असार ११, काठमाडौं । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- स्थानीय तहको अन्तिम कार्यकालमा ९७ प्रतिशत गाउँपालिकाले समयमै बजेट ल्याएका छन् । देशभरका ४६० गाउँपालिकामध्ये ४४६ गाउँपालिकाले कानुनले तोकेको १० असारभित्रै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेको गाउँपालिका राष्ट्रिय महासंघले जनाएको हो । त्यस्तै १४ गाउँपालिका तोकिएको असार १० भित्र बजेट ल्याउन नसकेको महासंघले जनाएको छ । बजेट ढिलाइ हुनुका पछाडि अध्यक्षको अस्वस्थता, पारिवारिक समस्या, प्रमुख प्रशासकीय अधिकृतको सरुवा तथा बजेटमा सहमति जुट्न नसक्नुजस्ता कारण देखिएका छन्। गण्डकी प्रदेशका सबै गाउँपालिकाले समयमै बजेट ल्याएका छन् भने कोशी, मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही पालिका अझै प्रक्रियामै रहेका छन् । समयमै बजेट नल्याउने पालिकाको कार्यसम्पादन मूल्यांकनमा असर पर्ने कानुनी व्यवस्था रहेकाले बाँकी पालिकाहरू पनि केही दिनभित्र बजेट ल्याउने तयारीमा रहेको जनाइएको छ । महासंघका अनुसार कोशी, मधेश र लुम्बिनीका ३-३ गाउँपालिकाले असार १० भित्र बजेट ल्याउन सकेनन भने कर्णाली र सुदूरपश्चिमका २-२ तथा बागमतीका एक गाउँपालिकाले समयमा बजेट नल्याएको महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले जानकारी दिएका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा अन्तरसरकारी वित्तीय व्यवस्थापन ऐन–२०७४ मा हरेक स्थानीय तहले आगामी आर्थिक वर्षका लागि आम्दानी–खर्चको अनुमानित विवरण (बजेट) असार १० भित्र नगरसभा वा गाउँसभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । स्थानीय सरकार सञ्चालन ऐनमा असार १० सम्म बजेट पेस र असारभित्र पारित गरिसक्नुपर्ने भनिए पनि बजेट नल्याएको खण्डमा के हुने भन्ने कुनै व्यवस्था छैन । तर अन्तर सरकारी वित्त हस्तान्तरण ऐन २०७४ ले तोकेको समयमा स्थानीय तहले बजेट नल्याएमा केन्द्र सरकारले उपलब्ध गराउदै आएको अनुदान रोक्का गर्न सक्ने व्यवस्था गरिएको छ ।
२- नेपाली नागरिकता बनाउन झुटो विवरण सिफारिस गरेको आरोपमा मोरङको रंगेली नगरपालिकाका एक वडा अध्यक्ष र एक वडा सदस्य पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रंगेली नगरपालिका–५ निवासी मनुवा कुमार महतोले आफ्नी आमा अधनुनिया महतो भएको भन्दै झुटो विवरण पेश गरेका थिए । सोही विवरणका आधारमा अंगीकृत नेपाली नागरिकताका लागि सर्जमिन सिफारिस गरिएको आरोप छ । जिल्ला प्रशासन कार्यालय मोरङले आवश्यक कारबाहीका लागि उक्त विषय प्रहरीमा पठाएपछि अनुसन्धान सुरु गरिएको हो । यस प्रकरणमा रंगेली नगरपालिका-५ का वडा अध्यक्ष ५५ वर्षीय महानन्द मण्डल र सोही वडाका वडा सदस्य ४६ वर्षीय गणेश ऋषिदेवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै जनामाथि झुटो विवरणका आधारमा नागरिकता सिफारिस प्रक्रियामा संलग्न रहेको आरोप छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
३- भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पबारे विज्ञहरूले थप सतर्कता अपनाउन आग्रह गरेका छन् । बेलायतस्थित डरहम विश्वविद्यालयका प्राध्यापक मार्क एलनले छोटो समयको अन्तरालमा यस्ता दुई ठूला भूकम्प आउनु सामान्य घटना नभएको बताएका छन् । उनका अनुसार पहिलो भूकम्पले भूमिगत भ्रंशरेखामा असर पारेको हुन सक्छ । त्यसबाट अर्को भ्रंशरेखामा दबाब बढेपछि केही समयमै दोस्रो भूकम्प आएको हुन सक्ने अनुमान गरिएको छ । एलनले राजधानी काराकास तथा आसपासका क्षेत्रमा अझै परकम्पन आउने जोखिम कायम रहेको चेतावनी दिएका छन् । भूकम्पपछि भूमिगत भ्रंशरेखाहरूमा दबाब बढेकाले आगामी दिनमा फेरि शक्तिशाली झट्का महसुस हुन सक्ने उनले बताएका छन् । भूकम्पको उच्च जोखिम रहेको क्षेत्रमा पर्ने भेनेजुएलामा क्यारिबियन भू-पटल र दक्षिण अमेरिकी भू-पटल एकअर्कासँग जोडिने भएकाले यस्ता घटना बारम्बार हुने सम्भावना रहने विज्ञहरू बताउँछन् । अमेरिकी भूगर्भ सर्वेक्षण संस्थाका अनुसार दुवै भूकम्प यी दुई भू-पटल एकअर्कासँग ठोक्किने र सर्ने प्रक्रियाका कारण उत्पन्न भएका हुन् । सरल भाषामा भन्नुपर्दा, पृथ्वीभित्र रहेका विशाल चट्टानी तहहरू निरन्तर बिस्तारै सर्दै रहन्छन् । तर ती तह अचानक चिप्लिएर सर्दा जमिन हल्लिन्छ र भूकम्प उत्पन्न हुन्छ । अमेरिकी भूगर्भ सर्वेक्षण संस्थाले भूकम्प कुनै एक बिन्दुमा मात्र सीमित नहुने जनाएको छ । भूमिगत धेरै किलोमिटर क्षेत्रफलमा भू-पटल सर्ने भएकाले व्यापक रूपमा शक्तिशाली कम्पन महसुस हुने गरेको छ । संस्थाका अनुसार यी दुई भूकम्पपछि पनि भूमिगत गतिविधि जारी रहेकाले आगामी केही दिनमा थप परकम्पन आउन सक्ने सम्भावना छ । तीमध्ये केही परकम्पन शक्तिशाली हुन सक्ने चेतावनी पनि दिइएको छ । यसैबीच, भेनेजुएलामा आएको भूकम्पमा मृत्यु हुनेको संख्या १६४ पुगेको छ भने ९७१ जना घाइते भएका छन् । कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले उक्त जानकारी दिदै राहत र उद्धारको काम जारी रहेको बताएकी छन् ।
४- रास्वपाले दोस्रो चरणको निर्वाचन तालिका सार्बजनिक गरेको छ । निर्वाचन तालिकाअनुसार पार्टी पदाधिकारीका लागि राति सवा ९ बजेदेखि मध्यराति सवा १२ बजेसम्म मतदान गर्ने समय तोकिएको छ । पार्टी पदाधिकारी पदको फारम वितरण साँझ ६: ३० बजेदेखि ७ बजेसम्म, उम्मेदवारको प्रारम्भिक नाम प्रकाशित ७: ३० बजे, उम्मेदवारविरुद्ध दाबी विरोध गर्ने समय साँझ ८ बजेसम्म, दाबी विरोधमाथि जाँबुझ सवा ८ बजे, उम्मेदवारको नाम फिर्ता लिने अन्मित समय ८:३० बजे, उम्मेदवारको अन्तिम नामावली साँझ पौने ९ बजे, मौन अवधि सवा ९ बजेसम्म र सवा ९ बजेदेखि सवा १२ बजेसम्म मतदानक ओसंय तोकिएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । त्यस्तै आयोगले मतगणना राति सवा १२ देखि सवा १ बजेसम्म हुने र मतपरिणाम घोषणा राति १:३० बजे हुने जानकारी दिएको छ । यसअघि आजै सम्पन्न पहिलो चरणको मतदानमा भने करिब एक हजार महाधिवेशन प्रतिनिधि अनुपस्थित रहेपछि दोस्रो चरणको मतदानका बारेमा प्रश्न उठिरहेको छ । रास्वपाको पदाधिकारीमा २ उपसभापति, १ महामन्त्री, ३ सहमहामन्त्रीको मात्र निर्वाचन हुने विधानमा व्यवस्था गरिएको छ ।
५- राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले संघीय संसद प्रतिनिधि सभाको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
६- शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजामा उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाङ्क तथा डेटा इन्ट्रीको भेरिफिकेसन गर्न समिति गठन गरेका छन् । मन्त्री पोखरेलले शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाङ्क तथा डेटा इन्ट्रीको भेरिफिकेसन गर्न समिति गठन गरिएको जानकारी दिएका हुन् । मन्त्री पोखरेलले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरिएको दाबि गर्दै आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याई नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको स्पष्ट गरेका छन् । सथौ उनले नतिजाको विषयमा शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्दै गरिएको आन्दोलनप्रति सम्मान व्यक्त गर्दै लोकतान्त्रिक समाजमा आफ्ना आवाज उठाउने अधिकारको सम्मान गरिनुपर्ने बताएका छन् । उनले यस विषयसँग सम्बन्धित केही समाचार तथा सामाजिक सञ्जालका प्रतिक्रियाहरू हेर्दा, विद्यार्थीहरूप्रति गरिएका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीहरूले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । उनले शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न समेत अनुरोध गरेका छन् ।
७- नेप्सेमा आजपनि अंकमा गिरावट आएको छ । आज विहिबार नेप्से ८.५० अंकले घटेर २६५१.५२ विन्दुमा पुगेर रोकिएको छ । आज ३३८ कम्पनिका ६४ लाख ८० हजार ५९९ कित्ता शेयर २ अर्ब ८३ करोड ८२ लाख ७९ हजार ४११ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी टक्सार पिखुवा खोला हाइड्रो र याम्बालिङ हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने कालिका लघुवित्तको शेयर १२.८४ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी बुझुङ हाइड्रोको शेयर ११.०३ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी सोपान फार्माको १२ करोड ७७ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको १२ करोड बराबरको कारोबार भएको छ ।
८- अमेरिका र इरानबीच शान्ति सम्झौता भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटेको छ । कच्चा तेलको मूल्य ३.१ प्रतिशतले घट्दा ब्रेन्ट क्रुडको मूल्य मध्यपूर्व तनाव सुरु भएयताकै पहिलो पटक प्रतिव्यारेल ७५ अमेरिकी डलरभन्दा तल झरेको हो । विश्व बजारमा ब्रेन्ट क्रुड वायदा कारोबार २.३२ अमेरिकी डलरले घटेर प्रतिव्यारेल ७४.७६ अमेरिकी डलरमा पुगेको छ । त्यसैगरी अमेरिकी कच्चा तेलको सूचक वेस्ट टेक्सास इन्टरमिडियट पनि २.१७ अमेरिकी डलर अर्थात् २.९६ प्रतिशतले घटेर प्रतिव्यारेल ७१.०४ अमेरिकी डलरमा कारोबार भएको छ । अमेरिका र इरानबीच जुन १७ मा भएको सहमतिपछि तेलवाहक जहाज होर्मुज जलडमरूमध्य पार गरिरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त मार्गबाट १ करोड ९० लाख ब्यारेल तेल ढुवानी भएको दाबी गरेका छन्, जुन अहिलेसम्मकै उच्च परिमाण रहेको बताइएको छ । ब्रेन्ट क्रुडको मूल्य प्रतिव्यारेल ७४.६१ अमेरिकी डलरसम्म झरेको छ, जुन यो फेब्रुअरी २७ यताकै सबैभन्दा न्यून स्तर हो । सोही अवधिमा इरानमाथि अमेरिका र इजरायलको सैन्य कारबाही सुरु भएको थियो । यस्तै, वेस्ट टेक्सास इन्टरमिडियटको मूल्य पनि घटेर प्रतिव्यारेल ७०.९१ अमेरिकी डलरसम्म पुगेको छ, जुन मार्च ३ यताकै सबैभन्दा कम स्तर मानिएको छ । बजार विश्लेषकहरूका अनुसार होर्मुज जलडमरूमध्यमार्फत तेलवाहक जहाजहरूको आवागमन पुनः सामान्य बन्दै गएपछि आपूर्ति अवरोधको चिन्ता कम भएको छ। यही कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा दबाब परेको र मूल्य घट्ने क्रम देखिएको उनीहरूको भनाइ छ ।
९- नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाले आफुलाई संघियताविरुद्ध उभ्याएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले चुनावमा एउटा वाचा गर्ने र सत्तामा पुगेपछि ठीक विपरीत क्रियाकलाप अघि बढाउने सत्तारूढ दलको यो चरित्रले समाजमा नयाँ राजनीतिक द्वन्द्वको बीउ नरोपोस् भन्ने कुरामा सबै सचेत हुन जरुरी रहेको बताउदै रास्वपाले आफुलाई संघियताविरुद्ध उभ्याएको आरोप लगाएका हुन् । उनले भनेका छन्- ‘चुनावका बेला ‘प्रदेश र स्थानीय तहलाई थप बलियो बनाउने’ दाबी गरेर जनताको मत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो राष्ट्रिय अधिवेशन मार्फत संघीयताकै विरुद्धमा आफूलाई उभ्याउने काम गरेको छ । चुनावमा एउटा वाचा गर्ने र सत्तामा पुगेपछि ठीक विपरीत क्रियाकलाप अघि बढाउने सत्तारूढ दलको यो चरित्रले समाजमा नयाँ राजनीतिक द्वन्द्वको बीउ नरोपोस् भन्ने कुरामा सबै सचेत हुन जरुरी छ । उनले संघीयता आदिवासी जनजाति, मधेसी, दलित र अल्पसंख्यक समुदाय तथा पिछडिएको क्षेत्रको दशकौँ लामो आकांक्षा र संघर्षको परिणाम हो, जसलाई ऐतिहासिक संविधानसभाले संस्थागत गरेको उल्लेख गरेका छन् । साथै उनले निर्वाचनका समयमा गरिएका बाचा विपरितका गतिविवि विरुद्ध एकजुट भई खबरदारी गर्न समेत आव्हान गरेका छन् । रास्वपाको महाधिवेशनको बन्दसत्रमा डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको दस्ताबेजमा प्रदेसको अहिलेको संरचना खारेज गरेर स्थानीय तह प्रमुखको प्रदेश काउन्सिल बनाउनुपर्ने प्रस्ताव गरेपछि राजनीतिक वृत तरंगित बनेको छ ।
१०- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी भएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले पौडेललाई पक्राउ गर्नुको कारण पेश गर्न आदेस दिएको हो । बुधबार सर्वोच्च अदालतमा पौडेलकी पत्नीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग, जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई विपक्षी बनाइएको थियो । पौडेललाई विशेष अदालतले मंगलबार ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । पौडेललाई सम्पत्ति शुद्धिकरण मुद्धामा सोमबार सुर्खेतबाट पक्राउ गरेको थियो ।
११- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य चयनको निर्वाचन जारी रहेका बेला असन्तुष्टि बढ्दै गएको छ । रास्वपा सांसद राजीव खत्रीले मतदान व्यवस्थाप्रति टिप्पणी गर्दै आफ्नै प्रतिद्वन्दीलाई अनिवार्य मत दिनुपर्ने व्यवस्था गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले संसारमा यस्तो मतदान हुदैन होला भन्दै आफ्ना प्रतिद्वन्दीलाई अनिवार्य मत दिनुपर्ने अवस्था रहेको बताएका छन् । उनले नो भोटको धज्जी उडाइएको भन्दै आलोचना गरेका छन् । उनले भनेका छन्- ‘संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छ । No Vote को धज्जी ।’ रास्वपाले नो भोटको वकालत गर्दै आएको भएपनि आफ्नै निर्वाचनमा सो अभ्यास भने गरेको छैन । सांसद खत्री मात्र होइन धादिङकी सांसद आशिका तामाङ, मोरङका सांसद गणेश कार्कीले पनि मतदानमा राखिएको उम्मेदवारको रोलक्रमका विषयमा प्रश्न उठाएका छन् । अहिले पहिलो चरणको मतदान अन्तिम चरणमा पुगेको भएपनि दोस्रो चरणको मतदानसम्म धेरै जस्तो प्रतिनिधि फर्किने अवस्था बनेको देखिएको छ । मतदान व्यवस्था अस्तव्यस्त भएपछि पहिलो चरणको मतदानपछि प्रतिनिधिहरु धमाधम फर्किरहेका छन् ।
१२- सर्वोत्तम पेन्ट्स उद्योग लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट सम्पन्न भएको छ । गोलाप्रथा विधिबाट ७० हजार ५५० जना आवेदकले १०-१० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । कम्पनीको जारी पुँजी ३४ करोड रुपैयाँ रहेको छ । उक्त जारी पुँजीको २५ प्रतिशत अर्थात् ८ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो । कुल सार्वजनिक निष्कासनमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको थियो। त्यसैगरी २ प्रतिशत अर्थात् १७ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो । यी सबै छुट्याइएको सेयरपछि बाँकी रहेको ७ लाख ५ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि वितरण गरिएको हो। उक्त सेयरको बाँडफाँट बिहीबार सम्पन्न भएको कम्पनीले जनाएको छ। आइपिओमा २८ लाख ५० हजार २५ जना आवेदकबाट ३ करोड ५ लाख २७ हजार ५४० कित्ताका लागि वैध आवेदन परेको थियो । यद्यपि ४४ हजार २०७ वटा आवेदनबाट माग गरिएको ५ लाख ५ हजार ६४० कित्ता सेयर बराबरको आवेदन भने अयोग्य ठहरिएको थियो । बाँडफाँट परिणामअनुसार गोलाप्रथा प्रणालीमार्फत ७० हजार ५५० जना आवेदकले जनही १० कित्ता सेयर प्राप्त गरेका छन् । बाँकी आवेदकको हात भने खाली भएको छ । आइपिओको नतिजा सीडीएससी, मेरो सेयरको वेभसाइटबाट हेर्न सकिनेछ ।
१३- नेपाली बजारमा आजपनि सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ५२ सयले घटेर तोलाको २ लाख ७८ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ८३ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५० रुपैयाँले घटेर तोलाको ४२३५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४४८५ मा कारोबार भएको थियो ।
१४- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभा खारेज गर्ने तथा त्यसमार्फत संघीय व्यवस्था कमजोर बनाउने निर्णय गरेको हो भने त्यो गम्भीर भूल हुने बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले संविधान संशोधनका विषयमा पर्याप्त राष्ट्रिय सहमति बिना कुनै एक दलले एकल निर्णय थोपर्न खोजे देशमा विश्वासको संकट उत्पन्न हुन सक्ने चेतावनी दिएका छन् । उनले एकातिर सरकारकै नेतृत्वमा संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न कार्यदल गठन गर्ने र अर्कोतिर आफ्नै दलको निर्णयलाई सबैमाथि लागू गर्न खोज्ने प्रवृत्तिले राजनीतिक दल, विभिन्न जातीय समुदाय तथा आम नागरिकबीच अविश्वास बढाउने बताएका छन् । यस्तो अवस्थाले देशलाई अनिष्टतर्फ धकेल्न सक्ने उनको भनाइ छ । भट्टराईले नेपालजस्तो जातीय, राष्ट्रिय तथा क्षेत्रीय विविधता भएको मुलुकमा लामो संघर्ष र बलिदानपछि निर्वाचित संविधानसभाबाट व्यापक सहमतिका आधारमा स्थापित संघीय व्यवस्थालाई कमजोर पार्ने वा भत्काउने प्रयासले गम्भीर जातीय तथा क्षेत्रीय द्वन्द्व निम्त्याउन सक्ने बताएका छन् । त्यसबाट कसैको पनि हित नहुने उनको तर्क छ । संविधान संशोधनजस्तो संवेदनशील विषयमा अधिकतम राष्ट्रिय सहमति कायम नभएसम्म सुशासन र विकासका मुद्दामा केन्द्रित हुनुपर्ने उनको सुझाव छ । उनले अनावश्यक विवाद सिर्जना गर्नुको सट्टा देशको स्थायित्व, सुशासन र विकासलाई प्राथमिकता दिन बुद्धिमानी हुने बताएका छन् ।
१५- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुने सम्भावित कुनै पनि सम्झौतामा होर्मुज जलडमरूमध्यमा जहाज सञ्चालन वा समुद्री गतिविधिमाथि शुल्क लगाउने व्यवस्था समावेश भए आफूलाई स्वीकार्य नहुने बताएका छन् । नाटोका महासचिव मार्ट रुटको साथमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यस्तो शुल्कको व्यवस्था विश्वका अन्य जलडमरूमध्यहरूमा पनि लागू गर्नुपर्ने अवस्था आउने भएकाले त्यसलाई स्वीकार गर्न नसकिने बताए । उनले यस्तो कदमले वर्तमान अवस्थालाई पूर्ण रूपमा परिवर्तन गर्न सक्ने टिप्पणी गरे । इरानसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको दाबी गर्दै ट्रम्पले अमेरिका हालको द्वन्द्वमा बलियो अवस्थामा रहेको बताए । उनले इरानले महत्वपूर्ण छुट दिन थालेको उल्लेख गर्दै आगामी दिनमा परिस्थितिले कस्तो मोड लिन्छ भन्ने हेर्न बाँकी रहेको बताए । यसअघि ह्वाइट हाउसकी प्रेस सचिवले कच्चा तेलको मूल्य घटेर प्रतिव्यारेल करिब ७० डलरमा पुगेको बताएकी थिइन् । यसबारे प्रतिक्रिया दिँदै ट्रम्पले युद्धका बीचमा पनि तेलको मूल्य घट्नु अप्रत्याशित भएको बताए। उनले इरानले सहकार्यपूर्ण व्यवहार देखाइरहेको दाबी गर्दै आफ्नो मागअनुसार अघि बढ्न बाध्य भएको टिप्पणी गरे । उता, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाएइले अमेरिकी विदेश मन्त्रालयको एक सामाजिक सञ्जाल पोस्टको जवाफ दिँदै अमेरिकी हस्तक्षेप जारी रहेसम्म मध्यपूर्व क्षेत्रमा शान्ति सम्भव नरहेको बताएका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले अमेरिकी सैन्यवाद र हस्तक्षेपले क्षेत्रीय अस्थिरता बढाइरहेको आरोप लगाए । साथै, अमेरिकाको सहयोगी इजरायललाई क्षेत्रभर युद्ध, हिंसा तथा अन्य गतिविधि सञ्चालन गर्न खुला छुट दिइएको भन्दै त्यसले शान्ति स्थापना झन् कठिन बनाएको उनको भनाइ छ ।
