• २०८३ कार्तिक २१ गते शुक्रवार

सञ्जालले जोड्दैछ कि छुटाउँदैछ जीवन ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

विशेषत: सामाजिक सञ्जालले विद्यार्थीलाई असर पारेकै हो त ? यो प्रश्न आज प्रत्येक घरघरको प्रश्न बनेको छ । सामाजिक सञ्जाल अर्थात् फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्रामजस्ता माध्यम नयाँ मिडियाका शक्तिशाली रूपहरु हुन् । यिनलाई जान्नु, बुझ्नु र सही ढंगले प्रयोग गर्नु आजको आवश्यकता पनि हो । समस्या सञ्जालमा होइन, यसको प्रयोग गर्ने हाम्रो बानी र सामाजिक ब्यबहारमा छ ।

विद्यार्थीको हातमा मोबाइल पुग्दा पढाइभन्दा स्क्रोलिङ प्यारो हुन थालेको छ । एकछिन भनेर खोलिएको फेसबुक घण्टौँ बितेको पत्तै हुँदैन । यसको प्रयोगले खासगरी स्व-अध्ययन कमजोर भएको छ । मानिसको ध्यान भङ्ग हुन्छ र किताबसँगको सम्बन्ध बिस्तारै टाढिँदै जानसक्छ । अझ गम्भीर कुरा त परिवारभित्रै देखिन थालेको छ । एउटै घरमा बसेका श्रीमान्–श्रीमती एकअर्कासँग बोल्नुभन्दा मोबाइलसँग कुरा गर्छन् । बच्चा आमाबुबाको काखभन्दा स्क्रिनमा रमाउँछन । घरमा मानिस धेरै हुन्छन्, तर संवाद हराउँदै जान्छ । परिवारमै साइलेन्स, समाजमै साइलेन्सको वातावरण व्यापक रुपमा देखिएको छ ।

सामाजिक सञ्जाललाई छोड्ने होइन, सञ्जालमाथि आफ्नो नियन्त्रण कायम गर्ने हो । मोबाइल हाम्रो सेवक हुनुपर्छ, मालिक होइन । विद्यार्थीले पढाइका लागि, परिवारले संवादका लागि र समाजले सत्य तथा सकारात्मक सूचना फैलाउन सञ्जाल प्रयोग गर्न सके यसको शक्ति वरदान बन्न सक्छ ।

अझ अर्कोतिर भ्यु र लाइकको दौडले अनेकौं विकृति जन्माएको छ । सत्य–तथ्य नबुझी, स्रोत नहेरी, भावनालाई उत्तेजित पार्ने फेक कन्टेन्ट पोस्ट गर्ने प्रवृत्ति बढ्दो छ । मिसइन्फरमेसन, डिसइन्फर्मेसनले एउटा झुटो सूचनाको रुपमा समाजमा भ्रम फैलाउन सक्छ, सम्बन्ध बिगार्न सक्छ र व्यक्तिको चरित्रमाथि समेत प्रश्न उठाउन सक्छ । सामाजिक सञ्जालमा हुने ‘फेसबुक वार’ ले मन कुडिन्छ, सम्बन्ध चिसिन्छ र कहिलेकाहीँ आफ्नै मान्छे पराइझैँ लाग्न सक्छ । प्रश्न उठ्छ कि, के यही हो त आधुनिक जीवन ?

तर सञ्जालको उज्यालो पक्ष पनि उत्तिकै ठूलो छ । आज संसारभरका समाचार केही सेकेन्डमै हाम्रो हातमा आइपुग्छन् । ज्ञान, शिक्षा, रोजगारी, व्यवसाय र सीप सिक्ने अवसर घरमै बसेर प्राप्त गर्न सकिन्छ । गाउँको प्रतिभा संसारसम्म पुग्न सक्छ । नागरिकले आफ्नो आवाज आफैँ उठाउन सक्छन । पत्रकारिता पनि अब केही व्यक्तिको मात्र अधिकार रहेन; मोबाइल बोकेको सामान्य नागरिकले घटनाको सूचना संसारसामु पुर्‍याउन सक्ने वातावरण बनेको छ । तर सूचना दिनु र सत्य समाचार दिनु एउटै कुरा होइन । सूचना जसले जे पनि दिन्छ तर समाचार खास पत्रकारले मात्र दिनसक्छ ।

त्यसैले सामाजिक सञ्जाललाई छोड्ने होइन, सञ्जालमाथि आफ्नो नियन्त्रण कायम गर्ने हो । मोबाइल हाम्रो सेवक हुनुपर्छ, मालिक होइन । विद्यार्थीले पढाइका लागि, परिवारले संवादका लागि र समाजले सत्य तथा सकारात्मक सूचना फैलाउन सञ्जाल प्रयोग गर्न सके यसको शक्ति वरदान बन्न सक्छ ।

अन्ततः जीवन फेसबुकको भित्तामा होइन, आफ्ना मान्छेको आँखामा भेटिन्छ । लाइकले होइन, सम्बन्धले जीवन सुन्दर बनाउँछ । सञ्जालले संसार जोडोस्, तर आफ्नै घर नतोडोस् । कामना । धन्यवाद !

Sharing

प्रतिक्रिया दिनुहोस