असार १०, काठमाडौं । युरोपका २६ देशमा भीषण गर्मीको लहर फैलिएको छ । फ्रान्स, स्पेन, बेलायतसहित १५ भन्दा बढी देशमा अत्यधिक तापक्रमबारे उच्च सतर्कता जारी गरिएको छ । धेरै ठाउँमा तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्ने अवस्थामा छ ।

फ्रान्सको आधाभन्दा बढी भागमा रेड अलर्ट जारी गरिएको छ । सरकारले सार्वजनिक स्थानमा मदिरा सेवनमा रोक लगाएको छ । मौसम विभागका अनुसार सोमबार राति देशमा सन् १९४७ यता सबैभन्दा गर्मी रेकर्ड गरिएको छ । केही क्षेत्रमा तापक्रम ४३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।
फ्रान्सको गोल्फेक्स क्षेत्रमा रहेको आणविक विद्युत् केन्द्र सोमबार राति बन्द गर्नुपरेको थियो । गारोन नदीको पानीको तापक्रम २८ डिग्रीसम्म पुग्ने जोखिम भएपछि शीतलन प्रणाली प्रभावित हुने डरले यस्तो निर्णय गरिएको हो । पछिल्ला केही दिनमा नदीनाला, ताल र नहरमा पौडी खेल्ने क्रममा ४० जनाको डुबेर मृत्यु भएको छ । जसमा धेरैजसो युवा रहेका छन् ।
अत्यधिक गर्मीका कारण १३ सयभन्दा बढी विद्यालय बन्द गरिएका छन् । साथै वार्षिक सांगीतिक उत्सवका क्रममा सार्वजनिक स्थानमा मदिरा सेवनमा पनि रोक लगाइएको छ । अत्यधिक गर्मीमा मदिराले स्वास्थ्य जोखिम बढाउन सक्ने भन्दै यस्तो निर्णय गरिएको हो ।
मौसम विभागले यो अवस्थालाई सन् २००३ को भीषण गर्मीसँग तुलना गरेको छ । त्यतिबेला लामो समयसम्म चलेको गर्मीका कारण करिब १५ हजार मानिसको मृत्यु भएको थियो ।
बेलायतमा ५० वर्ष पुरानो तापक्रम रेकर्ड तोडिने सम्भावना देखिएको छ । मौसम विभागका अनुसार तापक्रम ३९ डिग्रीभन्दा माथि पुग्न सक्छ । त्यसो भएमा सन् १९७६ को ३५.६ डिग्रीको रेकर्ड तोडिनेछ। उच्च आर्द्रताका कारण गर्मी अझ बढी महसुस हुने चेतावनी दिइएको छ। रातमा पनि तापक्रम २० डिग्रीभन्दा तल नझर्ने अवस्था बन्न सक्छ ।
स्पेनका धेरै क्षेत्रमा तापक्रम ३८ देखि ४० डिग्रीभन्दा माथि पुगेको छ। कतिपय ठाउँमा रातभर पनि ३० डिग्रीभन्दा तल नझरेको बताइएको छ, जसलाई ‘ट्रपिकल नाइट’ भनिएको छ। जर्मनीमा पनि गर्मीका कारण एक हप्तामै नदीमा नुहाउने क्रममा ५ जनाको मृत्यु भएको छ। बाभेरियाका तालमा दुई युवक र बाल्टिक सागरमा एक महिलाको ज्यान गएको छ ।
बेल्जियममा यो गर्मी देशकै इतिहासकै सबैभन्दा भीषण हुन सक्ने अनुमान गरिएको छ। धेरै विद्यालयले आधा दिन मात्र कक्षा सञ्चालन गर्न थालेका छन् । इटालीमा रोम र मिलानसहित १५ सहरमा रेड अलर्ट जारी गरिएको छ। रोममा नयाँ विद्युतीय बसका ब्याट्री छिटो सकिन थालेका छन्, किनकि निरन्तर शीतलन प्रणाली चलाउनुपरेको छ ।
विशेषज्ञहरूका अनुसार युरोपमा यो अवस्था ‘हीट डोम’ र ‘ओमेगा ब्लक’ नामका मौसमीय प्रणाली एकैसाथ बनेर भएको हो। यसले तातो हावालाई माथि उठ्न नदिई लामो समयसम्म जमिनमै थुनेर राख्छ, जसका कारण तापक्रम लगातार बढिरहन्छ। वैज्ञानिकहरूले प्रशान्त महासागरमा विकसित ‘एल निनो’ अवस्थाले पनि गर्मी बढाइरहेको बताएका छन्। कोइला, तेल र ग्यासको निरन्तर प्रयोगले पृथ्वीको तापक्रम बढ्दै गएको र यस्ता घटनाहरू पहिलेभन्दा धेरै, लामो र तीव्र हुँदै गएको उनीहरूको भनाइ छ।
युरोपका धेरै घरमा शीतलनका उपकरण नभएकाले जनजीवन अझ प्रभावित भएको छ। करिब २० प्रतिशत घरमा मात्र यस्तो सुविधा रहेको बताइन्छ, जबकि अमेरिकामा यो संख्या धेरै उच्च छ।
चिकित्सकहरूले अत्यधिक गर्मीमा शरीरमा पानीको कमी, तातो लाग्ने समस्या, चक्कर आउने र मुटुसम्बन्धी समस्या बढ्ने चेतावनी दिएका छन्। वृद्ध, बालबालिका र दीर्घरोगी सबैभन्दा बढी जोखिममा रहेका छन्।