• २०८३ बैशाख ५ गते शनिवार

इरान पुनः परमाणु हतियार कार्यक्रमतर्फ सक्रिय भएको अमेरिकाको दाबी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १४, काठमाडौं । अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रम पुनः अघि बढाउने प्रयास गरिरहेको संकेत प्राप्त भएको जनाएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सञ्चारकर्मीसँग कुराकानी गर्दै गत वर्ष जुन महिनामा अमेरिकी नेतृत्वमा भएका आक्रमणपछि इरानले परमाणु कार्यक्रम पुनः निर्माण गर्न खोजिरहेको प्रमाण भेटिएको दाबी गरेका हुन् । उनले भने- ‘सिद्धान्त अत्यन्त स्पष्ट छ, इरानसँग परमाणु हतियार हुनुहुँदैन । यदि उनीहरू परमाणु हतियार निर्माणतर्फ अघि बढ्छन् भने त्यो हाम्रो लागि गम्भीर समस्या हुनेछ। त्यस्तो प्रयास भइरहेको संकेत दिने प्रमाण हामीले देखेका छौँ ।’

उनले इरान र अमेरिकाबीच परमाणु कार्यक्रमसम्बन्धी वार्ता हुनुअघि यस्तो बताएका हुन् । दुवै पक्षका प्रतिनिधिबीच बिहीबार जेनेभामा छलफल तय भएको छ । भान्सका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफ र राष्ट्रपतिका ज्वाइँ जारेड कुशनरले सो वार्तामा अमेरिकाको प्रतिनिधित्व गर्दैछन् । उनले वर्तमान प्रशासन इरानको परमाणु कार्यक्रमको विषय कूटनीतिक माध्यमबाट समाधान गर्न चाहेको स्पष्ट पारे । तर आवश्यक परे अन्य विकल्पहरू पनि खुला रहेको संकेतसमेत उनले दिएका छन् । अमेरिका-इरान सम्बन्ध पुनः तनावतर्फ उन्मुख भइरहेका बेला जेनेभा वार्तालाई महत्वपूर्ण रूपमा हेरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस