असोज ९, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालमा हालै आएको विनाशकारी विपद्लाई विश्वका लागि गम्भीर चेतावनीका रूपमा लिन आग्रह गरेका छन्। महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भने, ‘म हिमालयको काखमा रहेको नेपालबाट एउटा गम्भीर चेतावनी बोकेर आएको छु- यो चेतावनी केवल नेपालका लागि मात्र नभई सम्पूर्ण मानवताका लागि हो।’

सम्बोधनका क्रममा उनले विकास, लोकतन्त्र, शान्ति र युवा पुस्ताको आशाबारे मात्रै चर्चा गर्न चाहेको भए पनि देशमा हालै आएको ठूलो विपद्का कारण मृत्यु र विनाशको पीडा बोल्न बाध्य भएको बताए। ‘म आज ती परिवारका बारेमा बोलिरहेको छु, जसले आफ्ना प्रियजन गुमाएका छन् वा कहिल्यै नफर्कने आशामा पर्खिरहेका छन्,’ उनले भने, ‘हिलो, चट्टान र बाढीका बीच आफ्ना आफन्त खोजिरहेका समुदायको पीडा व्यक्त गरिरहेको छु, जहाँ कतिपयका शवसमेत कहिल्यै फेला नपर्न सक्छन्।’
केही मिनेटको बाढी-पहिरोले पुल, सडक, विद्यालय, घर र मानिसहरूको जीविकोपार्जन एकाएक बगाएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले दिगो विकासको लक्ष्यतर्फ अघि बढिरहेको नेपाललाई यस विपद्ले ठूलो धक्का पुर्याएको बताए।
हिमाली समुदायलाई तहसनहस बनाएको यो विनाशकारी घटनालाई ‘माउन्टेन सुनामी’ वा ‘हिमालयन सुनामी’को रूपमा चित्रण गर्दै शाहले भने, ‘भोटेकोसी-त्रिशूली विपद् केवल स्थानीय त्रासदी मात्र थिएन, यो जलवायु संकटबारे विश्वका लागि एउटा ठूलो चेतावनी थियो। के तपाईंहरूले त्यो चेतावनी वास्तवमै सुन्नुभएको छ?’
करिब तीन वर्षअघि सगरमाथाको आधार शिविर नजिकै उभिएर संयुक्त राष्ट्रसङ्घका महासचिवले मानवतामाथि आइरहेको जलवायु संकटबारे चेतावनी दिएको स्मरण गराउँदै प्रधानमन्त्रीले भने, ‘विश्वकै छानोबाट आएको त्यो पुकार पर्याप्त रूपमा सुनिएन। वैज्ञानिकहरूले प्रमाणसहित चेतावनी दोहोर्याए पनि राजनीतिक नेतृत्वले त्यसलाई आवश्यक गति र ठोस कार्यमा रूपान्तरण गर्न सकेन।’
गत महिना नेपालले भोगेको दुःखद परिणाम त्यसैको नतिजा भएको बताउँदै उनले थपे, ‘जलवायु परिवर्तनले संवेदनशील हिमालयको पारिस्थितिक प्रणालीलाई अस्थिर बनाइरहेको छ। पग्लिँदो पर्माफ्रस्ट (स्थायी तुषारो) ले हिमाली भिरालो भागलाई चिरा पारिरहेको छ भने हिमनदीमुनिका संरचना कमजोर भई बरफ र चट्टानको पहिरो जाने जोखिम बढाएको छ।’
प्रधानमन्त्री शाहले हिमालयमा देखिएका यी संकट नेपालको मात्र नभई सिङ्गो विश्वकै साझा चुनौती भएकाले तत्काल ठोस विश्वव्यापी कदम चाल्नुपर्नेमा जोड दिए।