असोज ८, सुर्खेत । अछामको पञ्चदेवल विनायक नगरपालिका–६ विनायकमा रहेको ऐतिहासिक पञ्चदेवल संरक्षणको पर्खाइमा छ । करिब सात सय वर्ष पुरानो मानिने यो सम्पदा ढुंगाबाट निर्मित पाँचवटा देवल, शिलालेख र मल्लकालीन वास्तुकलाका कारण ऐतिहासिक तथा पुरातान्विक महत्व बोकेको स्थल हो । संरक्षण र व्यवस्थापनमा पर्याप्त ध्यान नपुग्दा भने देवलका संरचना जीर्ण बन्दै गएका छन् ।

पञ्चदेवलको मध्यभागमा रहेको देवलको अग्रभागमा कुँदिएको शिलालेखमा विसं १३३७ उल्लेख छ । शिलालेखमा तत्कालीन खस राज्यका राजकुमार अक्षय मल्ल, उनका परिवार तथा ‘नागदेव’ नामका सूत्रधारको उल्लेख रहेको पाइन्छ । यही आधारमा पञ्चदेवललाई मल्लकालीन खस सभ्यता र वास्तुकलासँग जोडेर अध्ययन गर्ने गरिएको छ ।
शिलालेखमा उल्लेख भएको समयलाई आधार मान्दा पञ्चदेवल करिब सात सय वर्ष पुरानो सम्पदा हो । ढुंगामा कुँदिएका अक्षर, देवलको बनोट र त्यसमा प्रयोग भएको प्रस्तरकलाले तत्कालीन समयको कला, वास्तुकला र निर्माण प्रविधिको झल्को दिन्छ । पञ्चदेवलमा रहेको शिलालेखलाई इतिहासविद् योगी नरहरिनाथले समेत अध्ययन गरी आफ्नो कृतिमा समेटेको बताइन्छ ।
स्थानीय तहको नामकरणसमेत यही ऐतिहासिक सम्पदाबाट भएको हो । पञ्चदेवल विनायक नगरपालिकाले आफ्नो क्षेत्रको प्रमुख धार्मिक तथा सांस्कृतिक सम्पदाका रूपमा पञ्चदेवललाई समेटेको छ । नगरपालिकाको नामसँगै जोडिएको यो सम्पदा स्थानीयका लागि धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्रसमेत हो ।
पञ्चदेवल पाँच भाइ पाण्डवले निर्माण गरेको भन्ने स्थानीय जनविश्वाससमेत छ । यद्यपि शिलालेख तथा विभिन्न ऐतिहासिक अध्ययनले यसको निर्माणलाई मल्लकालीन खस सभ्यतासँग जोडेको पाइन्छ । यही कारण पञ्चदेवल धार्मिक आस्था र ऐतिहासिक अध्ययन दुवै दृष्टिले महत्वपूर्ण मानिन्छ ।
एउटा देवल अस्तित्वमै छैन
पञ्चदेवलका पाँच संरचनामध्ये एउटा देवल अहिले अस्तित्वमा छैन । स्थानीयका अनुसार विसं १९९० को भूकम्पका क्रममा उक्त देवल भत्किएको थियो । बाँकी रहेका देवलका संरचनामा समेत समयसँगै क्षति पुगेको छ । कतिपय भागमा झारपात उम्रिएको छ भने ढुंगाका संरचनामा समेत जीर्णताको असर देखिन्छ ।
सम्पदा संरक्षणका लागि स्थानीय तहले पहल गरे पनि पुरातात्त्विक सम्पदाको संरक्षण र पुनर्निर्माणमा देखिएको प्रक्रियागत जटिलताका कारण काम अघि बढाउन समस्या भएको स्थानीय तहको भनाइ छ ।
पञ्चदेवल विनायक नगरपालिकाकी प्रमुख अम्बिका चलाउनेका अनुसार नगरपालिकाले पञ्चदेवल संरक्षणका लागि बजेट छुट्याए पनि पुरातात्त्विक सम्पदामा स्थानीय तहले आफूखुसी निर्माण तथा पुनर्निर्माण गर्न मिल्दैन । भत्किएको देवल पुनर्निर्माणका लागि पुरानो स्वरूप प्रमाणित गर्ने तस्बिर, नक्सा वा स्केच आवश्यक पर्ने भएकाले सम्बन्धित निकायसँग समन्वय गर्नुपर्ने उनको भनाइ छ ।
पुरातत्त्व विभागले पञ्चदेवललाई ‘क’ वर्गको सम्पदाका रूपमा वर्गीकरण गरेको छ । सम्पदाको मौलिक स्वरूप जोगाएर संरक्षण गर्नुपर्ने भएकाले पुरानो संरचनाको प्रमाण र प्राविधिक अध्ययनका आधारमा मात्रै संरक्षण तथा पुनर्निर्माण गर्नुपर्ने विभागको धारणा छ ।
ढुंगामा कुँदिएको इतिहास
पञ्चदेवलको महत्व यसको संरचनामा मात्र सीमित छैन। यहाँ रहेको शिलालेखले तत्कालीन समयको राजनीतिक, सामाजिक तथा सांस्कृतिक अवस्थाबारे अध्ययन गर्न महत्वपूर्ण आधार प्रदान गर्छ । शिलालेखमा प्रयोग भएको भाषा, अक्षर र त्यसमा उल्लेखित व्यक्तिको विवरणले तत्कालीन खस राज्यको इतिहास बुझ्नसमेत सहयोग पुग्ने इतिहाससम्बन्धी अध्ययनमा उल्लेख छ ।
विनायक क्षेत्र पञ्चदेवलबाहेक अन्य धार्मिक तथा सांस्कृतिक सम्पदाले समेत समृद्ध छ। यहाँका मठमन्दिर, देवल, नाउला, धर्मशाला, शिलालेखलगायत संरचनालाई स्थानीय इतिहास र संस्कृतिसँग जोडेर हेर्ने गरिएको छ ।
मध्यपहाडी लोकमार्गको पहुँचका कारण पञ्चदेवलसम्म पुग्न अहिले सहज छ । सडकसँग जोडिएको यो ऐतिहासिक स्थललाई व्यवस्थित रूपमा संरक्षण गर्न सके धार्मिक तथा ऐतिहासिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयको अपेक्षा छ । तर त्यसका लागि सम्पदाको मौलिकता जोगाउँदै संरक्षण, प्रचारप्रसार र पर्यटकीय पूर्वाधार विकासलाई सँगसँगै अघि बढाउनुपर्ने देखिन्छ । पञ्चदेवल विनायक नगरपालिकाले पञ्चदेवलसँगै मष्टामाडौं, बालमाडौं, कुइकेल्लेमाई, कर्णाली नदी क्षेत्र, बेलखेत र कालापानीलगायत क्षेत्रलाई धार्मिक तथा पर्यटकीय सम्भावना भएका स्थानका रूपमा अघि सारेको छ ।
करिब सात सय वर्षदेखि इतिहास बोकेर उभिएको पञ्चदेवलको एउटा देवल हराइसकेको छ । बाँकी संरचनासमेत संरक्षणको पर्खाइमा छन् । त्यसैले स्थानीय तह, पुरातत्त्व विभाग र सम्बन्धित निकायबीच समन्वय गरी वैज्ञानिक र मौलिक स्वरूपमा संरक्षण गर्न सके पञ्चदेवल केवल धार्मिक स्थल नभई खस सभ्यता, भाषा, कला र वास्तुकलाको महत्वपूर्ण ऐतिहासिक दस्तावेजका रूपमा भावी पुस्तासम्म सुरक्षित राख्न सकिनेछ ।