• २०८३ बैशाख १३ गते आइतवार

बलिवुड अभिनेत्री श्रद्धा कपूर र नोरा फतेहीलाई लागूऔषध प्रकरणमा राहत

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख १३, काठमाडौं । सन् २०२२ को चर्चित लागूऔषध प्रकरणमा अभिनेत्री श्रद्धा कपूर र नोरा फतेहीलाई राहत मिल्ने भएको छ । मुम्बई प्रहरीले उनीहरूविरुद्ध कुनै प्रमाण नभेटेपछि नाम हटाउने तयारी गरेको हो ।

सामाजिक सञ्जाल व्यक्तित्व ओर्हान अवत्रमानी, अभिनेता सिद्धान्त कपूर र नेता जीशान सिद्दिकीलाई पनि पूरक आरोपपत्रमा सफाइ दिइने बताइएको छ ।

यो प्रकरण अगस्ट २०२२ मा सुरु भएको थियो । मुम्बई प्रहरीको अपराध शाखा र लागूऔषध नियन्त्रण टोलीले मोहम्मद सलीम मोहम्मद सुहेल शेखलाई पक्राउ गरेको थियो । त्यसक्रममा १ लाख १९ हजार बराबरको मेफेड्रोन बरामद गरिएको थियो । सोधपुछका क्रममा शेखले विभिन्न चर्चित व्यक्तिहरू सहभागी हुने पार्टीमा लागूऔषध आपूर्ति गरेको दाबी गरेका थिए । त्यसपछि अनुसन्धानमा धेरै सार्वजनिक व्यक्तित्वहरूको नाम जोडिएको थियो ।

सन् २०२५ मा श्रद्धा कपूर र नोरा फतेहीसहित केही व्यक्तिसँग लागूऔषध नियन्त्रण टोलीले बयान लिएको थियो । तर अनुसन्धानका क्रममा उनीहरूलाई लागूऔषध सञ्जालसँग जोड्ने कुनै ठोस प्रमाण फेला नपरेको बताइएको छ ।

प्रहरीले प्रारम्भिक आरोपपत्र तीन जनाविरुद्ध दायर गरिसकेको छ भने अब थप पक्राउ परेका दुई अभियुक्त र फरार आरोपितविरुद्ध पूरक आरोपपत्र दायर गर्ने तयारी गरेको छ ।

यस घटनापछि फिल्म क्षेत्रका चर्चित नामहरू जोडिएकाले ठूलो चर्चा भएको थियो । तर प्रमाण अभावमा कलाकारहरूको नाम हटाइने भएपछि प्रकरणमा स्पष्टता आएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस