वैशाख १३, काठमाडौं । बलिवुड अभिनेत्री शनाया कपूरले ‘आँखों की गुस्ताखियाँ’ पछि यस वर्ष अर्को फरक भूमिकामा पनि दर्शकको प्रशंसा बटुलेकी छन् । निर्देशक बेजोय नाम्बियारको फिल्म ‘तू या मैं’मा आदर्श गौरवसँग अभिनय गर्दै उनले प्रभावशाली उपस्थिति देखाएकी हुन् ।

फिल्ममा शनायाले प्रभावशाली पात्र अव्नीको भूमिका निर्वाह गरेकी छन् । उनको पर्दा उपस्थिती, अभिनयको विविधता र आदर्श गौरवसँगको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका छन् ।
फिल्मको एक संवाद ‘तू यदि हो गई क्या, बच्ची ?’ सामाजिक सञ्जालमा विशेष चर्चामा आएको छ । यो संवाद छोटो समयमै दर्शकमाझ लोकप्रिय बनेर विभिन्न मीम, रिल्स र इन्टरनेट चर्चाको हिस्सा बनेको छ ।
सिनेमाघर प्रदर्शनपछि केही दिनअघि ‘तू या मैं’ नेटफ्लिक्समा सार्वजनिक भएको थियो । त्यसपछि पनि फिल्मको लोकप्रियता निरन्तर बढिरहेको छ । भारतमा यो फिल्म पहिलो स्थानसम्म पुगेको छ भने विभिन्न अन्तर्राष्ट्रिय बजारमा पनि शीर्ष सूचीमा परेको छ । शनायाका दृश्यहरू सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेका छन् । दुई हप्तापछि पनि यो फिल्म १२ देशमा शीर्ष १० भित्र रहन सफल भएको छ ।
विशेषगरी शनाया कपूरले रोजेका फरक–फरक कथावस्तुका कारण उनको यात्रा थप चर्चामा आएको छ । ‘आँखों की गुस्ताखियाँ’को रोमान्टिक भूमिकादेखि ‘तू या मैं’को आधुनिक र फरक शैलीसम्म उनले सुरक्षित बाटोभन्दा नयाँ प्रयोग रोजेको विश्लेषण गरिएको छ ।