेषकहरूका अनुसार स्पेसएक्सको सेयर मूल्य करिब ६ प्रतिशतले मात्रै सुधार भए पनि मस्कको सम्पत्ति फेरि एक ट्रिलियन डलर नाघ्न सक्छ । हालैको गिरावटका बाबजुद मस्क अझै पनि विश्वकै धनी व्यक्ति रहेका छन् । सन् २०२६ को सुरुदेखि हालसम्म मात्रै उनको सम्पत्तिमा करिब ३२६ अर्ब डलरले वृद्धि भएको ब्लूमबर्गले उल्लेख गरेको छ ।

१६- जारी विश्वकपको समुह एफ बाट तीन देश नकआउट चरणमा प्रवेश गरेका छन् । नेदरल्याण्डसले अन्तिम खेलमा ट्युनिसियालाई ३-१ गोलले पराजित गर्दै समूह विजेताका रूपमा अन्तिम ३२ मा प्रवेश गरेको छ । त्यस्तै जापान र स्विडेन १-१ गोलको बराबरी खेलेपछि जापान ३ खेलमा ५ अंकसहित दोस्रो हुदै नकआउट चरण प्रवेश गरेको छ भने स्विडेन ३ खेलमा ४ अंकसहित तेस्रो हुदै नकआउटमा पुगेको हो । यस समुहमा ट्युनिशिया बाहिरिएको छ । अब नकआउट चरणमा नेदरल्याण्डसको मोरक्कोसँग प्रतिष्पर्धा हुने छ भने जापानले ब्राजिलको सामना गर्ने छ । त्यस्तै स्विडेनले भने नकआउटमा स्वीजरल्याण्डको सामना गर्नसक्ने सम्भावना रहेको छ ।

१७- इक्वेडरले जर्मनीलाई २-१ गोल अन्तरले पराजित गर्दै नाटकीय रूपमा फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ । यस जितसँगै इक्वेडरले अब अन्तिम ३२ मा इंग्ल्यान्डसँग भेट हुन सक्ने सम्भावना बनेको छ । समूह चरणका पहिलो दुई खेलमा गोल गर्न नसकेको इक्वेडरले यसअघि कुरासाओसँग गोलरहित बराबरी खेलेको थियो भने आइभरी कोस्टसँग पराजित भएको थियो । तर निर्णायक खेलमा टोलीले उत्कृष्ट प्रदर्शन गर्दै समूह विजेता बनिसकेको जर्मनीलाई स्तब्ध बनायो । जर्मनीले खेलको दोस्रो मिनेटमै अग्रता लिएको थियो । फ्लोरियन भिर्ट्सको आकर्षक पासमा लिरोय सानेले सहज फिनिस गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । तर इक्वेडरका खेलाडीहरू त्यसअघि अलेक्जान्डर पाभ्लोभिचले पेड्रो भिटेमाथि खतरनाक ट्याकल गर्दा फाउल नदिइएको भन्दै असन्तुष्ट बने । रेफ्रीले खेल जारी राखेपछि थप उत्साहित बनेको इक्वेडरले सात मिनेटपछि बराबरी गोल फर्कायो । निल्सन आङ्गुलोले शक्तिशाली प्रहारमार्फत गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । दोस्रो हाफभरि पनि आक्रामक बनेको इक्वेडरले खेल सकिन १३ मिनेट बाँकी रहँदा विजयी गोल गर्‍यो । कर्नरबाट आएको बलमा जर्मनीका गोलरक्षक मानुएल नोएरभन्दा छिटो प्रतिक्रिया जनाएका गोन्जालो प्लाटाले गोल गर्दै समर्थकलाई उत्सव मनाउने अवसर दिलाए । यस नतिजासँगै समूह चरण पार गर्ने उत्कृष्ट तेस्रो स्थानका टोलीमध्ये पर्न स्कटल्यान्डको सम्भावना भने कमजोर बनेको छ । हारपछि पनि जर्मनी समुहको शिर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको छ । त्यस्तै निकोलस पेपेको दुई गोलको मद्दतमा आइभरी कोस्टले कुरासाओलाई २-० ले पराजित गर्दै इतिहासमै पहिलो पटक फिफा विश्वकपको नकआउट चरणमा स्थान बनाएको छ । समूह ‘ई’ को अन्तिम खेलमा आइभरी कोस्टका लागि सातौं मिनेटमा पेपेले पहिलो गोल गरे भने ६५औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए । यस जितसँगै आइभरी कोस्ट ६ अंकसहित समूहको उपविजेता बन्दै अन्तिम ३२ मा प्रवेश गरेको हो । विश्वकपमा समूह चरणका दुई खेल जितेको यो आइभरी कोस्टको पहिलो अवसर पनि हो । कुरासाओले केही अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ । यद्यपि विश्वकपमा पहिलो पटक अंक जोड्दै टोलीले प्रभावशाली प्रदर्शन गरेको छ ।

१८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले नेपालको लोकतन्त्र, सङ्घीयता र समाबेसितासङ्ग कसैले छेडखानी गरेमा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । रास्वपाले प्रदेस सभा खारेज गर्ने प्रस्ताव महाधिवेशनमा पेश गरेको प्रति टिप्पणी गर्दै सांसद सिंहले त्यसको प्रतिवाद गरेका हुन् । उनले भनेका छन्- ‘जगत जननी सीतामाताको भूमि जनकपुरधामबाट आज फेरि भन्दैछु- नेपालको लोकतन्त्र, सङ्घीयता र समाबेसितासङ्ग कसैले छेडखानी गर्छ भने नेपाली जनताले यसको सशक्त प्रतिरोध गर्नेछन ,जनताले सुशासन र समृद्धि खोजेका छन। हामी हरेक कदममा जनताको साथ हुनेछौं !’ सांसद सिंह रास्वपाको महाधिवेशनमा भने अनुपस्थित रहेका छन् । उनले महाधिवेशनमा उपस्थित नहुनुको कारण बारे भने स्पष्ट गरेका छैनन् । पछिल्लो समय सिंह सरकार र रास्वपा नेतृत्वसँग असन्तुष्ट रहेको उनका सार्बजनिक अभिव्यक्तिबाट बुझ्न सकिन्छ ।

१९- काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा दर्ता नगरी सञ्चालनमा रहेका १५ वटा शैक्षिक परामर्श संस्थामाथि कारबाही गर्दै १८ जना सञ्चालक तथा प्रतिनिधिलाई पक्राउ गरिएको छ । अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका संस्थाबाट उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी परिसरमा पठाइएको हो। पक्राउ परेकामध्ये १४ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं, २ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुर र २ जनालाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ। कारबाहीमा परेका संस्थामा गुरुबा स्टडी ग्लाइडर, लेक्सिको एजुकेसन, पास्कल एजुकेसन, एपिटोम एजुकेसन, मेघाटेक एजुकेसन, स्किल पोइन्ट एजुकेसन, भाइब्रेन्ट एजुकेसन, ड्रिम एजुकेसन, युनिभर्सल गेटवे, भिक्ट्री एजुकेसन, ट्वेन्टी फोर आवर्स एजुकेसन, ग्रिनर एजुकेसन, ग्लोबल इम्प्याक्ट, उरेशी एजुकेसन र ब्लुम अब्रोड रहेका छन् ।

२०- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ८७ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने कोशीमा २ तथा बागमती र लुम्बिनीमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा ८७ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २९ जना घाइते भएका छन् भने काठमाडौँमा २० जना घाइते भएका छन् । त्यस्तै कोशीमा १८ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा ७ जना घाइते भएका छन् भने कर्णाली प्रदेशमा ४ जना, काठमाडौँ बाहेक बागमती प्रदेशमा ७ जना र सुदूरपश्चिममा २ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस