भदौ ९, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक तयार गर्ने क्रममा विभिन्न विश्वविद्यालयका उपकुलपति तथा सरोकारवालासँग छलफल गरेको छ । मंगलबार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालयको स्वायत्तता, सुशासन, शैक्षिक तथा प्रशासनिक सुधार र उच्च शिक्षालाई अनुसन्धानमुखी तथा उत्पादनशील बनाउने विषयमा सुझाव लिइएको थियो ।

छलफलमा सहभागी विज्ञ तथा सरोकारवालाले उच्च शिक्षालाई गुणस्तरीय, अनुसन्धानमुखी, उत्पादनशील र व्यवहारिक बनाउन नीतिगत सुधार आवश्यक रहेको बताएका छन् । विश्वविद्यालयको क्षमता अभिवृद्धि, शैक्षिक गुणस्तर कायम तथा विद्यार्थीलाई प्रतिस्पर्धी बजारमा टिक्न सक्ने बनाउने विषयलाई आगामी कानुनमा प्राथमिकता दिनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।
छलफलमा नेपालको उच्च शिक्षा क्षेत्रको वर्तमान अवस्था, शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धानको विस्तार तथा उच्च शिक्षालाई थप प्रभावकारी र प्रतिस्पर्धी बनाउने विषयमा विचार–विमर्श गरिएको मन्त्रालयले जनाएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलले चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रसँग सम्बन्धित छ वटा विधेयक अघि बढाउने तयारी भइरहेको जानकारी दिएका छन् । बैठकमा विभिन्न विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार, डीन, प्राध्यापक, राष्ट्रिय योजना आयोगका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।