१६- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा १६ बमोजिम एन्फाको सदस्यता निलम्बन गरिएको उल्लेख छ । एन्फामा फिफाले तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउदै प्रतिबन्ध लगाएको छ । निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सबै अधिकार गुमाएको छ । निलम्बनसँगै एन्फा तथा यसअन्तर्गतका राष्ट्रिय टोली, क्लब र पदाधिकारीहरू फिफा तथा एशियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतका अन्तर्राष्ट्रिय प्रतियोगिता र गतिविधिमा सहभागी हुन नपाउने भएका छन् । साथै फिफाबाट प्राप्त हुने आर्थिक, प्राविधिक तथा विकाससम्बन्धी सहयोगसमेत रोकिएको छ । एन्फाले आफ्नो निर्वाचनको तयारी गरिरहेका बेला राष्ट्रिय खेलकुद परिषदले निलम्बन गरेपछि विवाद शुरु भएको थियो । पछि जेठ १ गते परिषदले एन्फाको निलम्बन फुकुवा गरेपनि फिफाले दिएको समय सीमा भित्र एन्फालाई स्वतन्त्र रुपमा काम गर्न नदिएको भन्दै निलम्बन गरिएको छ ।
१७- जारी फिफा फुटबल विश्वकपको सहआयोजक मेक्सिकोले दोस्रो हाफमा तीन गोल गर्दै चेक गणतन्त्रलाई ३-० ले पराजित गरेको छ । यस जितसँगै मेक्सिकोले समूह चरणका सबै खेल जित्दै शतप्रतिशत अंकका साथ प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ भने चेक गणतन्त्रको यात्रा समूह चरणमै समाप्त भएको छ । मेक्सिकोले यसअघि दक्षिण अफ्रिका र दक्षिण कोरियालाई पराजित गर्दै अन्तिम खेलअघि नै समूह विजेताको रूपमा स्थान सुरक्षित गरिसकेको थियो । त्यसैले मुख्य प्रशिक्षक हाभियर अग्विरेले टोलीमा केही परिवर्तन गर्ने अवसर पाए । अघिल्लो खेलको तुलनामा सुरुआती टोलीमा समावेश गरिएका पाँच खेलाडीमध्ये एक मातेओ चाभेजले दोस्रो हाफ सुरु भएको केहीबेरमै अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो पहिलो गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाए । प्रतियोगितामा पहिलो पटक सुरुआती टोलीमा मौका पाएका किशोर खेलाडी गिल्बर्टो मोराले पनि उत्कृष्ट प्रदर्शन गरे । मिडफिल्डमा प्रभावशाली देखिएका उनले दोस्रो गोलको अवसर सिर्जना गरेका थिए । मोराको पासमा जोर्ज सान्चेज गोलतर्फ अघि बढे । उनको प्रारम्भिक प्रयास गोलरक्षक मातेय कोभारले रोके पनि चेक गणतन्त्रको गोलक्षेत्रभित्र उत्पन्न भएको अव्यवस्थित अवस्थामा जुलियन किन्योनेसले बललाई जाली चुमाउँदै मेक्सिकोको दोस्रो गोल गरे। यो विश्वकपमा उनको दोस्रो गोल थियो । १७ वर्ष २५३ दिनका मोरा पुरुष विश्वकपको खेल सुरुआत गर्ने इतिहासकै छैटौँ कान्छा खेलाडी बने । साथै, मेक्सिकोका लागि विश्वकपमा सुरुआती टोलीबाट खेल्ने सबैभन्दा कम उमेरका खेलाडीको कीर्तिमान पनि उनले बनाए । ७२औँ मिनेटमा मैदानबाट बाहिरिँदा मोराले दर्शकबाट भव्य सम्मान पाएका थिए । उनको स्थानमा मैदान प्रवेश गरेका आल्भारो फिदाल्गोले १५ यार्ड टाढाबाट आकर्षक प्रहार गर्दै तेस्रो गोल थपे । खेलका गोलबाहेक अज्टेका रंगशालामा सबैभन्दा ठूलो स्वागत ४० वर्षीय गोलरक्षक गुइलेर्मो ओचोआका लागि देखिएको थियो । खेलको अन्त्यतिर वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका उनलाई समर्थकहरूले विशेष सम्मान दिएका थिए । ओचोआ आफ्नो छैटौँ विश्वकप अभियानमा सहभागी भएका छन् । यससँगै उनले पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनेल मेसीको कीर्तिमान बराबरी गरेका छन् । यद्यपि उनी छ विश्वकप टोलीमा परे पनि चार संस्करणमा मात्र मैदानमा उत्रिएका छन् ।
१८- दक्षिण अफ्रिकाले फिफा विश्वकपको नकआउट चरणमा पहिलो पटक स्थान बनाउँदै इतिहास रचेको छ । मोन्टेरेमा भएको समूह चरणको खेलमा दक्षिण कोरियालाई १-० ले पराजित गर्दै दक्षिण अफ्रिका अन्तिम १६ मा पुगेको हो । खेलको दोस्रो हाफमा थापेलो मासेकोले गरेको एकमात्र गोल निर्णायक बन्यो । यस जितसँगै दक्षिण अफ्रिकाले तालिकामा दोस्रो स्थान हासिल गर्यो भने मेक्सिको शीर्ष स्थानमा रहेको छ । पराजित दक्षिण कोरिया भने उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये एक बन्ने आशामा निर्भर बनेको छ । खेलभरि धेरै रोमाञ्चक क्षण देखिएनन् । दक्षिण अफ्रिकाले रक्षात्मक रणनीति अपनाउँदै प्रतिआक्रमणमा अवसर खोज्यो भने दक्षिण कोरियाले बलमा नियन्त्रण कायम गरे पनि आक्रमणको अन्तिम चरणमा प्रभावकारी प्रदर्शन गर्न सकेन । निर्णायक गोल खेलको दोस्रो हाफमा आयो । मासेकोले पेनाल्टी क्षेत्रभित्र बल नियन्त्रणमा लिएपछि बायाँ खुट्टाबाट प्रहार गर्दै विपक्षी खेलाडीको खुट्टाबीचबाट बललाई जाली चुमाए । यसअघि रंगशालाभित्रका सबैभन्दा उत्साहपूर्ण क्षण भने तटस्थ दर्शकका रूपमा उपस्थित हरियो पोसाकधारी मेक्सिकन समर्थकबाट देखिएको थियो । उनीहरूले चेक गणतन्त्रमाथि आफ्नो टोलीले गरेको गोलको खुसी मनाएका थिए । दक्षिण कोरियाले बलमा बढी समय नियन्त्रण राखे पनि स्पष्ट अवसर सिर्जना गर्न सकेन । ओ ह्योन ग्युको कमजोर हेडर र ली काङ इनको सुरुआती प्रहार बाहेक उसले खासै खतरा उत्पन्न गर्न सकेन । यता प्रतिआक्रमणमा खतरनाक देखिएको दक्षिण अफ्रिकाले खेलभरि उत्कृष्ट अवसर सिर्जना गर्यो र जितको पूर्ण हकदार बन्यो । यसअघि सन् २०१० मा आफ्नै भूमिमा आयोजना गरेको विश्वकपपछि पहिलो पटक प्रतियोगितामा छनोट भएको दक्षिण अफ्रिकाले यसअघिका सबै विश्वकप सहभागितामा समूह चरण तेस्रो स्थानमा समाप्त गरेको थियो । तर यसपटक उसले इतिहास बदल्दै पहिलो पटक नकआउट चरणमा स्थान सुरक्षित गरेको छ ।
१९- ब्राजिलले स्कटल्यान्डलाई ३-० गोल अन्तरले पराजित गर्दै विश्वकप फुटबल २०२६ को समूह ‘सी’ विजेता बनेको छ । मियामीमा भएको खेलमा स्कटल्यान्डको कमजोर रक्षापङ्क्तिको फाइदा उठाउँदै ब्राजिलले सहज जित निकालेको हो । समूह चरणबाट इतिहासमै पहिलो पटक नकआउट चरणमा पुग्ने लक्ष्यसहित मैदान उत्रिएको स्कटल्यान्डलाई कम्तीमा एक अंक आवश्यक थियो । तर लगातार भएका रक्षात्मक गल्तीले टोलीको सपना संकटमा परेको छ । अब स्कटल्यान्डको भविष्य अन्य समूहका नतिजामा निर्भर रहनेछ । खेलको सुरुआतमै स्कट म्याकेन्नाले बल नियन्त्रणमा ढिलाइ गर्दा ब्राजिलका युवा खेलाडी रायनले बल खोसेका थिए । त्यसपछि उनले दिएको पासलाई भिनिसियस जुनियरले गोलमा परिणत गर्दै ब्राजिललाई अग्रता दिलाए । त्यसपछि ब्राजिलले खेलमाथि पूर्ण नियन्त्रण कायम राख्दै थप दुई गोल गर्यो र सहज जित सुनिश्चित गर्यो । ब्राजिलका लागि भिनिसियस जुनियरले यस खेलमा २ गोल गरे भने माथेअस कुन्हाले एक गोल गरेका थिए । ब्राजिलका लागि यस खेलमा नेइमार २०२३ पछि पछिलो पटक राष्ट्रिय टिममा फर्किनु सुखद पक्ष रह्यो । जितसँगै ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा रहँदै अन्तिम ३२ मा प्रवेश गरेको छ । पराजित स्कटल्यान्ड भने तीन अंकमा सीमित रहँदै उत्कृष्ट तेस्रो स्थान प्राप्त गर्ने टोलीहरूको सूचीमा पर्ने आशामा रहेको छ । तर त्यसका लागि उसले अन्य समूहका खेलको नतिजा कुर्नुपर्ने अवस्था आएको छ । समूह ‘सी’ को अर्को खेलमा मोरक्कोले हैटीलाई ४-२ ले पराजित गरे पनि समूह विजेता बन्न भने सकेन । ब्राजिलको जितसँगै मोरक्को दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको छ । एटलान्टामा भएको खेलमा विश्व वरियतामा ८३औँ स्थानमा रहेको हैटीले दुई पटक अग्रता बनाएर मोरक्कोलाई दबाबमा पारेको थियो । खेलको १०औँ मिनेटमा लेनी जोसेफको प्रहार मोरक्कोका गोलरक्षक यासिन बोनोमा लागेर जाली चुम्दा हैटीले अग्रता लियो । उक्त गोल आत्मघाती गोलका रूपमा दर्ता भयो । मोरक्कोका लागि अच्राफ हाकिमीले ३९औँ मिनेटमा बराबरी गोल फर्काए । त्यसको तीन मिनेटपछि विल्सन इसिडोरले उत्कृष्ट प्रहारमार्फत हैटीलाई पुनः अग्रता दिलाए । तर पहिलो हाफको अतिरिक्त समयमा इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई २-२ को बराबरीमा ल्याए । दोस्रो हाफमा मोरक्कोले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो। खेल सकिन १२ मिनेट बाँकी रहँदा सुफियान रहिमीले गोल गर्दै टोलीलाई पहिलो पटक अग्रता दिलाए। निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा गेसिम यासिनले अर्को गोल थपेपछि मोरक्कोले ४-२ को रोमाञ्चक जित हात पार्यो । पराजित भए पनि हैटीले प्रतियोगितामा सम्झनलायक प्रदर्शन गर्यो । यसअघि ब्राजिल र स्कटल्यान्डसँग पराजित भइसकेको हैटी प्रतियोगिताबाट बाहिरिसकेको थियो । तर विश्वकपमा ५२ वर्षपछि गोल गर्न सफल हुँदै टोलीले आफ्नो गोल सङ्ख्या दोब्बर बनाएको छ । समूह ‘सी’ बाट ब्राजिल समूह विजेता र मोरक्को उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेका छन् । स्कटल्यान्ड भने उत्कृष्ट तेस्रो स्थान प्राप्त गर्ने टोलीमध्ये पर्न सके मात्र अघिल्लो चरणमा पुग्नेछ भने हैटी प्रतियोगिताबाट बाहिरिएको छ ।
२०- स्विट्जरल्यान्डले सह–आयोजक क्यानडामाथि २-१ को जित निकाल्दै विश्वकप फुटबल २०२६ को समूह ‘बी’ विजेताका रूपमा अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ । भ्यानकुभरमा भएको खेलमा दोस्रो हाफको सुरुआती १२ मिनेटभित्र दुई गोल गर्दै स्विट्जरल्यान्डले लगातार चौथो विश्वकपमा नकआउट चरण पुग्ने उपलब्धि दोहोर्याएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा स्विट्जरल्यान्डले दोस्रो हाफ सुरु भएको एक मिनेटमै अग्रता लियो । जोहान मान्जाम्बीको उत्कृष्ट पासमा रुबेन भार्गासले सहज फिनिस गर्दै टोलीलाई अघि बढाए । ११ मिनेटपछि मान्जाम्बी स्वयं गोलकर्ताका रूपमा देखिँदा स्विट्जरल्यान्डले २-० को बलियो अग्रता बनायो । खेलको ७६औँ मिनेटमा वैकल्पिक खेलाडी प्रोमिस डेभिडले गोल गर्दै क्यानडालाई खेलमा फर्काउने प्रयास गरे पनि त्यसपछि थप गोल हुन सकेन । जितसँगै स्विट्जरल्यान्ड समूहको शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो । स्विट्जरल्यान्डका कप्तान ग्रानिट झाकाले राष्ट्रिय टोलीका लागि १४९औँ खेल खेल्दा टोलीले प्रभावशाली प्रदर्शन गर्यो । अब स्विट्जरल्यान्डले जुलाई ३ मा समूह ‘ई’, ‘एफ’, ‘जी’, ‘एच’, ‘आई’ वा ‘जे’ मध्ये कुनै एक समूहको तेस्रो स्थानको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । पराजित भए पनि क्यानडाले इतिहासमै पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनाएको छ । यसअघि बोस्निया–हर्जेगोभिनासँग बराबरी खेलेको र कतारलाई फराकिलो अन्तरले हराएको क्यानडा समूहमा दोस्रो स्थानमा रह्यो। अब उसले जुन २८ मा क्यालिफोर्नियास्थित लस एन्जलस रंगशालामा समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ । यता, समूहको अर्को खेलमा बोस्निया–हर्जेगोभिनाले कतारलाई ३-१ ले पराजित गर्दै पहिलो पटक विश्वकपको नकआउट चरण पुग्ने सम्भावना जीवित राखेको छ । सियाटलमा भएको खेलमा बोस्नियाका १८ वर्षीय केरिम अलाजबेगोभिचले २९औँ मिनेटमा शानदार गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको छ मिनेटपछि कप्तान एडिन जेकोको प्रहार डिफेन्डर सुल्तान अल ब्रेकमा लागेर जाली चुम्दा बोस्नियाले अग्रता दोब्बर बनायो । कतारका कप्तान हसन अल–हाइडोसले पहिलो हाफको अन्त्यतिर गोल गर्दै अन्तर घटाए पनि बोस्नियाले खेल नियन्त्रणमा राख्यो । खेलको ८०औँ मिनेटमा वैकल्पिक खेलाडी एर्मिन माह्मिकले गोल गर्दै बोस्नियाको जित सुनिश्चित गरे। राष्ट्रिय टोलीका लागि १५०औँ खेल खेलेका जेकोले पनि टोलीको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरे । बोस्निया र क्यानडा दुवैको समान चार अंक भए पनि आपसी नतिजाका आधारमा क्यानडा दोस्रो र बोस्निया तेस्रो स्थानमा रह्यो । त्यसैले बोस्नियाले प्रत्यक्ष रूपमा अन्तिम ३२ मा स्थान बनाउन नसके पनि उत्कृष्ट तेस्रो स्थान प्राप्त गर्ने टोलीहरूमध्ये एक बन्ने आशा कायम राखेको छ । एक अंकमा सीमित कतार भने समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘बी’ बाट स्विट्जरल्यान्ड र क्यानडा नकआउट चरणमा पुगिसकेका छन् भने बोस्निया–हर्जेगोभिनाको भविष्य अन्य समूहका नतिजामा निर्भर रहनेछ ।