भदौ ८, काठमाडौँ । तेरापन्थ युवक परिषद्, काठमाडौंले रक्तदान तथा मरणोपरान्त नेत्रदानलाई जनआन्दोलनका रूपमा विस्तार गर्ने अभियान घोषणा गरेको छ । परिषद्ले सोमबार पत्रकार सम्मेलनमार्फत नेपाली कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘बाँचुन्जेल रक्तदान, मरणोपरान्त नेत्रदान’ अभियानको सद्भावना दूत (ब्रान्ड एम्बेसडर) घोषणा गरेको हो ।

परिषद्का अनुसार श्रेष्ठ र आचार्यको सामाजिक प्रभाव, जनस्तरसम्मको पहुँच तथा मानवीय अभियानप्रतिको प्रतिबद्धतालाई उपयोग गर्दै रक्तदान र नेत्रदानसम्बन्धी जनचेतना देशभर विस्तार गर्ने लक्ष्य राखिएको छ ।
तेरापन्थ युवक परिषद्, काठमाडौंले स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा आफ्नो सेवा यात्राका उपलब्धि सार्वजनिक गर्दै आगामी कार्यक्रमसमेत घोषणा गरेको छ । परिषद्ले २५ वर्षको अवधिमा २५० भन्दा बढी रक्तदान शिविर सञ्चालन गरेको छ भने १४ जनाको मरणोपरान्त नेत्रदान सम्पन्न भएको छ ।
परिषद्ले पशुपतिनाथ परिसरमा दैनिक तथा बौद्धनाथ परिसरमा प्रत्येक शनिबार रक्तदान शिविर सञ्चालन गर्दै आएको जनाएको छ । यी शिविर पशुपति सेवा विकास संस्था, नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न अस्पताल, रक्तसञ्चार केन्द्र, सामाजिक तथा स्वयंसेवी संस्थासँगको सहकार्यमा सञ्चालन हुँदै आएका छन् ।
परिषद्ले दृष्टिविहीन तथा आर्थिक रूपमा विपन्न व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले तीन बालबालिकाको कर्निया प्रत्यारोपण उपचार तथा शल्यक्रियामा आर्थिक सहयोग गरेको जनाएको छ ।
परिषद्का अनुसार चितवनकी ११ वर्षीया सृष्टि राउतलाई जुन २०२६ मा कर्निया प्रत्यारोपण उपचारका लागि सहयोग गरिएको थियो । त्यस्तै भारतको बेतियाका १६ वर्षीय नीरजकुमार यादव र रामेछाप मन्थलीका १५ वर्षीय सुमित ठाकुरको कर्निया प्रत्यारोपण शल्यक्रियामा आर्थिक सहयोग गरिएको छ ।
यसका लागि ‘श्री ज्योति कुमार–चन्दा देवी बेगानी नेत्रज्योति निधि’ स्थापना गरिएको परिषद्ले जनाएको छ । उक्त निधिले आर्थिक रूपमा विपन्न दृष्टिबाधित व्यक्तिलाई आवश्यकताका आधारमा पारदर्शी र संस्थागत प्रक्रियाबाट सहयोग गर्ने लक्ष्य राखेको छ ।
यसैबीच, परिषद्को पहलमा धादिङका ५२ वर्षीय एकराज परियारको उपचारका लागि परिषद्का संरक्षक तथा समाजसेवी ज्योति कुमार बेगानी र चन्दा देवी बेगानीका तर्फबाट एक लाख २५ हजार रुपैयाँ सहयोग गरिएको छ ।
मेरुदण्डमा गम्भीर चोट लागेका परियारको लोकन्थलीस्थित सक्षम हेल्थ केयरमा पुनःस्थापना उपचार तथा फिजियोथेरापी भइरहेको छ । सहयोग रकमबाट एक महिनाको शैय्या तथा भोजन खर्च व्यवस्थापन गरिने र उपचारपछि स्वचालित ह्विलचेयर उपलब्ध गराउने प्रतिबद्धता जनाइएको परिषद्ले जनाएको छ ।
परिषद्ले आगामी २५ अगस्टदेखि ८ सेप्टेम्बरसम्म ‘नेत्रदान पखवाडा २०२६’ सञ्चालन गर्ने जनाएको छ । अभियानअन्तर्गत नेत्रदान सङ्कल्प, परिवार परामर्श, विद्यालय तथा कलेजस्तरीय अन्तरक्रिया, डिजिटल जनचेतना, विशेषज्ञ संवाद र नेत्रदानी परिवार सम्मानलगायत कार्यक्रम सञ्चालन गरिनेछन् ।
परिषद्ले नेत्रदान व्यक्तिगत इच्छामात्र नभई परिवारको साझा निर्णयका रूपमा विकास गर्नुपर्नेमा जोड दिएको छ । मृत्युको संवेदनशील समयमा परिवार र आई बैंकबीच समयमै समन्वय गरी नेत्रदानको प्रक्रिया सहज बनाउने उद्देश्यसमेत अभियानको रहेको जनाइएको छ ।
त्यसैगरी १७ देखि २३ सेप्टेम्बरसम्म ‘रक्तदान कर्तव्यम् २०२६’ सञ्चालन गरिने भएको छ । अखिल भारतीय तेरापन्थ युवक परिषद्को मेगा ब्लड डोनेसन ड्राइभअन्तर्गत नेपालमा पनि विभिन्न रक्तदान शिविर सञ्चालन गर्ने तयारी गरिएको परिषद्ले जनाएको छ ।
अखिल भारतीय तेरापन्थ युवक परिषद्को मेगा ब्लड डोनेसन ड्राइभले सन् २०१२ मा एकै दिन ९६ हजार ६०० युनिट रक्त सङ्कलन गरेको परिषद्ले जनाएको छ । सन् २०१४ मा विभिन्न स्थानबाट एकै दिन एक लाख २१२ युनिट रक्त सङ्कलन गरी गिनिज वल्र्ड रेकर्डमा स्थान बनाएको दाबी गरिएको छ ।
सन् २०१६ मा लगातार ३६५ दिन रक्तदान शिविर सञ्चालन गरिएको तथा कोभिड–१९ महामारीका क्रममा सन् २०२० मा ५५ हजार युनिटभन्दा बढी रक्त र दुई हजारभन्दा बढी प्लाज्मा सङ्कलन गरिएको परिषद्ले जनाएको छ ।
सन् २०२२ को ‘रक्तदान अमृत महोत्सव’मा भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयसँगको सहकार्यमा ४५ भन्दा बढी देशमा शिविर सञ्चालन गरी दुई लाख ५० हजारभन्दा बढी युनिट रक्त सङ्कलन गरिएको जनाइएको छ ।
परिषद्ले आगामी दिनमा रक्तदानलाई विशेष अवसरमा मात्र गरिने कार्यक्रम नभई स्वस्थ नागरिकको नियमित सामाजिक कर्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।