माघ १०, काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित राससका सेवाग्राही तथा सञ्चारकर्मीसँग संयुक्त रुपमा छलफल गर्नुभएको छ । लहानस्थित रासस कार्यालयमा आज उहाँले राससका सेवाबारे सेवाग्राहीसँग छलफल गर्नुभएको हो । त्यस क्रममा अध्यक्ष झाले राससबाट प्रारम्भ भएका विभिन्न मातृभाषाका समाचार सेवा र श्रव्यदृश्य सेवाबारे जानकारी दिँदै राससका सेवालाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन संस्था गम्भीर रहेको बताउनुभयो ।

अध्यक्ष झाले राससको विश्वसनीयताबारे चर्चा गर्दै भन्नुभयो, “हाम्रा सेवा देशभित्र मात्र होइन अन्तरराष्ट्रिय सञ्चारमाध्यममा आधिकारिक स्रोतका रूपमा उपयोग भइरहेका छन् । म सञ्चारकर्मी साथीहरूलाई न्यूनतम शुल्कमा राससका सेवा लिएर आफ्ना सञ्चारमाध्यमलाई अझ गुणस्तरीय बनाउन आग्रह गर्दछु ।”
राससका सेवाग्राही एवं जिय मिडिया हबका पत्रकार अनिल यादवले राससबाट उत्पादित सामग्री विश्वसनीय हुने भएकाले आफूहरुले समाचार सामग्री लिएको बताउँदै अझ गुणस्तरीय सामग्री राससले प्रवाह गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले न्यून शुल्कमा राससका विविध सेवा पाउँदा स्थानीय सञ्चारमाध्यमलाई ठूलो राहत मिलेको बताउनुभयो ।